Logo

स्वास्थ्य

निसर्गमा सिटी स्क्यान जडान, अब न्यूरो ट्रमा थप सबल 



धनगढी । कैलालीको धनगढीमा रहेको अत्याधुनिक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यानसहित न्यूरो ट्रमा सेवा सुदूरपश्चिममै पहिलोपटक सुरु भएको हो ।  

यसअघि अन्य हस्पिटलमा सिटी स्क्यान सेवा भए पनि न्यूरो ट्रमा सेवा भने उपलब्ध थिएन । सुदूरपश्चिममै सिटी स्क्यानसहितको न्यूरो ट्रमा सेवा निसर्गमा सुरु भएको हो ।

निसर्ग हस्पिटलले गत फागुनमा न्यूरो ट्रमा सेन्टर स्थापना गरेपनि सिटी स्क्यान थिएन । बाहिरबाट सिटी स्क्यान गरेका बिरामीको न्यूरो सर्जरी भने अस्पतालले गर्दै आएको थियो । 

बाहिरबाट गरिएको सिटी स्क्यानका आधारमा अप्रेसन गरे पनि बिरामीको अवस्था थाहा पाउन पुनः सिटी स्क्यान गर्नुपर्ने भएकाले त्यसका लागि विरामीलाई अन्य अस्पतालमा पठाउँदा झण्डटिलो मात्र होइन जोखिम देखिएपछि आफै सिटी स्क्यान मेसिन जडान गरेको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए । 

‘हामीले सुदूरपश्चिममै पहिलोपटक न्यूरो ट्रमा सेवा सुरु गर्‍यौं, तीन महिनाको अवधिमै करिब ४८ जनाको अप्रेसन सम्पन्न भयो’, अध्यक्ष पन्तले भने, ‘न्यूरो टिम हुँदा पनि सिटी स्क्यान नहुँदा केही अपुगजस्तो लाग्यो अनि लकडाउनका बीच पनि सिटी स्क्यान मेसिन मगाएर जडान गर्‍यौं।’ 

अमेरिकन जीई कम्पनीको अत्याधुनिक सिटी स्क्यान मेसिन अस्पतालले साढे तीन करोडको लागतमा जडान गरेको हो।  

अस्पतालमा न्यूरो सर्जन डा सुरेश सापकोटा, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा सुमन थापा, मुख, अनुहार तथा बङ्गारा रोग विशेषज्ञ डा दीपक ठकुराठी र  एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझाको टिमले न्यूरो सर्जरी गर्दै आएको छ । 

‘न्यूरोका बिरामीहरु यसअघि रेफर गर्नुपर्ने अवस्था थियो’, न्यूरो सर्जन डा सापकोटाले भने, ‘अब नेपालगञ्ज र काठमाडौंका कतिपय अस्पतालमा उपलब्ध हुने सेवा यहीँ दिन सकिने भएको छ।’

निसर्ग हस्पिटलले कोरोनाको दोस्रो लहरसँगै  संक्रमितका लागि आईसीयूमा चार बेड, हाई केयर १२ बेड र  पाँच बेड कोभिड केयर सञ्चालन गरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएपछि अस्पतालले १०७ जना संक्रमितको उपचार गरिसकेको छ । 

अहिले पनि अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । 

अस्पतालले ११ आईसीयू, ६ भेन्टिलेटर र २५ शय्या जनरल बेडमार्फत सेवा दिइरहेको अध्यक्ष पन्तले बताए । तीन वर्षअघि करिब पाँच करोडको लगानीमा सुरु भएको अस्पतालको लागत यतिबेला करिब २० करोड पुगेको छ ।

हाल अस्पतालमा विभिन्न विभागका १४ जना कन्सल्टेन्ट डाक्टर, ५ जना एमबीबीएस डाक्टर र प्यारामेटिसिन र नसिंङ गरेर सय जनाले सेवा दिइरहेका छन् । 

आगामी केही समयभित्रै अस्पतालले एमआरआई सेवा सञ्चालन गर्ने योजना रहेको अध्यक्ष पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १८:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।