Logo

राजनीति

अर्थमन्त्रीबारे छानबिन समिति बनाउन माओवादी तयार, त्यसअघि एमालेसँग छलफल गर्ने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोपबारे सत्तासाझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज (बुधबार) बिहान बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले अर्थमन्त्रीका बारेमा उठिरहेको छानबिन समितिका बारेमा नेकपा एमालेसँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए । ‘बैठकमा प्रतिपक्षी दलसहित अन्य क्षेत्रबाट अर्थमन्त्रीका बारेमा उठेको विषयमा छलफल भएको छ,’ उनले भने, ‘त्यसबारे एमालेसँग छलफल गर्ने भन्ने निर्णय भएको छ।’

संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको छ। सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।

साथै बुधबारको बैठकमा अर्थमन्त्रीलाई आफ्ना कुरा राख्न दिन एमालेलाई आग्रह गर्ने र त्यसपछि छानबिन समिति गठन गर्न आफूहरु तयार रहने भन्ने विषयमा निष्कर्ष निकालिएको अर्का एक पूर्व स्थायी कमिटी सदस्यले बताए । नेकपा एमालेले संसद्मा अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएको छ भने अब संसदमा बोल्नसमेत नदिने नीति लिएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुले अर्थमन्त्रीको जवाफ नभई उनीमाथि छानबिन चाहेकोले बोल्न नदिइने बताएका छन् ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्रीलाई संसदमा निषेध गर्ने एमालेको तयारी, प्रमुख सचेतक भनछन्– अर्थमन्त्रीको जवाफ खोजेका होइनौं

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १२:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।