कोरोना महामारीले देश नै आक्रान्त बनिरहेका बेला कोभिडको खोप लगाउन पाए हुने थियो भन्ने चाहान आम जनताको छ । यस्तो अवस्थामा सरकारले खोप उपलब्ध गराउने आफूले सक्दो प्रयास गरिरहेको दाबी गरेको छ । यद्यपि जनतामा भने सहज रुपमा खोपको उपलब्धता र प्रभावकारीता देखिएको छैन ।
सरकारले प्राथमिकताका आधारमा खोप वितरण गर्ने भनिरहँदा विभिन्न पहुँचवालाहरुले आफ्ना आफन्त तथा छिमेकिहरुलाई प्रथमिकतामा राखेर यसको चरम दुरुपयोग गरिरहेका समाचारहरु पनि बाहिरिएका छन् । विभिन्न मुलुकहरुमा नागरिकलाई खोप लगाउन विभिन्न स्किम ल्याएर उत्प्रेरणा गरिरहँदा नेपालका लागि आफैं खोप लगाउन पाउँ भनि माग गर्दासमेत पाउन सकेका छैनन् । स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व भए पनि नागरिकले मौलिक अधिकारको पूर्ण उपभोग गर्न पाएका छैनन् ।
४२ लाख ४८ हजार खोप आयात
सरकारले हालसम्म अनुदान र खरिद गरि ४२ लाख ४८ हजार डोज खोप नेपालमा भित्र्याएको छ । पहिलो चरणमा भारतको सहयोगमा १० लाख डोज, पुन: भारतबाट खरिद गरिएको २० लाखमध्ये १० लाख डोज, चीनको सहयोगमा ८ लाख डोज, पुन: चीनबाट अनुदानमा १० लाख डोज, भारतको सहयोगमा नेपाली सेनालाई १ लाख डोज र कोभ्याक्समार्फत ३ लाख ४८ डोज खोप आयात भएको छ । यसमध्षे १० लाख डोज खोप नेपालले खरिद गरेको हो भने बाँकी खोप भने भारत, चीन र कोभ्याक्समार्फत अनुदानमा प्राप्त भएका हुन् ।
कोरोनाविरुद्धको खोप पर्खिरहेका नेपालीलाई अझै उपलब्ध हुन सकेको छैन । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइसक्दा पनि खोप ल्याउन सरकार असक्षम देखिएको छ । ल्याइएका खोप प्राथमिकताका आधारमा लगाउने भनिए पनि कयौं फ्रन्टलाइनरहरुले अझै खोप पाएका छैनन् । मुलुकका ज्येष्ठ नागरिकहरुले खोप पाउन सकेका छैनन् भने पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुले पनि खोप लगाउन पाएका छैनन् ।
पहिलो डोज २५ लाखलाई, दोस्रो ७ लाख ७१ हजार मात्र
सरकारले हालसम्म २५ लाखभन्दा बढीलाई पहिलो चरणको खोप वितरण गरेको छ भने दोस्रो चरणको खोप उपभोग गर्नेको संख्या पनि ७ लाख ३१ हजार भन्दा माथि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले अनलाइनपनालाई जानकारी दिए ।
सरकारले हालसम्म अनुदान र खरिद गरि ४२ लाख ४८ हजार डोज खोप ल्याएको छ । उक्त खोप सुरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, पत्रकार र ज्येष्ठ नागरिकहरुलाई खोप लगाएको हो । तर, खोप पर्याप्तमात्रमा प्राप्त हुन सकेको छैन ।
चीनबाट ४० लाख डोज खोप आउने कुरा कति सत्य ?
पछिल्लो केही दिन यता चीनबाट करिब ४० लाख खोप आयात गर्ने नेपाल सरकारको तयारी रहेको बताइएको छ । विभिन्न सञ्चारमाध्यमहरुमा चीनबाट ४० लाख डोज खोप ल्याउने हल्ला भइरहेको भए पनि खोप आयात हुने विषयमा कुनै टुंगो छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले ४० लाख खोप आयातको विषयमा पुष्टि हुन बाँकी रहेको जनाएका छन् । उनले भने, “क्याबिनेटमा कुरा भएको भन्नेसम्म सुनेको हो । आधिकारिक पुष्टि भएको छैन । ४० लाखको ठाउँमा ६० लाख पनि हुन सक्छ तर आधिकारिक जानकारी नभइ यसै भन्न सकिन्न ।”
कति खोप आवश्यक पर्छ ?
करिब ३ करोड जनसंख्या रहेको मुलुकमा जम्मा जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई कोभिडको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । हाल लगाइरहेको खोप एकजनालाई दुई डोज लगाउनुपर्ने हुन्छ । यो जनसंख्यालाई खोप लगाउन चार करोड ३२ लाख डोज आवश्यक पर्छ । हाल ४२ लाख डोज खोपमात्रै आयात भएको छ । त्यसकारण अब मुलुकमा तीन करोढ ९० लाख डोज खोप आयात गर्नुपर्ने देखिन्छ । देशको जनसंख्याको कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउन सक्ने हो भने जोखिमको तहबाट माथि उठ्न सक्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।
खोप कति खरिद, कति अनुदान ?
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोपका लागि आह्वान गरेसँगै विभिन्न देशहरूले खोप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारको पहिलो लक्ष्य धेरै भन्दा धेरै मात्रामा जनताहरूलाई खोपको उपलब्धता गराउनु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन् । उनले अनलाइनपनासँगको अन्तरवार्ताका क्रममा भने, “यसमा खोप प्राप्ति महत्वपूर्ण कुरा हो । अनुदान हाम्रो पहिलो प्राथमिकता होइन ।
हामी खोप खरिदको प्रक्रियालाई नै प्राथमिकतामा राखेका छौँ । अनुदानको भरमा खोप अभियान सञ्चालन गर्छौ वा देशभर सबैलाई पुर्याउँछौै भन्ने योजना हाम्रो छैन । त्यसमा अनुदान र सहयोगहरू आउँछ भने त्यो हाम्रोलागि अझै सहज कुरा हो । त्यसलाई स्वीकार्नु पर्छ । हामीले यहाँ लगाउन मिल्ने किसिमका खोपहरू हुनुपर्यो । सहयोग लिन्छौ । कति खरिद र कति अनुदान तोकेर संख्यामा भन्न सक्ने अवस्था छैन ।”
भारतमा अल्झिएको १० लाख डोजको विषयमा के भन्छ मन्त्रालय ?
यससँगै सरकाले भारतलाई १० लाख डोज खोप खरिदका लागि रकम समेत बुझाइसकेको छ । तर भारतको उच्च अदालतले कोभिड खोप निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालको रकम भारतमा अल्झिएको छ । भारतको सर्वोच्च अदालतले निर्यातमा प्रतिबन्ध लगाएको समयमा नेपालले भारत मार्फत कोभिड खोप पाउने सम्भावनाको ढोका नै बन्द भएको छ । यो अवस्थामा खोप उपलब्ध नहुनु जटिल कुरा भएको मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन् ।
उनले अन्तरवार्ताकै क्रममा भने, “यो जटिल कुरा हो । हामीले रकम बुझाएपछि खोप आउँछ र सहज रूपमा दोस्रो डोज पनि पुरा गर्छौ भन्ने योजना बनाएका थियौँ । तर सम्बन्धित देशमा आफ्नै आन्तरिक कारणले गर्दा त्यो हुन सकेन । अब अदालतको आदेश उल्लंघन गरेर सरकारले हामीलाई खोप उपलब्ध गराउने विषय पनि हुँदैन । त्यसकारण हामीले अपेक्षा गरेको जसरी खोप पाउन सकेनौं । तर नेपाल र भारतको सम्बन्ध भनेको भारतमा कोभिडको संक्रमण बढ्दा नेपालमा पनि बढेको छ । नेपालमा घट्दा भारतमा पनि त्यसको असर देखिएको छ । दुई देशबीचको जनस्तरको सम्बन्ध यसरी बाक्लो छ कि यहाँ भएको जुनसुकै जनस्वास्थ्यको समस्या भारतमा पनि हुन्छ । अपेक्षा गरौँ त्यहाँको आन्तरिक कुरा भए पनि हामीसँगको सम्बन्ध, हामीसँगको घनिष्ठताका कारणले गर्दा यो समस्यालाई आफ्नै समस्या हो भनेर उहाँहरूले सहजीकरणको वातावरण बनाउनुहुन्छ होला भन्ने हामीले आशा गरेका छौँ ।”
कोभिड खोप किन लगाउने ?
यतिबेला खोप लगाएकाहरुलाई पनि कोरोना सर्ने भएकाले खोप लगाउनुको कुनै औचित्य नभएको भन्दै धेरै सर्वसाधारणले खोपलाई अवज्ञा गरेका पाइन्छ । यसै सन्दर्भमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने उक्त सोच बुझाइको कमिले गर्दा आएको बताउँछन् । उनले भने, “पहिले जसरी दादुरा, टीटी, पोलियोलगायतका खोप लगाउँदा समेत रोगले समातेका उदाहरण छन् । कोभिड खोप पनि त्यस्तै हो । खोप लगाएकालाई पनि कोरोना सर्छ । तर जसरी अहिले कोभिड लाग्दा श्वासप्रश्वास गाह्रो भएको छ, निमोनिया लागेर वा भेन्टिलेटरको अभावमा मानिसको ज्यान गइरहेको छ । त्यो शून्य बराबर हुन्छ । कोभिड लागिहाले पनि खोप लगाएकहरुले सामान्य तरिकाले निको हुन्छ ।”
उनले कोभिड खोप लागएकाहरु सिकिस्त भएको मृत्यु भएको उदाहरण नभएकाले कोभिड खोप अमृत समान भएको बताए । उनले भने, “यो खोप कोभिडका लागि अमृत समान छ । खोपको दुवै डोज लगाएकाहरूलाई यसले मृत्युको मुखमा पुर्याउनबाट जोगाउँछ ।”
कोभिड खोप वैज्ञानिक अध्ययनबाट पुष्टि भएको कुरा भएकाले खोप लगाए पनि सरिहाल्छ भन्ने भ्रमबाट बाहिर निस्किएर यसको विश्वास गर्नुपर्ने कुरामा डा. पाण्डेले जोड दिए । हामी र हाम्रो पारिवारिक सुरक्षाका लागि कोभिड खोप आवश्यक रहेको उनले जिकिर गरेका छन् । उनले अमेरिका र युरोपको उदाहरण दिँदै भने, “त्यत्रो जोखिम भएको अमेरिकामा अहिले मनिसहरु मास्क लगाउँदैनन् । हाल जारी ‘युरो कप’मा पनि दर्शकहरूको चाप उत्तिकै देखिन्छ । किन ? किनकि उनीहरूको ठूलो मासले कोभिडविरुद्धको खोप लगाएका छन् । उनीहरू जोखिमभन्दा माथि उठिसकेका छन् । कोभिड लागिहाले पनि सामान्य ज्वरो जसरी नै सञ्चो हुन्छ ।”
जनस्वास्थ्य विज्ञ डा. पाण्डेका अनुसार भ्याक्सिनमा जोड दिने हो भने लकडाउन गर्नुपर्ने बाध्यता हटेर जाने छ । जसले गर्दा हाल धराशायी बनिरहेको अर्थतन्त्र सुधारमा पनि सहजता आउने उनको विश्वास रहेको छ । सन्तुलित रुपमा कूटनीतिक पहल गर्ने हो भने चीन र भारतबाट एक/एक करोड डोज खोप ल्याउन सकिने उनी बताउँछन् ।
प्रतिक्रिया