Logo

अभिनेता मुकेश खन्ना कपिल शर्मा शोमा किन गएनन्



भारतको चर्चित कमेडी शो द कपिल शर्मा शोलाई धेरैले अत्यधिक रुचाउँछन् । तर एक व्यक्ति यस्ता पनि छन् जसलाई कपिल शर्मा शो फिटिक्कै मन पर्दैन । ती व्यक्ति एक अभिनेता हुन् जसको चर्चा एक जमानामा कपिल शर्माभन्दा कम थिएन । जसको शो शक्तिमान घर–घरमा हेरिन्थे । सुन्दा अचम्म लाग्ला तर अभिनेता मुकेश खन्नालाई द कपिल शर्मा शो फिटिक्कै राम्रो लाग्दैन । यसै कारण जब कपिलले कार्यक्रममा महाभारतको कास्टलाई बोलाएका थिए तब उनी त्यसमा सरिक भएनन् । हालै मुकेश खन्नाले यसबारे कुरा गरेका छन् ।

मुकेश खन्नाले आफ्नो मनको कुरा दर्शक सामू राखेका छन् र निम्तो आउँदा पनि कपिल शर्माको शोमा नगएको बारे खुलेर कुरा गरेका छन् । उनले भने, ‘यो प्रश्न भाइरल भइसकेको छ कि महाभारत शोमा भीष्म पितामह किन गएनन् ? कसैले भन्छन् कि उनलाई निम्तो दिइएन । कतिले भन्छन् कि उनले अस्विकार गरे । यो साँचो हो कि महाभारत भीष्मबिना अधुरो छ । यो साँचो हो कि निम्तो नदिने त प्रश्न नै उठ्दैन । यो पनि साँचो हो कि मैले निम्तो अस्विकार गरेँ ।’

‘यो पनि साँचो हो कि मानिसहरुले मलाई कपिल शर्माजस्तो ठूलो शोलाई किन अस्विकार गरेको होला भनेर सोध्ने गर्छन् । ठूल्ठूला कलाकार–अभिनेता जान्छन् । जान्छन् होला तर मुकेश खन्ना जाँदैनन् । रामायणपछि कपिल शर्मामा हामीलाई निम्तो दिइन्छ भन्ने थाहा पाएँ । त्यतिबेला मैले ‘तिमीहरु सबै जाउ, म जादिनँ’ भनेँ । कपिल शो देशभरी चर्चित छ तर मलाई योभन्दा वाहियात शो अरु कुनै लाग्दैन । मूर्खताले भरिएको, दोहोरो अर्थ भएको र प्रत्येक पल अश्लीलतातर्फ मोडिएको यो शो । जसमा पुरुषले महिलाको कपडा लगाउँछन् र मानिसहरु पेट समातेर हाँस्छन् ।

सिद्धू–अर्चनाको काम हाँस्ने मात्रैः

यो कार्यक्रममा मानिसहरु किन ‘हेँ हेँ’ गरेर हाँस्छन्, मैले अहिलेसम्म बुझ्न सकेको छैन । एउटालाई सबैको बीचमा सिंहासनमा बसालेर राखिन्छ । उनको काम हो हाँस्ने । हाँस्न मन नलागे पनि जसरी पनि हाँस्नुपर्छ । यसो गर्दा उनीहरुले पैसा पाउँछन् । पहिला यो कामका लागि सिद्धू भाइ बस्दथे । अब अर्चना बहिनी यो काम गर्न बसेकी छिन् । हा हा हा मात्रै गर्न । एउटा उदाहरण दिन्छु । तपाईं बुझ्न सक्नुहुन्छ कि कमेडीको स्तर कति घटिया छ यो शोमा । तपाईंहरु सबैले रामायण शो देख्नुभएको होला ।’

‘कपिलले अरुण गोविललाई सोध्छन्, ‘तपाईं समुद्रको किनारमा नुहाइरहनुभएको छ । भीडमध्ये एक व्यक्तिले चिच्याएर भनिरहेका छन्, ‘हेर त राम जी पनि भिआइपी अन्डरवेयर लगाउँछन् ! यस्तोमा तपाईं के भन्नुहुन्छ ?’ मैले प्रोमो मात्र हेरेँ । श्री रामजीको इमेज लिएर हिँड्ने अरुण गोविल हाँस्छन् मात्रै । जसलाई संसारले रामको रुपमा हेर्छन् तपाईं उसलाई यस्ता घटिया प्रश्न सोध्न सक्नुहुन्छ ? यसको जवाफमा अरुणले के भने थाहा छैन । म भएको भए कपिललाई मुख भरीको जवाफ दिन्थेँ । त्यसैले म गइनँ । ’

स्मरण रहोस्, मुकेश खन्ना सोसल मिडिया र अन्य मञ्चमा आफ्नो कुरा राख्न कत्ति पनि डराउँदैनन् । केही समयअघि उनले सोनाक्षी सिन्हालाई महाभारत र रामायणबारे केही पनि थाहा नभएको भन्दै कटाक्ष गरेका थिए । त्यसपछि सोनाक्षीका पिता शत्रुघ्न सिन्हा रिसाए तब मुकेशले आफ्नो बयानको बचाउ गरेका थिए । स्मरण रहोस्, मुकेश खन्ना महाभारत सिरियलमा भीष्म पितामह र टिभी शो शक्तिमानमा मुख्य भूमिकामा देखिएका थिए ।

 

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  १२ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।