Logo

अर्थ

बेंसीसहर नगरपालिकाद्वारा ७५ करोड ५३ लाख बजेट पेस



लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख ३ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । 

नगर उपप्रमुख पदमा गुरुङले शुक्रबार बेंसीसहरमा आयोजित ११औँ नगरसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट पेस गरेकी हुन् ।

नगरपालिकाले चालुतर्फ १३ करोड अर्थात १७ दशमलब २१ प्रतिशत बजेट विनियोजन गरेको छ । पूँजीगततर्फ २५ करोड ९४ लाख ३ हजार अर्थात ३४ दशमलब ३४ प्रतिशत बजेट विनियोजन गरेको छ । बजेटमा सशर्ततर्फ २९ करोड ९ लाख अर्थात ३८ दशमलब ५१ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । समपुरक, विशेष र अन्य गरी ७ करोड ५० लाख अर्थात् ९ दशमलब ९३ बजेट प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ करोड ८७ लाख ६२ हजार अर्थात् ३ दशमलब ९३ प्रतिशतले बढी हो । आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत तथा स्थानीय राजश्वबाट ८ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाँडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघीय र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघीय र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

उनका अनुसार नगरसभामा पेस गरिएका नीति तथा कार्यक्रम र बजेटलाई छलफल गरेर आगामी २४ गते बस्ने बैठकले पास गरिनेछ । सभालाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ०६:२८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।