Logo

स्वास्थ्य

भेरीका स्वास्थ्यकर्मीमाथि कुटपिट प्रकरण : प्रशासनको अधुरो प्रतिवेदन, आक्रमण गर्नेलाई कारबाही नगर्ने ?



काठमाडौं । जेठ १३ गते राति भेरी अस्पतालमा भएको स्वास्थ्कर्मीमाथिको सांघातिक आक्रमणको विषलाई लिएर जिल्ला प्रशासन कार्यालयले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । 

अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान गएपछि बिरामीका आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै नर्ससहित स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । अस्पतालको दुई तलामाथिस्थित ट्वालेटको झ्यालबाट हाम फालेर केही स्वास्थ्यकर्मीले ज्यान जोगाएका थिए । 

घटनाको चौतर्फी विरोध भएपछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । प्रशासनको प्रतिवेदनलाई हेर्दा दोषीलाई कारबाहीका लागि कुनै ठोस निर्णय गर्नु पर्नेमा त्यो गरेको देखिएन । १७ गते साँझ बुझाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृत्युपछि आफन्त आक्रोशित  भएर घटना घटाएको प्रतिक्रिया दिएका थिए ।

समितिले बुझाएको प्रतिवेदनमा विभिन्‍न २० बुँदे कमीकमजोरी औल्याउँदै प्रतिवेदनले २५ बुँदे सुझाव दिएको छ । प्रतिवेदनमा अस्पताले सुधार गर्नुपर्ने कुराहरु उल्लेख गरिएको छ । तर, प्रतिवेदनमा दोषीलाई कस्तो कारबाही गर्ने भन्‍ने उल्लेख गरिएको छैन । यो अधुरो प्रतिवेदन किन सार्वजनिक गर्नुभयो भन्‍ने अनलाइनपानाको प्रश्‍नमा बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गेलालले भने, “हदैसम्म कारबाही गर्न ऐन बनाउन सुझाइएकोले दोषीलाई कारबाही गर्नुपर्ने कुरा लेखिरहन आवश्यक छैन ।” 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ट्विट गर्दै ‘भावनात्मक उत्तेजनामा आएर स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हुनसक्ने’ भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकी थिइन् । राष्ट्रपतिकै अभिव्यक्तिको छायाप्रति स्वरुप प्रतिवेदन सार्वजनिक भएको देखिन्छ । 

अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विशेष ध्यान पुर्‍याउन समितिले सुझाव दिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन प्रतिवेदनमार्फत सुझाव दिएका छन् ।

घटनामा संलग्‍न मानबहादुर रावतलाई मुख्य अभियुक्त मानिएको छ । उनले घटना पहिले नै स्वास्थ्यकर्मीलाई धम्कि दिँदै आएका थिए । तर, प्रमुख जिल्ला अधिकारी गेलालले पत्रकारसम्मेलनमा आफन्तको मृत्यु हुँदा रावतलगायत तीन जना आक्रोशमा आएर अचानक घटना घटेको बताएका थिए ।

मानबहादुर रावतले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको मान्छे भएको हवाला दिँदै आएका थिए । उनको राजनीतिक पृष्ठभूमि हेर्दा पनि एमाले कार्यकर्ता भएको र यसभन्दा पहिले पनि पार्टीकै एक जना महिलामाथि उनले यौंन हिंसा गरेको आरोप लागेको थियो । प्रतिवेदन आउनु अघि नै प्रहरीले घटनामा संलग्‍न र तीन जनालाई पक्राउ गरि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । दोषीहरूले यसअघि नै ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता गरिसकेका छन् ।

प्रतिवेदनमा स्वास्थ्कर्मी र अस्पताल परिसरमा हुने र हुन सक्नेमाथि कारबाहीको कानुन फितलो भएको तर्फ संकेत गर्दै कडा कानुन बनाउन सुझाव दिए पनि १३ गते भएको घटनामा संलग्नहरूलाई कस्तो प्रकृतिको कारबाही गर्नुपर्ने हो वा कुन कसुरमा कारबाही हुने हो भन्‍ने विषय समावेश गरिएको छैन । यसले पनि अपराधीहरू राजनीतिक आडमा रहेको प्रष्ट भएको पीडित स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालग्‍जमा मृत्यु भएपछि मृतकका भाई मानबहादुरसहित छोराहरूले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गर्दै आईसीयू कक्ष तोडफोड गरेका थिए । घटनामा संलग्‍न रहेका मृतकका भाइहरू मानबहादुर, भरत तथा छोरा लोकराजविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शरीरिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको छ ।

अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरबाही भयो भन्दै जाइलाग्‍ने घटनाहरू वृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरू घटनामा संलग्‍नहरू माथि कडा कारबाहीको माग गर्दै आन्दोलन समेत गर्दै आएका छन् । समितिको प्रतिवेदनप्रति स्वास्थ्यकर्मीहरूले असन्तुष्टि जाहेर गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।