Logo

स्वास्थ्य

चहलपहल बढेसँगै कोरोना जोखिम कति ?



कोरोना भाइरसको दोस्रो लहर बढेसँगै सरकारले संक्रमण रोकथामका लागि गत वैशाख १६ गतेदेखि देशभर निषेधाज्ञा घोषणा गरेको थियो । वैशाख १६ गतेदेखि एक हप्ताका लागि भनेर गरिएको लकडाउन लम्बाउँदै सरकारले असार १४ गतेसम्म पुर्‍याएको छ । 

तर, कोरोना संक्रमितको संख्यामा कमी आएसँगै सरकारले मंगलबारदेखि निषेध आदेशलाई खुकुलो पारेको छ । सरकारले कोरोना भाइरसको चपेटामा पिल्सिएका जनताको जनजीवन समान्य बनाउने उद्देश्यसहित लकडाउन खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो भएको पहिलो दिन नै काठमाडौंका सडकमा भीडभाड बढेको छ ।

सरकारले निजी यातायातका साधन जोर-बिजोरमा चलाउन दिने निर्णय गरेसँगै  काठमाडौंका सडकहरुमा सवारी चाप बढेको छ । सडकमा मानिसको आवागमनसमेत बढेको छ । मंगलबार बिहानैदेखि उपत्यकामा कार, भ्यान, मोटरसाइकल, स्कुटरलगायतका निजी सवारीसाधन बाक्लै चलेको देखिएको छ । आज ८ गते भएकाले जोर सवारीसाधन चलेका थिए ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबारको छलफलले आजदेखि जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै निषेध आदेशलाई खुकुलो बनाउँदै बारका आधारमा व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिएको थियो । आज मंगलबार उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो-रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ। यी पसल आइतबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । 

यस्तै सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल खोल्न पाइने छ। खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेशनरी नियमित बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइन्छ ।

निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ। अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाडौं उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ। वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्‍जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भीडभाडका कार्यक्रम सञ्चालन गर्न पाइने छैन । फुटपाथको व्यापार पनि रोक लगाइएको छ ।

कोरोना भाइरसको उच्च जोखिममा नै भएको र जनताको आर्थिक, सामाजिक स्थितिलाई मध्यनजर गर्दै सुरक्षाको निषेधाज्ञालाई केही खुकुलो पारिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए । “कोरोनाको दोस्रो लहर कम भयो भन्दैमा स्वास्थ्य मापदण्ड पालना गर्न छोड्नु हुँदैन । तेस्रो लहरको जोखिम उत्तिकै छ । त्यसैले सबैले सधै स्वास्थ्य सावधानी अपनाउनु होला । कोरोना सकिएको होइन । केही घटेको मात्रै हो,” अनलाइनपानासँग कुरा गर्दै डा. अधिकारीले भने ।

उनले दोस्रो लहरले ठूलो क्षति पुर्‍याएको बताउँदै फेरि नयाँ भेरियन्ट पत्ता लागि सकेको अवस्थामा उच्च सावधानी अपनाउन आग्रह गरे । नेपालमा नौ जनामा कोभिड १९ को उत्परिवर्तित भेरियन्ट ‘एवाई-१’ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जिनोमिक पहिचानका लागि जेठ २६ भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको हो । यो भेरियन्ट हालसम्म  १० वटा भन्दा बढी मुलुकमा फैलिइसकेको मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्ट पनि निकै जोखिमपूर्ण हुने भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

उनले अवस्था थप सहज बने निषेधाज्ञालाई पनि खुकुलो पार्दै लगिने बताए । “निषेधाज्ञा सहज पारिएको भए पनि सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी घर, नाच घर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्‍जनस्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्राहलय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैनन्”, उनले भने ।

एक संक्रमितको गल्तीले हजार मानिस जोखिममा पर्ने भयकाले सधै उच्च स्वास्थ्य सावधानी अपनाउन डा. अधिकारीको आग्रह छ । मन्त्रालयको पहिले प्रथमिकतामा अहिले खोप नै रहेको समेत बताएका छन् । कोरोनाको चक्र तोड्नु ठूलो चुनौती रहे पनि स्वास्थ्य मन्त्रालय त्यसमा लागि परेको अधिकारीले बताए । कोरोना जति लम्बियो त्यति नै सबै क्षेत्र धराशायी बन्दै जाने भएकाले सबैको साझा प्रयासबाट मात्रै यसको चेनब्रेक गर्न सकिने उनी बताउँछन् ।

कोरोना भाइरसको जोखिम लगत्तै पनि लुजडाउन गर्न आवश्यक भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल भाइरोलोजिस्ट शेरबहादुर पुन बताउँछन् । अनलाइनपानासंगको कुराकानीमा उनले भने हाम्रै समुदायमा पनि कोरोना संक्रमित घुमिरहेका छन् । जोखिम उच्च छ । लुजडाउन त गरियोे जीवनयापन सामान्य अवस्थामा लैजाने भनेर तर यसको व्यवस्थापन कसरी गर्ने भनेर थप चुनौती बढेको छ । सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न विभिन्न  सामग्री पसल, कपडा, जुत्ता पसल खाद्यान्न लगायतका क्षेत्रहरुलाई सरकारले निश्चित समय दिएको छ सबैजनाले यसलाई मनन गरेर आफनै लागी हो भनेर सरकारको नियम मान्ने , स्वास्थसुरक्षाको मापडण्डहरु अपनाउनु होला ।

यदी हामी स्ंवम नै आफनो लागी जिम्मेवारी भयौं भने यो बिस्तारै लकडाउन खोले पनि हामी डराउनुपर्ने आवश्यक छैन् । उनले भने अहिले कोरोनाको दोस्रो लहरमा हामीले धेरैजनालाई गुमाएका छौ संक्रमित संख्या पनि उत्तिकै नै छ अहिले फेरी नयाँ भेरियन्ट आको छ यसको कारण पनि मानिसहरुमा थप त्रास बढ्न सक्छ तर नआतिनुहोस जुन भाइरस आएपनि रोकथाम र सुरक्षाको मापडण्ड उही नै हो । उनले थपे “कोरोना भाइरसको यो जोखिम अबस्थामा सरकारले चेन ब्रेक गरेको हो की लकडाउन नै खोलेको हो म पनि यो विषयमा कन्फ्युजमा छु ।” 
कोरोना भाइसको चपेटामा हामी सबै छौं संगसगै हाम्रो आर्थिक अबस्था सामाजिक अबस्थालाई पनि हेर्न जरुरी छ लकडाउनलाई खुकुलो बनाएर मात्र भएन सरकारले व्यवस्थापन गर्नुपर्यो अनि हामीले पनि सुरक्षाको मापदण्ड अपनाउन प¥यो ।

पहिलेको तुलनामा अहिले संक्रमणप्रति मानिसको सावधानी कम हुँदै गएकाले पनि ज्योखिम बढ्दै गएको उनले बताए । हालसम्म देशमा ६ लाख २६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । अझै देशमा कूल ५२ हजार ६ सय ४८ जना सक्रिय संक्रमित छन् । संक्रमित मध्ये ५ लाख ६४ हजार ८ सय ८२ जना संक्रमण मुक्त भइसकेका छन् । यस्तै ८ हजार ८ सय १३ संक्रमितले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १९:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।