सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्ने गरी अध्यादेश ल्याएको छ । सरकारले ल्याएको अध्यादेशमा स्वास्थ्यकर्मीमाथि कुटपिट गरे तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना अध्यादेश आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।
नयाँ अध्यादेश अनुसार अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय ल्याइएको छ । कोरोना संक्रमितको उपचारका लागि खटिएका नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी आज अध्यादेश जारी गरेकी हुन् । अध्यादेशअनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्थामा आगजनी/तोडफोड/तालाबन्दी/घेराउ र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुपपिट/धम्की/गालीगलौज/अपमानजनक व्यवहार गरे दण्डनीय हुनेछ ।
स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशमा रहेको छ ।
स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरे, बिरामीको उपचारमा बाधा पुर्याए वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा व्यवस्था छ ।
साथै स्वाथ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थामा कुनै हानि–नोक्सानी भए कसुरदारबाट क्षति बराबर क्षतिपूर्ति रकम भराउन सकिने लगायत थुप्रै कडा व्यवस्था ल्याइएको छ ।




















प्रतिक्रिया