वीरमा कोरोना परीक्षणका लागि दिएको स्वाबको नमुना हराएको पाइएको छ । काठमाडौं-९ का ३७ वर्षीय पुरुषले जेठ १२ गते स्वाब परीक्षणका लागि वीर अस्पतालमा दिएका थिए ।
तर, ६ दिन वित्दा पनि रीपोर्ट नआएपछि अस्पतालसँग बुझ्न स्वाब हराएको पाइएको उनले गुनासो गरे । ‘मेरो परीवार ६ दिनदेखि स्वाबको प्रतिक्षामा छ । तर, आजसम्म पनि नतिजा आएन। बुझ्दा स्वाब हराएको पाइयो। अब हामीले के गर्ने ?’, उनने भने ।
दुई बच्चा र श्रीमती होम क्वारेन्टाइनमा बसेको यति दिन वित्दा पनि रिपोर्ट नआउनु र अन्तिममा हराएको खबर आउनु आपत्तिजनक भएको उनले बताए । उनले यसले राज्यको लापरबाही छरलंग भएको बताए ।
कोरोना परीक्षणका लागि ती व्यक्तिले दिएको रिपोर्टको सिलिप अनलाइनपानालाई प्राप्त भएको छ। यो विषयमा बुझ्न खोज्दा वीर प्रशासन भने यो दायीत्व आफ्नो नभएको बताउँछ ।
वीरको ल्यावमा फोन गर्दा त्यहाँ कार्यरत प्रतिभा विष्टले त्यसको जिम्मेवार वीर नभइ परीक्षणका लागि शिव क्लिनिकमा पठाइने भएकाले उतै बुझ्नु भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिइन् । उता ६ दिनदेखि स्वाबको प्रतिक्षामा कुरिरहेका बिरामी भने अब के गर्ने भन्ने अन्यौलमा छन् ।
ती पुरुषले सामाजिक सञ्जालमा वीरको कार्यप्रति आक्रोस पोख्दै लेखेका छन्, ‘वीरको लापरबाही, स्वाबको स्याम्पल हरायो रे ! सुनुवाइ कसले गर्ने ? सरकारले दिनहुँ ४ बजे कोभिड संक्रमितको संख्या र मृत्युको संख्या फलाकिरहेको छ । तर, वीरमा जेठ १२ गते पीसीआर जाँच गरेको मेरो रिपोर्ट अझै दिएको छैन ।’
भोलिपल्टदेखि वीरको ल्याबमा दिनहुँ फोन गर्दा पनि भोलिभोलि भन्दै टारिएको उनको गुनासो छ । ‘अहिले त मैले दिएको स्वाबको स्याम्पल नै हरायो रे । वीरको ल्याबमा लापरबाहीको नमुना । मेरोजस्तै अरु कतिको स्वाब हराएको होला वीरले ? जवाफ दिने कसले ? कोभिड लक्षण देखिएकाले अहिले घरका पाँचजना सेल्फ आइसोलेसनमा बसेका छौं । सरकारी अस्पतालको ल्याबमै यसरी लापरबाही हुन्छ भने अरु कसको विश्वास गर्ने ?’, उनले लेखेका छन् ।
















प्रतिक्रिया