सपना देख्नु भनेको जीवनका योजनाको खाका कोर्नु हो । मानिसले जीवनमा सपना देख्न छोड्नु हुँदैन । हामी हाम्रो मनमा जे कुरा खेलिरहेको हुन्छ वा हाम्रो जीवनको जे लक्ष्य छ सपनामा त्यसैलाई देखिरहेका हुन्छौं । मेरो जीवनका पनि थुप्रै सपना छन् । ती सपनालाई पुरा गर्ने चाह पनि उस्तै छ । आँखा वरिपरि छाइरहने सपनाहरूलाई चाहनाको शीखरमा पुर्याउनु छ मलाई । जीवनको लक्ष्य संघर्षको भीमकाय पहाडमा नहराओस् चाहन्छु । मानिसको एक दिन मरिजाने चोला हो । बाचुन्जेल जीवनलाई सार्थक तुल्याउनुपर्छ । बस ! मनले यस्तै-यस्तै सोचिरहेको हुन्छ ।
मेरो नाम रिया । घर सुदूरपश्चिमको बझाङ । बाआमाकी एक्ली सन्तान । धुलो र माटोमा लडिबुडी गर्दै हुर्किएकी चेली । जीवनले शरीरमा लागेको धुलो टकटक्याउँदै उठ्नुपर्छ र टुकुटुकु हिँड्न सक्नुपर्छ भन्ने सिकाएको छ । बाआमा किसान । म जन्मिएपछि आमाको कोखमा अर्को बच्चै बसेन । बाआमालाई अर्को सन्तानको रहर थियो । त्यसमा पनि छोराको । तर, खै किन हो म जन्मिएपछि आमाको कोखमा सन्तान नबसेको । अर्को सन्ता पाउनका लागि उहाँहरूले निकै उपचार गर्नू भयो । तर, जति गर्दा पनि आमाको कोखमा अर्को सन्तान बस्दै बसेन ।
गाउँलेहरूले कुरा काट्थे । आमालाई छोरा पाउन नसकेकोमा हेला गर्थे । बालाई अर्को बिहे गर्न सिकाउँथे । तर, बाले कहिले गाउँलेको कुरा सुन्नु भएन । उहाँले आमालाई औधि माया गर्नूहुन्थ्यो । भन्नुहुन्थ्यो- साने कर्ममा जे लेखेको छ त्यही भोगौंला । अग्निसाक्षी राखेर ल्याएकी श्रीमती होस्, तलाई अलपत्र पर्ने गरी अर्को बिहे त गर्दैन बाबै । आमाले पनि बालाई अर्को बिहे गर्न दवाव नदिएकी होइनन् । तर, बा सधैँ आफ्नो निर्णयमा अडिग रहे । र, मभित्र देख्न थाले सपनाका चाङ । अहिले पनि छोरा-छोरी भनेर विभेद गर्न हुन्छ त ? हाम्रो छोरा-छोरी जे भने पनि रिया छदैछ नी भन्थे बा । बाको सपना मलाई स्टाफ नर्स बनाउने थियो ।
म बढ्दै गएँ । बाले पनि मेरो उमेरसँगै आफ्ना सपना बढाउँदै लगें । मलाई सधैँ राम्रोसँग पढ्नुपर्छ, भविश्यमा नर्स बनेर बिरामीको सेवा गर्नुपर्छ भन्थेँ। बाका कुराले मेरो मन पगाल्थ्यो । म पनि बिरामी घाउमा मलम लगाएर सेवा गर्न चाहन्थेँ । पढाइमा अब्बल थिएँ । सधैँ क्लासमा प्रथम हुन्थेँ । गाउँकै सत्यवादी माविमा कक्षा १० मा पढ्थेँ । घरबाट विद्यालय पुग्न २० मिनेट लाग्थ्यो । नाच्न गाउँन औधि रुची थियो । विद्यालयमा हुने प्रत्येक कार्यक्रममा भाग लिन्थेँ । सानो र सुखी परिवार थियो । बाआमाले मलाई सधैँ प्रेरणा दिइरहन्थे ।
समय आफ्नै गतिमा अघि बढिरहेको थियो । समयसँगै हाम्रो जीवन पनि अघि बढ्दै थियो । तर, सधैँ एकनास कहाँ हुँदो रहेछ र जीवन ? हाम्रो परिवारको खुसीलाई निष्ठुर दैवले हेर्न चाहेनन् । परिवारमा नसोचेको बज्रपात आइलाग्यो । २०७० चैतको महिना थियो । बा गाईलाई घाँस काट्न जङ्गल गए । दिउँसै जंगल गएका बा राति अबेरसम्म पनि घर फर्केनन् । हामी आत्तियौं । छिमेकीलाई गुहारेर बालाई खोज्न जंगल गयौं । घण्टौं खोज्दा पनि बा भेटिएनन् । आमा र म रोइरहेका थियौं । भेट्ने आसा मारेर घर फर्कंदै थियो । भीरबाट कोही कराएको आवाज आयो । आमा र म आत्तिदै आवाज भए तिर गयौं । कराउने त मे बा रहेछन् ।
जीवनले शरीरमा लागेको धुलो टकटक्याउँदै उठ्नुपर्छ र टुकुटुकु हिँड्न सक्नुपर्छ भन्ने सिकाएको छ ।
बालाई देख्ने वित्तिकै आमा बेहोस् भइन् । बा रुखमा घाँस काट्ने क्रममा खसेर भीरमा ढुंगाको बीचमा अड्किएका रहेछन् । मैले हामीसँगै बालाई खोज्न गएका गाउँलेलाई बोलाए । नजिकैको खोलाबाट एक जनाले पानी ल्याएर आमाको मुखमा छर्किए । आमा होसमा आइन् । सबैले बालाई नआत्तिन भने । भीमलाल काका दौडिँदै घर गए । उनले घरबाट बलियो रसी ल्याएर आए । गाउँलेहरूले त्यही रसीको सहारामा बाको उद्धार गरे ।
बाको उद्धार त भयो । तर, उनले खुट्टा टेक्न सकेनन् । आमा र म आत्तियौं । गाउँलेहरूले बालाई बोकेर घर पुगाए । आमा र म रातभर रोएर नसुतेरै बस्यौं । अर्को दिन बिहानै बालाई उपचारका लागि सदरमुकाम चैनपुरतिर लाग्यौं । सदरमुकाममा बाको उपचार हुन सकेन । बाबाको ढाडै भाँच्चिएको रहेछ । त्यहाँ उपचार हुन नसकेपछि हामीले बालाई भारत लैजाने सल्लाह गर्यौं । म र बाबा बजारको एक होटेलमा बस्यौं । आमा गाउँलेसँग पैसाको जोहो गर्न घर फर्किइन् । दोस्रो दिन गरगहना बेचेर, ऋणकर्ज गरेर आमा आइन् । हामी बेलुकी ४ बजेको नाइट बसमा अत्तरियाका लागि बस्यौं । बाटोमा बाबालाई निकै गाह्रो भइरहेको थियो । बा आमाको काँधमा टाउको राखेर छटपटाइरहेका थिए ।
रातिको २ बजेको हुँदो हो । सबै निन्द्रामा मस्त थिए । एक्कासी कतै केही बज्रीएको आवाज आयो । म झस्किएँ । गाडिका यात्रु बचाउ–बचाउ भनेर विलाप गरिरहेका थिए । त्यसपछि के भयो मलाई केही थाहाँ भएन । होसमा आउँदा म काठमाडौंको वीर हस्पिटलमा थिएँ । मेरो हात भाँच्चिएको थियो । टाउकोमा टाका लागेको थियो । डाक्टर र नर्सहरूलाई मेरा बाआमा कहाँ छन् भनेर सोधेँ । उनीहरूले केही जवाफ दिएनन् । मलाई आराम गर अहिले धेरै चिन्ता नलेउ मात्रै भनिरहे । क्रमिक रुपमा मेरो स्वास्थ्य सुधार हुँदै थियो । बिरानो सहरको अस्पताल बेडमा म छटपटाइरहेकी थिए । बा र आमाको चिन्ताले मात्रै सताइरहन्थ्यो । तर, उनीहरूका बारेमा कसैले केही भन्थेनन् ।
समय वित्दै गयो । मलाई पनि निको हुँदै गयो । एक दिन डाक्टरले मलाई सम्झाइबुझाइ गर्दै उक्त दुर्घटनामा मेरा बाआमाले संसार त्यागेको खबर सुनाए । म छाँगाबाट खसे झैँ भए । अस्पतालको छल मैमाथि खसिरहेझैँ लाग्यो । आफू सुतेको बेड घुमिरहेझैँ भयो । अब कोही बचेन यो संसारमा मेरो । आँखाबाट नदी बगिरह्यो । नरोउ भनिदिने पनि क्षेउमा कोही थिएन । त्यसैले मन सम्हाल्नु थियो । सम्हालिएँ । तर, अब कहाँ जाने । कोसँग जाने । मैले त यो सहरमा कसैलाई चिनेकी पनि त छैन । बाआमाको मलाई नर्स बनाउने सपना खरानी भएको थियो । मेरा पनि जीवनका सबै सपना चुँडिएका थिए । म अभागीनीले बाआमाको अन्तिम पटक मुखसम्म हेर्न पाइन ।
मेरो छेउमा एउटा युवक भर्ना भएको थियो । उसले मेरो अवस्था देखेर धेरै सम्झायो । मलाई नआत्तिन भन्यो । चोट दिने दैवले नै कुनै बाटो दिने भन्दै उसले मलाई थमथम्याउन खोज्यो । उ पनि त्यहि दुर्घटनामा परेको रहेछ । केही दिन हाम्रो अस्पतालमा उपचार भइरह्यो । त्यो बेला मन भारी हुँदा हलुको पारिदिने उही थियो । एक दिन डाक्टरले हामीलाई डिस्चार्ज गरे । स्वास्थ्य लाभको कामना गर्दै घर जान सुझाए । अब कता जाने ? म रुन थालेँ । उसले मेरो काँधमा हात राख्दै भन्यो नरोउ रिया । म बन्छु तिम्रो जीवनको वैशाखी । आखिर हामी दुवैले पुनर्जिवन पाएका न हौं । अब हामी सँगै जीउनुपर्छ । मानिसको जीवनमा खुसीभन्दा ठूलो अरु केही त रहेन छ । हामी त्यही दुर्घटनामा मरेको भए आज हामीले यति सुन्दर संसार कहाँ देख्न पाउथ्यौं र ? त्यसैले अब तिमि र म एक भएर बाँच्नुपर्छ ।
मैले तपाईंको परिवारले मान्छ भन्दै प्रश्न गरे । उसले परिवारलाई मनाउने जिम्मा आफ्नो भएको बतायो । उ काठमाडौंको बानेश्वरमा बसेर नेपाल कमर्श क्याम्पस पढ्दो रहेछ । गम्भीर चोट नभएकाले अस्पतालमा कुर्न उसका साथिहरू आइरहन्थे । उसले मलाई आफ्नो कोठा लग्यो । एक दिन पशुपति लगेर भगवान शिवलाई साक्षी राखेर उसले मलाई आफ्नो अर्धाङ्गिनी बनायो । र, घरमा फोन गरेर बाआमालाई सबै कुरा भन्यो । उसका बाआमाले पनि हामीलाई स्वीकारे । मलाई पनि पढाउन थाले । उनी बिहान कलेज पढाउँथे । दिउँसो एउटा बोर्डिङ स्कुलमा पढाउँथे । म पनि एसएलसी राम्रो नतिजा ल्याएर पास भएकी थिए । स्टाफ नर्स पढ्नका लागि एउटा कलेजमा भर्ना भएकी थिए । पुनः जीवनमा बहार आउन खोज्दै थियो । हामी सुखी हुँदै जीवन बिताइरहेका थियौं ।
चोट दिने दैवले नै कुनै बाटो दिने भन्दै उसले मलाई थमथम्याउन खोज्यो । उ पनि त्यहि दुर्घटनामा परेको रहेछ ।
म उमेरले उनीभन्दा ६ वर्ष कान्छी थिएँ । उनले मलाई औधि माया गर्यो । बेला–बेला हामी घर आउने जाने गरिरहन्थ्यौं । बिहेपछिको घर पनि मेरो बझाङ नै थियो । समय वित्दै गयो । मेरो पढाइ पनि सकियो । म आमा बन्ने भए । हाम्रो पहिलो सन्तानको रुपमा छोरो जन्मियो । आकास छोरालाई देखेर निकै खुशी भयो । एउटा बोर्डिङ स्कुलमा पढाउने भएकाले श्रीमानको कमाइ थोरै थियो । म काम गर्न थालेकी थिइन । छोरो भएसँगै केही वर्ष अब काम गर्न सकिने अवस्था थिएन । उनी छोराको भविष्यका लागि भन्दै विदेश जाने कुरा गर्न थाले ।
मैले थोरै खाएर सँगै जीवन विताउने कुरामा अड्डि कसेँ । तर, उनले मान्दै मानेनन् । उनको जिद्धिको अघि मेरो केही लागेन । उनले विदेश जाने सबै तयारी गरे । भीसा पनि आयो र उनी एक दिन विदेश उडे । विदेशमा हुँदा पनि हाम्रो भिडियो कलमा कुरा भइरहन्थ्यो । जीवन राम्रै चलेको थियो । उनले पैसा पठाइरहेका थिए । दुई वर्ष वित्यो कमाइ राम्रै थियो । म काठमाडौंबाट फर्केर धनगढी गएकी थिए । श्रीमानले पठाएको पैसाले धनगढीमा एक कठ्ठा जमिन लिए । जीवन सोचे झैँ अघि बढेकाले अधेँरिपछि उजेली आउँछ भने झैँ जीवनमा उज्याला दिन फर्केर आए लाग्थ्यो ।
एक दिन उनकोमा भोन लागेन । मन आत्तियो । उनका साथिहरूलाई फोन गरे । उनीहरूले पनि आफूहरूलाई फोन नआएको बताए । दिन वित्यो । महिना वित्यो । वर्ष वित्यो । म मेरो प्रिय मान्छेको फोनको प्रतिक्षामा बसिरहे । कुनै दिन फर्केर आउनु हुन्छकी भन्ने आसामा बसिरहे । ज्याला मजदूरी गरेर उनी फर्कि आउने आसमा छोरोलाई हुर्काउँदै बसे । तर, उनी आउँदै आएनन् । नेपालमै रोजगारीको वातावरण भएको भए सायद मेरो हजुर अलपत्र हुने थिएनन् । मैले आशा मारेकी छैन । अझैँ कुरी बसेकी छु ।
















प्रतिक्रिया