Logo

स्वास्थ्य

निषेधाज्ञा खुकुलो हुदै, के के खुल्दैछन् ?



कोरोना संक्रमण नियन्त्रणमा आउन नसकिरहेको बेला जारी निषेधाज्ञालाई खुकुलो पार्ने संकेत देखिएको छ। कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ । तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ ।  

सोही विषयमा छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको थियो । छलफलका क्रममा हाल भइरहेको कडाइ खुकुलो पार्ने निर्णय भएको छ । २२ गतेदेखि लागु हुनेगरी खाद्यान्न पसल खोल्न दिने र सरकारी कार्यालय सञ्चालनमा ल्याउने भन्ने विषयमा पनि छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार हाल भइरहेको नियमलाई केही सहज पारिने छ । 

माथिल्लो निकायबाटै निर्देशन आएकोले प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको प्रजिअ पराजुलीले बताए । उनले भने, ‘अहिले भइरहेको निषेधाज्ञामा केही परिमार्जन गर्छौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयसँगको सहकार्यमा निषेधाज्ञा केही परिवर्तन गर्न लागेका हौं ।’ तर अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई ओहोरदोहोर गर्न नदिने उनको भनाइ छ । 

उनका अनुसार २२ गतेदेखि खाद्यान्न पसल र सरकारी कार्यालय खोल्ने बारेमा गृह मन्त्रालयसँग पनि छलफल भएको छ । यातायात क्षेत्र सञ्चालन गर्ने भन्ने विषयमा भने अहिले नै निर्णय नहुने बताइएको छ । ‘अत्यवाश्यक र कार्यालय र कामकारबाही अब सञ्चालन गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘तर, भिडभाड हुने सरकारी कार्यालय हाललाई बन्द नै गरिने छ । उनले यसबाहेक बिहे, पार्टी, भोजलगायत गतिविधि सञ्चालनमा पनि कडाइ गरिने बताए ।  

हाल उपत्यकामा निषेधाज्ञा कडा छ । जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा नमान्नेलाई जरिवाना र कैद सजायको व्यवस्था समेत गरेको छ । निषेधाज्ञा खुकुलो पारिएपछि प्रहरीले कडाई गर्न छाड्ने देखिएको छ । तर, बिनाकाम सडकमा निस्कने, भिडभाड गराउने, कोरोनाको जोखिम बढाउनेहरूलाई प्रहरीले कारबाही गर्ने बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।