Logo

स्वास्थ्य

आर्थिक चलखेल गर्न लागेको भन्दै डा. जागेश्वर गौतमविरुद्ध मुद्दा हाल्दै न्याम्स



काठमाडौं । स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुखमा सरुवा भएका प्रा. डा. जागेश्वर गौतमविरुद्ध न्याम्सका पदाधिकारीले मुद्दा दर्ता गर्ने भएका छन् । 

वीर अस्पताललाई कोभिड १९ युनिफाइड अस्पताल बनाउनु नै ऐन विपरीत भएको र सरकारले ऐन विपरित अध्यादेशमार्फत वीर अस्पताल स्वास्थ्य मन्त्रालय मातहतको अस्पताल भनि कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ जेठ ६ गते जारि गर्दै अध्यादेशको दफा ६ (१) मा वीर अस्पताल  कोभिड १९  युनिफाइड केन्द्रीय अस्पताल बनाउनु कानुनसम्मत नभएको भन्दै न्याम्सका पदाधिकारीले मुद्दा दर्ता गर्न लागेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनको दफा ४ मा प्रतिष्ठानपूर्ण रूपमा स्वायत्त रहने ब्यवस्था रहेको र दफा १४ (२) मा वीर अस्पताल प्रतिष्ठानको हुने व्यबस्था रहेको उनले बताए। तर, जेठ ६ गते जारी गरेको अध्यादेशले वीरमाथि ऐन विपरीत मन्त्रालयले हस्तक्षेप गरेको उनीहरूको आरोप छ ।

मन्त्रालयले हस्तक्षेप गर्नु आर्थिक चलखेल गर्ने नियत देखिएको र अस्पतालका उपनिर्देशमा दुई जनालाई डा. गौतमले नै नियुक्त गर्नु गैरकानुनी भएको बताउँदै न्याम्सका पदाधिकारीहरूले कानुनी उपचार खोज्ने बताएका हुन् । 

भरतपुर निजी मेडिकल कलेज तथा अस्पतालमा लगानी गरेको भनी कारबाहीमा परेका र किर्ते अभियोग प्रमाणित भएका चिकित्सक डा. गौतमलाई सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो । अदालतमा डा. गौतमको सम्तपत्ति शुद्धिकरणको विषय पनि उठाइने जनाइएको छ । 

स्वास्थ्य सेवा ऐनविपरीत चितवन मेडिकल कलेज र ओम अस्पताल चाबहिल लगायतमा सेयर लगानी गरेको र दरबन्दी रहेको अस्पताल छाडेर चितवन र काठमाडौंमा काम गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा स्वास्थ्य मन्त्रालयले डा. गौतमलाई कारबाही गरेमा अहिले उनैलाई मन्त्रालयले संरक्षण गरिरहेको न्याम्सको आरोप छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ११:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।