Logo

अर्थ

४५ अंकले घट्यो नेप्से, डेढ अर्बको पनि भएन कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहीवार) पनि ४५ अंक घटेर बन्द भएको छ । कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।

कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो । जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ ।

बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाई नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतको सुधार आएको हो । आज कारोबारमा आएकामध्ये १० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

बजार घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा २१८ अंकको गिरावट आउँदा निर्जीवन बीमा कम्पनी समूहको १४३ अंक घटेको छ । यसैगरी, विकास बैंक समूहमा ११९ अंकको र लघुवित्त समूहमा १०२ अंकको गिरावट आएको छ । आज शीवश्री हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ३ : ५३ बजे