Logo

अर्थ

अब ४० वर्षमाथिका एकल महिलालाई पनि भत्ता, लिन नचाहनेलाई राज्यले सम्मान गर्ने



काठमाडौं । अब ४० वर्ष उमेर पुगेर विवाह नगरी एकल जीवन विताइरहेका महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त सहमति भएको हो ।

समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको समितिकी सचिव वविता मिश्रले जानकारी दिइन् । यस्तै, सम्बन्ध विच्छेद गरेर १२ वर्षदेखि एकल जीवन बिताइरहेका महिलालाई पनि एकल महिलाको परिभाषाभित्र राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान सर्वसम्मतिले पारित भएको छ ।

‘विवाह गरी वा नगरी एक्लो जीवनमा रहेका र ४० वर्ष उमेर पुगेका, त्यसैगरी सम्बन्ध विच्छेद गरेर अनि श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतित गरिरहेका महिलाहरुलाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राखिनुपर्छ भनेर यो संशोधनलाई समितिले स्वीकार गरेको छ’, समितिकी सचिव मिश्रले भनिन्, ‘त्यसैगरी ज्येष्ठ नागरिक भत्ताको सम्बन्धमा नेपाल सरकारले पिछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकि त्यस्तो क्षेत्रमा बसोबास गर्ने नागरिकलाईसमेत भत्ता उपलब्ध गराउन सक्नेछ भनेर यो विषयलाई समावेश गरेर पारित गरिएको छ।’

यस्तै समितिले न्यून आय भएका तथा पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएर पनि आर्थिक रुपले विपन्न अवस्थामा रहेका अन्य एकल महिलाहरुलाई पनि असहाय एकल महिला भत्ता दिने प्रावधान समेत पारित गरेको छ।

त्यसैगरी सो घोषणा गरी सामाजिक सुरक्षा भत्ता कसैले लिन नचाहेमा उसलाई राज्यले प्रशंशा पत्रसहित सम्मान गर्ने प्रावधान समितिबाट पारित गरिएको समितिकी सचिव मिश्रले बताइन्।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ७ : २३ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।