Logo

अर्थ

नेपाल वायुसेवा निगमले आज ६४ औँ वार्षिकोत्सव मनाउँदै



काठमाडौं । नेपाल वायुसेवा निगमले आज ६४ औँ वार्षिकोत्सव मनाउँदैछ ।

निगमका महाप्रबन्धक दिपुराज ज्वारचनले यात्रु सङ्ख्याका दृष्टिले उपलब्धिमूलक मानिने गन्तव्यमा अध्ययन गरी नयाँ ठाउँमा जाने प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

निगमले आफ्नो गन्तव्य विस्तारका क्रममा गएको वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान थालेको छ । रियादमा निगमले हप्तामा दुईवटा उडान गर्छ भने साउदी अरेबियाको जेद्दा र दमाममा पनि उडान थाल्ने योजना रहेको निगमले जनाएको छ ।

नेपाल वायुसेवा निगमले विमानकाे थप प्रक्रिया पूरा गरेर सियोल, ग्वान्जाउ, साङघाई, कोलम्बो, अहमदाबाद, जकार्ता, फ्याङ्कफर्ट र अस्ट्रेलियामा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । निगमले आन्तरिकतर्फ काठमाण्डौबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्जमा नियमित उडान गर्छ ।

त्यस्तै नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्दै आएको छ । धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङमा पनि उडान हुन्छ । निगमले आफ्नो ६३ वर्षको इतिहासमा पहिलो पटक खतराजन्य पदार्थ ओसारपसार गर्ने प्रमाणपत्र पाएको छ ।

यसले निगमको आयमा थप टेवा पुगेको महाप्रबन्धक दिपुराज ज्वारचनले बताए । निगमले चालु आर्थिक वर्षकाे आठ महिनामा ८ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले धेरै हो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०९:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।