Logo

साहित्य

कविता प्रेम



आम मान्छेहरु शरीर बोकेर हिड्छन् तर कवि हजुर भूगोल बोकेर हिड्नु हुन्छ । हामी आँखाले भेट्ने सम्म देख्छौ । आम मान्छेहरु आवश्यक भन्दा कम चिज देख्छन् । तर कवि महोदय, हजुरले त ब्राह्मण्ड अर्थात आकाश गँगा देख्नु हुन्छ । भनिन्छ नि, जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ । हो त कविहरु त्यति सहजै छाम्छन् मान्छेहरुको मन । म कवि रोशन परियारको कविताहरु प्राय पढ्ने गर्छु । केहि कविताहरु पढेर म स्तब्ध हुन्छु । केही शब्दहरू यति सुन्दर हुन्छन् कि जसको बान्कीमा अल्झेर घोतलिन्छ ।

 कवितामा नारा हुन पर्छ । कवितामा आगो हुन पर्छ । उहाँका हरेक कविताहरुले वर्गीय आन्दोलनका नाराहरु बोकेको हुन्छ । म कानून कविता पढेर यो कविताको बारेमा लेख्न अनुमति नलिई बसे ल । माफ गर्नु होला मलाई राम्रा लागेको कविता होस् या कथा । मन परेपछि निकै माया गर्छु म तपाईंको कवितासँग प्रेममा छु ल । यसबाट मलाई अलग नबनाउनु । यदि कुनै हस्तक्षेप आएन भने म सहयात्रामा हुने छु । अँ केहि कविता मलाई आफ्ना जस्ता लाग्छन । कानून कविताको टाउको देखि पाउसम्म मैले महशुस गरे ।

साच्चिकै भेल पसेर निभेको आगोको अस्मिताको बारेमा हामीले सोचेका हुदैनौ । आगो निभ्छ चुलो भरिन्छ पानीले । त्यहाँ भरिएर फालेको पानी र चिसो चुल्होमा बलेको आगो महशुस गर्दैनन् कोही । आमाहरुले साना नानीहरुका भोक मेट्न रिङ्गटा लाग्ने गरी आगो फुकेको हुन्छन । तर यो निम्नवर्गिय परिवारहरु मात्र भोग्छन । साच्चिकै पानीलाई सजाय दिन मिल्ने भए घरको आगन बगाउदा आँखाहरु भिजेको भन्दा पनि मन भिजेकाहरु चिसा हुन्छन् । न घाम लाग्छ आतमा न बरफ झै जम्छन् । 

आफ्नै आगनको डिलबाट दुधे सन्तान गुमाउनेहरु फाँसी होस् भन्ने चहान्छन् तर नियति र प्रकृतिको सजाय हुन्न । अदृश्य शक्तिशाली शक्ति कवि चहानुहुन्छ । जहाँ मान्छेहरु सहजै आशा गर्छन् । भगवान छ या छैन त्यो म मान्दिन । कहिलेकाही भगवान भन्ने शव्द पनि मलाई अप्रिय लाग्छ तर मान्छेहरु टुटे पछि, कुनै न कुनै भ्रम चहान्छ जुन मिठो हुन्छ । भगवान भन्ने शब्द पनि मिठो हुन्छ । यस्ले सकारात्मक उर्जा दिन्छ । सायद यहि कारणा आपतमा मान्छेहरु भगवानमा विश्वास गर्छन् । हो, मान्छेकै विश्वास हो । भगवान भनेको विश्वास हो । 

राहतका सानो पोको बोकेर महिनाभरको रासन दिएर सहानुभूतिपूर्ण ब्यवहारले नानीहरुका आत भरिन्छन् । बाटोभरि आँखा छरेर भत्केका दलानमा मुटु दर्खरिएको वस उहि भगवान शव्दले पुर्छ । कवि पनि आम मान्छेहरुको भगवान बन्न चहानुहुन्छ । तर आफ्ना नानीहरुको हासो खोसेको भेललाई सजाय कस्ले देला त ? कवि सोच्नु हुन्छ । यहाँ त राष्ट्रिय ढुकुटीबाट बिलासी सामानबारे स‌ंसदमा बहस हुन्छ । तर पीडितहरु अन्यायका शिकार भएकै छन् । त्यसैले कवि न्यायाधीश बन्न चहानुहुन्छ । त्यसैले कवि पहिलो पंक्तिमा यसरी लेख्नुहुन्छ ।

भेल पसेर चुल्होमा
आगोलाई बलात्कार गरिरहेको छ
बाढी उर्लेर धुरीको खुट्टा भाँचिरहेको छ
पहिरोले तानेर आँगनको गला काटिरहेको छ
म एक जोडी आँखालाई साक्षी राखेर 
आँशुहरुको सर्जमिन सहित
किनारमा भिजिरहेको छु
कृपया ! पानीलाई फाँसी दिईयोस् ।

शब्दहरु यति बलियो छन् । बतास मन्द हुँदा शित्तल महशुस हुन्छ । जवान भएपछि त्यहि हावा मात्तिन्छ । अनि पानीले भिजेको घरमा भत्केको खण्डहरमा लथालिङ्ग नानीका जामाहरु उडाउँछ । बाढी पहिराले पुरेको लासहरुको पहिचान छैन तर पनि ती सनाखत नभएको लासहरुको शोकलाई शँखमा पुकारेको कवि सम्झनुहुन्छ । त्यसो त कवि यो कुरालाई लेख्नु भएको छ । 

बुढो बतास छिरेर
कलिला जामाहरुलाई जबर्जस्ती उडाई रहेको छ
नोटको हुरी पसेर
अदालतका झ्याल ढोकाबाट सिन्दुरको डोरी चुँडाई रहेको छ
म फोक्सोमा यातनाहरुको टोर्नाडो खाँदेर
सहनशिलताको सुनामी सहित
आर्यघाटमा उभिईरहेको छु
कृपया ! हावालाई कोर्रा बर्साइयोस 
हो त नियति माथि कोर्रा कसले मार्न सक्छ र ? जति सुकै हावा को क्षति भए पनि सहन बाहेक अरु सक्छ र ? त्यसैले त उहाँ भन्नुहुन्छ ।

हिउँ लिपेर हिमाललाई सेतो भनि रहेको छ
गुराँस पोतेर पहाडलाई रातो भनि रहेको छ
गर्मी दलेर तराईलाई कालो भनि रहेको छ 
म एक डल्लो उज्यालोको विभेद लेखेर
एक टपरी जूनको उजुरी सहित
टाउकोमा मसाल दन्काईरहेको छु
कृपया ! घामलाई मृत्युदण्ड दिईयोस् 
पैतालिस डिग्री घाममा कनम गरेको एक मजदुरले घामकै मसालमा जलेर मर्छ । कवि त्यो विषयलाई निकै सुन्दर बनाएर ब्याख्य गर्नु भएको छ । सुन्दरता सबै भन्दा शव्द बिम्व र प्रतिकले दिन्छ । 

हिलो उछिट्टिएर कमलका फूलहरु ओइली रहेका छन्
धुलो उडेर सृष्टिका रंगहरु मेटिरहेका छन्
बालुवामा भासिएर शालिकहरु उभिरहेका छन्
म सुकुम्बासी माटोहरुको कित्ता काटेर
शरणार्थीहरुको लालपूर्जा सहित
भूगोल टेकिरहेको छु
कृपया ! जमिनलाई जेल हालियोस्

यहाँ

प्यास मेट्नु भन्दा धेरै प्राण छिन्छ पानीले
सास उकास्नु भन्दा धेरै सास दबाउँछ हावाले
समानताको रंग भन्दा अहमताको दाग देखाउँछ घामले
‘हाम्रो’ भन्नु भन्दा धेरै ‘मेरो’ भन्छ जमिनले

यदि 

पानी जस्तो दिमाग र हावा जस्तो हृदय हुन्छ भने
घाम जस्तो मन र जमिन जस्तो कदम हुन्छ भने

दिमागलाई झुण्ड्याउँछु, हृदयलाई बगाउँछु
मनलाई जलाउँछु, कदमलाई गाड्छु

माथिको पँक्तिमा कविले दिमाग भएर शक्तिमा हुनेहरुसँग मन हृदय नभएको भनेर ब्याङग्य गर्नु भएको छ । कानूनको आँखाहरु र कानहरु बन्द गरेर चुपचाप रहेका प्रति उहाको शिल्पी कटाक्क्ष निकै राम्रो लाग्दो छ । 

कृपया,

मलाई भगवान बनाईराख्नु । यदि भगवान हुने भए कविले सबै चिजको न्याय गर्छु भन्नु भएको छ । न्यायलयका अन्याय नदेखेका अन्ध भक्तहरु केही पैसाले न्याय किन्नेहरुलाई दर्हो झाप्पट हो अत्यको लाईन । समयले घात गरेको । जमिन नभएर, सुकुम्बासी भएका हजारौ बस्तीमा सालसालै बाढी आउछ । अलिकति लुछेर जान्छ, अनि बढि निमोठेर जान्छ । निमोठिएको मुटुमा चिसो बतास नलागोस । सवले राहत र न्याय पावोस यहि कविको चाहना हो । यो कविता पठन योग्य कविता हो । यसलाई कविले उचाई दिनुभएको छ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार