कोरोना भाइरसको संक्रमणको पहलो लहरमा पीसीआर परीक्षणलाई जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहरको सुरुवातदेखि नै एन्टिजेन परीक्षण थालेको हो । नेपालमा अझै पनि अधिकांश संक्रमित व्यक्तिहरूमा लक्षणहरू देखिएकाले संक्रमित भए-नभएको जान्न पीसीआर परीक्षण गरिँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए-नभएको परीक्षण गर्न एन्टिजेन किटको प्रयोगलाई पनि बढाउँदै लगेको छ । पीसीआर परीक्षणले शरीरमा भाइरसको संक्रमण रहे-नरहेको पहिचान गर्छ भने एन्टिजेन परीक्षणले पनि कोरोनाभाइरस छ कि छैन भनेर नै पहिचान गर्ने हो । पीसीआर परीक्षण गर्नको लागि प्रयोगशाला, विशिष्टकृत उपकरण, विभिन्न किट, धेरैथरिका जनशक्ति चहिन्छ भने एन्टिजेनमा आधारित परीक्षणमा त्यस्तो विशेष जरुरत पर्दैन । धेरै झमेला नगरिकन नै सामान्य परीक्षणको आधारमा रिर्पोट थाहा पाइने परीक्षण हो ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसमा पोजिटिभ देखिएकाहरुलाई सक्रिय संक्रमितका रुपमा तथ्यांक विश्लेषणमा भने गणना गरेको छैन । मन्त्रालयले हालसम्म कुल एक लाख सात हजार सय २९ जनाको एन्टिजेन परीक्षण गरेको र त्यसमा कुल २० हजार ४ सय ७० जना संक्रमित रहेको पाइएको उल्लेख छ । यद्यपि यो संख्यालाई मन्त्रालयले आफ्नो सक्रिय संक्रमितको संख्यामा राखेर गणना गरेको भने देखिन्न । एन्टिजेन परीक्षणमा संक्रमित देखिनेको दर करिब १९ प्रतिशत रहे पनि त्यसलाई तथ्यांक विश्लेषणमा सामेल गरिएको छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुखसमेत भाइरोलोजिस्ट शेरबहादुर पुनका अनुसार ठूलो संख्यामा गरिएको एन्टिजेन परीक्षणमा धेरै पोजिटिभ फेला पर्नुलाई समुदायमा संक्रमण धेरै फैलिएको छ भन्ने बुझ्नुपर्छ । उनका अनुसार अहिले पनि नेपालमा परीक्षणको दायरा साँघुरो छ भन्ने तथ्यलाई यसले पुष्टि गर्छ । उनले भने, “एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरुमा लक्षण भएका र नभएकाहरुमा परीक्षण गर्ने एन्टिजेन निगेटिभ रिपोर्ट आएको छ भने पीसीआर गर्नु अनिवार्य नै हुन्छ ।”
उनले नेपालमा प्रयोग भइरहेका विभिन्न खाले एन्टिजेन किटलाई कुन स्थानमा, कसरी र कसले प्रयोग गरेको छ भन्ने कुराले पनि पोजिटिभ वा निगेटिभ रिपोर्ट आउनुमा भर पर्ने बताए । उनले थपे, “अहिले एन्टिजेन पोजिटिभ आएका शतप्रतिशत नै संक्रमित हुन् । त्यसमा कसैले अन्यथा नमाने हुन्छ । के कुरा स्पष्ट हुनु भने कोरोना भाइरसमा चार मुख्य संरचनात्मक (स्पाइक प्रोटिन, मेमब्रेन ग्लाइकोप्रोटिन, इन्भेलोप प्रोटिन र न्युक्लियोक्याप्सिड प्रोटिन) र अन्य धेरै सहायक प्रोटिनहरू हुन्छन् । भाइरसको आनुवंशिक तत्वको रूपमा आरएनए रहेको हुन्छ । नमुनामा भएका भाइरसका संरचनात्मक प्रोटिनका टुक्राहरू पत्ता लगाउन एन्टिजन र आरएनए पत्ता लगाउन मोलिक्युकलर (जस्तै, आरटी पीसीआर) टेस्टहरू उपयोग गरिन्छ । एन्टिजेन टेस्ट किटले कोरोना भाइरसका ‘न्युक्लियोक्याप्सिड प्रोटिन’ पत्ता लगाउँछन् । यसैले यी दुईबाट नै जोखिम उस्तै हुन्छ ।
















प्रतिक्रिया