Logo

प्रमुख समाचार

देउवालाई खिसीट्युरी गर्ने ओली पनि ज्योतिषकै लाइनमा, के हुँदैछ असार १७ गते ?



काठमाडौँ । २०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धन मिलेर चुनावमा होमिएका थिए । गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अब नेपालमा कम्युनिष्टहरूले ५० वर्ष शासन गर्ने उद्घोष गरे ।

उनले यतिमात्रै हैन, शेरबहादुर देउवाको नाम नेपाली कांग्रेसबाट अन्तिम प्रधानमन्त्रीको रूपमा इतिहासमा लेखिने दाबी समेत गरे ।

लगत्तै कैलालीको धनगढी पुगेका तत्कालीन प्रधानमन्त्री देउवालाई पत्रकारले अन्तिम प्रधानमन्त्री भनेर ओलीले गरेको टिप्पणीबारे प्रश्न गरिहाले ।

देउवा पनि के कम पत्रकारको प्रश्न भुइँमा झर्न नपाउँदै भने, ‘मलाई ज्योतिषले सातपटक प्रधानमन्त्री बन्ने भनेका छन् । ओलीले भनेर हुन्छ र ?’

देउवाले सातपटक प्रधानमन्त्री हुने योग रहेको कुरा आफूलाई ज्योतिषले बताएको समाचार नेपाली मिडियामा बिजुली गतिमा फैलियो ।

त्यतिबेला देउवाले अझै आफू तीनपटक प्रधानमन्त्री बन्न बाँकी नै रहेको जवाफ ओलीलाई दिएका थिए ।

चुनाव भयो । बाम गठबन्धन भएकै कारण कम्युनिष्टहरू सत्तामा पुगे । कांग्रेस प्रमुख प्रतिपक्षी बन्यो । चुनावमा गठबन्धन गरेका माओवादी र एमालेले पछि पार्टी एकता पनि गरे । तर, पाँच वर्ष सरकार चलाउन पाएको जनादेश उनीहरूले खण्डित गरे ।

पार्टीमा एकता कायम राख्न नसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्दै दुई पटक संसद विघटन गरे । तर सर्वोच्च अदालतले दुवै पटक ओलीको असंवैधानिक कदम खारेज गर्दै संसद पुनर्स्थापना गरिदियो ।

परिस्थिति यस्तो बन्यो कि मुलुकको राजनीतिक निकासका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू प्रचण्ड र माधवकुमार नेपाल देउवाको दैलोमा पुगे ।

प्रतिपक्षमा बस्ने जनादेश पाएको कांग्रेस राजनीतिक निकास दिन सरकारको नेतृत्व लिन तयार भयो । देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बने ।

उतिबेला कांग्रेसबाट अन्तिम प्रधानमन्त्री देउवा भनेर घोषणा गर्ने एमाले अध्यक्ष ओलीलाई अहिले ‘बालुवाटारबाट बार्दलीमा पुगेको’ टिप्पणी उनका आलोचकहरूले गर्ने गरेका छन् । ओलीले भने यो बीचमा लगातार देउवालाई कहिले ज्योतिषले बनाइदिएको त कहिले परामादेशी प्रधानमन्त्री भनेर खिसीट्युरी गर्दै आए ।

उनै ओली अब भने देउवाकै ‘लाइन’मा हिँडिरहेका छन् ज्योतिषकै कुरा सुनेर ।

विगतमा ज्योतिषको कुरा सुनेको भनेर देउवाको आलोचना गर्ने ओलीले आगामी असार १७ गते सत्ता गठबन्धन भत्किने दाबी एक टेलिभिजन अन्तर्वार्तामा गरेका छन् । ओलीको यस्तो दाबीपछि आज एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले प्रश्न तेर्साए ।

जवाफमा ओलीले असार १७ गते राजनीतिमा संकट आउने कुरा आफूले नभइ ज्योतिषले भनेको बताए । अझ अगाडि बढेर उनले असार १७ नभई वैशाख ३० मै सत्ता गठबन्धनमा ठूलो खड्गो आइपर्ने दाबी गरे ।

आफूले भनेका कुरामा पत्यार नलागे देउवाका ज्योतिषलाई पनि सोध्न उनले पत्रकारहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार १९:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।