सरकारले आगामी आर्थिक वर्षको लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले १६ खर्बको पूर्ण बजेट ल्याउँदा प्रतिपक्ष एवं अर्थशास्त्रीहरुले यस बजेटको चर्को आलोचना गरेका थिए ।
उनीहरुले सानो खर्चमात्र धान्न बजेटको माग गरेका थिए । तर देश र राज्यलाई वर्षभरी नै चलायमान बनाउन सरकारले १६ खर्ब ४७ अर्बको पूर्ण बजेट नै अध्यादेशमार्फत तर्जुमा गरिसकेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब माथिको बजेट बनाइरहँदा भन्सार विभागले चालु आर्थिक वर्षको जेठ महिनासम्म १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ वैदेशिक व्यापार भएको तथ्यांक सार्वजनिक गरेको छ । नेपालको वैदेशिक व्यापार वर्षेनी ठूलो आकारमा बढिरहेको छ ।
यस्तो अवस्थामा बजेट संकुचन गर्नु भनेको कोरोनाले थलिएको अर्थतन्त्रलाई ध्वस्त पार्नु सरह नै हुन्थ्यो । पछिल्लो ११ महिनामा नेपालको आयात २५ दशमलव ६७ प्रतिशतले बढेको छ । निर्यात ३७ दशमलव ७८ प्रतिशतले बढ्दा कुल वैदेशिक व्यापार पनि २६ दशमलव ५६ प्रतिशतले बढेको छ । जसले व्यापार घाटालाई २४ दशमलव ६१ प्रतिशतले बढाएको छ ।
अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले ११ खर्ब ८१ करोड ३४ लाख २० हजार रुपैयाँको आयात गर्दा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २५ दशमलव ६७ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
पछिल्ला वर्षहरुमा भन्दा नेपालको वैदेशिक व्यापारमा सुधार भइरहेको छ । आयात बढे पनि कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने घटिरहेको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा शून्य दशमलव ७१ प्रतिशतले घटेको छ । नेपालले निर्यातको पाटोमा पनि क्रमिक सुधार गर्दै अगाडि बढिरहेको छ । गत वर्षको जेठ मसान्तमा भन्दा चालु आर्थिक वर्षको जेठ महिनामा निर्यात ३७ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।
११ महिनामा नेपालले अन्य मुलुकहरुलाई एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालले जम्मा ८८ अर्ब ३१ लाख १० हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । नेपालले कुल वैदेशिक व्यापारको हिस्सामा निर्यातको योग्दान भने बढाउन सफल भएको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८ दशमलव ८६ प्रतिशतले बढेर ८ दशमलव ०६ प्रतिशत ओगटेको छ ।
आयात निर्यातसँगै नेपालको व्यापारघाटा पनि सँगसँगै बढिरहेको छ । अघिल्लो वर्षभन्दा यस वर्षको जेठ महिनासम्म मात्र व्यापार घाटा २६ दशमलव ५६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको जेठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख ३० हजार रहेकोमा यो बढेर चालु आवको जेठ मसान्तसम्म १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया