Logo

राजनीति

लुम्बिनीकी राज्यमन्त्री वली प्रकरणः छानबिन कार्यदलले थाल्यो काम



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न गठन गरेको कार्यदलले काम सुरु गरेको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन टोली मंगलबार बेलुकी दाङ पुगेको हो।

प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्य मन्त्री वलीको घटनाबारे सत्य तथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन्।

लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री वलीले गत मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मिना भण्डारी बस्नेत र उनकी छोरीमाथि घरभित्र पसेर कुटपिट गर्नुका साथै दराजलगायत सामान तोडफोड गरेकी थिइन्।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। घटना भएकै राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा उनलाई बुटवल लगिएको थियो।

त्यसपछि वलीको स्वास्थ्यमा समस्या आएको भन्दै लुम्बिनी प्रदेश अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। आफू र छोरीमाथि कुटपिट भएको भन्दै मिना बस्नेतले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

गत भदौमा मिनाका श्रीमानसमेत रहेका वाइसिएलका नेता एकराज बस्नेत र राज्य मन्त्री वलीबीचको प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक भएको थियो।

यद्यपि पछिल्लो समय राज्य मन्त्री वलीले आफूले एकराजलाई सापटीबापत दिएको रकम लिन उनको घरमा जाँदा आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताउने गरेकी छन्।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ९ : ४८ बजे