काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद वर्षमान पुनले छानबिनबाट निर्दोष देखिएमा पुनः जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् । बुधबार संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पुनले अहिले शर्माले छानबिनका लागि पदबाट राजीनामा दिएको भन्दै छानबिनपछि निर्दोष भएमा शर्मा पुनः दोहोरिने बताएका हुन् ।
‘उहाँले छानबिनका लागि मार्ग प्रशस्त गर्नुभएको हो । यसअघि रामशरण मतहका विषयमा पनि कुरो उठेपछि उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभयो र पछि निर्दोष भएपछि अर्थमन्त्री बन्नुभएको थियो,’ उनले भने, ‘उहाँ (शर्मा)ले निर्दोष छु भन्नुभएको छ । छानबिनबाट उहाँ निर्दोष हुनुभयो भने उहाँ नै अर्थमन्त्री हो । पार्टीले तत्काल अर्को मानिस पठाउँदैन ।’
नेता पुनले पार्टीले राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको पनि खुलाए । विगतमा मन्त्रीमाथि छानबिन गर्न यस्ता समिति बन्दा राजीनामा दिएको उदाहरण नभए पनि शर्माले दिएको बताए । ‘पार्टीले पनि राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको हो,’ उनले भने, ‘यद्यपि उहाँले राजीनामा दिन अनिवार्य थिएन । विगतमा बजेटका बारेमा विष्णु पौडेलजीका बारेमा कुरा उठेर संसदीय समिति बन्यो तर उहाँले राजीनामा दिनुभएन । भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट लिक भयो भनेर संसदमा आवाज उठ्यो, समिति बन्यो तर उहाँले राजीनामा दिनुपरेन ।’
शर्माले अहिले उच्च नैतिकता देखाए राजीनामा दिएको नेता पुनले बताए । छानबिनको काम पुरा नहुँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले दोषी करार गर्न खाजेको भन्दै पुनले त्यो पूर्वाग्रही र राजनीतिक उदेश्यले प्रेरित रहेको समेत टिप्पणी गरे । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयभित्र प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको आरोपपछि शर्माको चौतर्फी आलोचना भएको थियो । त्यसपछि बुधबार संसदबाटै उनले राजीनामा घोषणा गरेका हुन् ।





















प्रतिक्रिया