Logo

स्वास्थ्य

भेटिए तीन मिर्गौला भएका दुर्लभ व्यक्ति, भन्छन् – छुट्टै उर्जा आएको छ 



मिर्गौलाले हाम्रो शरीरका विकारयुक्त कुरा फाल्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम गर्छ । एक स्वस्थ मानव शरीरमा जन्मजात दुईवटा मिर्गौला हुन्छन् । कयौं मानिसहरुका विभिन्न समस्याका कारण मिर्गौला बिग्रिन्छ र नयाँ प्रत्यारोपण गर्नुपर्ने हुन्छ  । दुईवटै मिर्गौला बिग्रिएपछि कयौंले असमयमै ज्यान गुमाउनु पर्ने पनि हुन्छ । दुईवटा मिर्गौला हुनुपर्ने मानिसमा तीनवटा मिर्गौला छन् भन्ने सुन्दा पनि एकछिन चकित पर्छन् होला कयौं मानिसहरु । तर ३३ वर्षीय चन्द्र राईको शरीरमा भने तीनवटा मिर्गौला छन् । उदपुर घर भएका राई हाल काठमाडौंको कलंकीस्थित खडका गाउँमा बस्दै आएका छन् । उनी पेशाले गाडी चालक हुन् । 

कारोना महामारीले सवारीसाधनहरु बन्द भएपछि उनी गाउँ फर्किए । गाउँमा खेतीपातिमा व्यस्त भएका उनलाई केही समयपछि पेटमा साह्रै गाह्रो भयो । पेटको देब्रेपट्टीको भागमा असह्य गरि दुख्न थाल्यो । दुखाइ हुँदा के खाने भन्ने युट्युबमा खोजे र गाउँमा भेटिने जडिबुटीहरु खाए । उनको पेट दुख्ने समस्या २० को १९ भएन । 

गाउँमा जडिबुटी खाँदा पनि ठिक नभएपछि उनी फेरि काठमाडौं आए । पेटको देब्रेपट्टी मिर्गौला भएको ठाउँमा दुखाई बढ्दै गएपछि मिर्गौलामा नै समस्या भएको हो कि भनेर काठमाडौं आएर अस्पताल गए ।

उनले भने, ‘‘कोरानाको त्रास हुँदा–हुँदै पनि म अस्पताल भर्ना भए । अस्पतालमा अप्रेशन गर्नुपर्छ भनियो । डाक्टरहरुले २० मिनेटजति लाग्छ भनेको अप्रेसन करिब पाँच घण्टा भयो । म त बेहोसमा थिएँ, केही थाहा नै पाइनँ ।’’

उनलाई पत्थरी भएको र अप्रेशन गर्नुपर्छ भनेपछि उनी अस्पताल भर्ना भएका थिए । करिब पाँच घण्टाको अप्रेशनपछि उनी होशमा आए । उनी होशमा आउँदा अप्रेशनमा संलग्न चिकित्सकहरु नै उनलाई नै हेरेर कानेखुसी गरिरहेका थिए  । उनले भने, “मेरो अपरेशन गर्ने चिकित्सक डा. सन्जिव भक्त विष्टले भन्नुभयो- तपाईं त खतरा हुनुहुँदो रहेछ, कसैको एउटै मिर्गौला नभएर ज्यान गुमाइरहेका छन् । तपाईंको भने तीनवटा रहेछ । एकछिन त म पनि छक्क परेँ ।’’

चिकित्सकका अनुसारएक एक लाख जनामध्ये एक जनामा यस्तो देखिन्छ । उनले थपे, ‘‘म ट्वाल्ल परेको देखेर उहाँले नै हरेक एक लाखमध्ये एकजनामा यस्तो देखिन्छ भनेर मलाई सम्झाउनु भयो । डा. विष्टले तीनवटा मिर्गौला छ, एउटा छुट्टै छ र अर्को भने जोडिएको छ । एकछिन त आफैं अचम्मित भएको थिएँ । डाक्टरको कुरा सुनेपछि आफैं खुसी भएँ ।’’

अप्रेशनकै क्रममा नेपाल नेशनल अस्पतालमा अप्रेशनकै क्रममा २०७८ जेठ २९ गते उनका तीनवटा मिर्गौला रहेको प्रमाणित भएको थियो । उनको तीनवटै मिर्गौला बराबर सक्रिय रहेको पाइएको छ । अनुहार खुसी ल्याउँदै उनले भने, ‘‘भगवानको उपहार हो, यो । मलाई छुट्टै उर्जा आएको छ ।’’

कोरोना भाइरसको कारण अस्पतालमा नै उपचारकै क्रममा संक्रमित भएर ज्यान गुमाउनु परेको समाचारहरु सुनेका उनलाई पनि अप्रेशनका लागि जाँदा आफू पनि संक्रमित भइने हो कि भन्ने डर थियो । अप्रेशनपछि केही सहज हुनेबित्तिकै उनी अस्पतालबाट डिस्जार्च भए उनी हाल कलंकीस्थित कोठामा आराम गरिरहेका छन् ।  

भगवानले तीनवटा मिर्गौला वरदान स्वरुप दिएको उनको विश्वास छ । यो वरदान कसैको जीवन बचाउनको लागि डाक्टरको अनुमतीमा दान समेत गर्ने उनी बताउँछन् । उनले भने, ‘‘हामी धनी पनि होइनौँ । मसँग उपचारका लागि त्यति पैसा पनि थिएन । साथीहरुको सहयोगमा मेरो उपचार भयो ।’’

अहिले मलाई आराम हुँदैछ । कोरोनाको संक्रमण पनि कम भएर गाडीहरु चल्न सुरु भएका छन् । फेरि अब काममा फर्किनेछु । साथीहरुले गरेको सहयोगको रकम तिर्नेछु ।  

के भन्छन् चिकित्सक ? 

हरेक एक लाखजनामध्ये एकजनामा भेटिने केसमध्ये एकजना चन्द्र राई रहेको उनको शल्यक्रियामा संलग्‍न चिकित्सक डा. सञ्‍जिव भक्त विष्टले बताएका छन् । उनले भने, “यस्तो हरेक एक लाखजनामध्ये एकजनामा भेटिन्छ । यो ‘दुर्लभ केस’ हो । 

उनले भने, “यस्तो केसहरु आमाको गर्भमा रहेकै समयमा तीनवटा मिर्गौलाको विकास भएको हुन्छ । यस्तोलाई डप्लेक्स किड्‍नी भन्‍ने गरिन्छ । उहाँको किड्‍नीको अवस्था हेर्दा स्वास्थ्यमा खासै असर नपार्ने खालको देखिन्छ । तीनवटै मिर्गौलाले सक्रियरुपमा काम गरिरहेका छन् ।” 

यसले खास फाइदाभन्दा पनि भोलिका दिनमा कुनै समस्या गराउनसक्ने उनले बताए । पत्थरीको अप्रेशन गर्दा अलि जटिल भएपछि हेर्दै जाँदा एउटा छुट्टै र अर्को एकठाउँमा टाँसिएका दुईवटा मिर्गौला भेटिएको उनले बताए । 

भोलिका दिनमा कुनै इन्फेक्सन हुनसक्ने र पिसाब नली एउटा ठूलो र अर्को सानो हुनसक्नेसमेत उनले बताएका छन् । तीनवटा मिर्गौला भएको व्यक्तिले खप्टिएकोमध्ये कुनै एक कसैलाई दान गर्न मिल्छ कि मिल्दैन भन्‍ने प्रश्‍नमा डा. विष्टले भने, “यो मिल्दै नमिल्‍ने भन्‍ने हुँदैन । तर, अलि गाह्रो र जटिल हुने गर्छ । रक्तनलीहरु सँगै जोडिएका हुने भएकोले अलि जटिल प्रकृतिको हुन्छ । तीनवटा भएकोले दिहालौं भनेजस्तो सजिलो भने छैन ।” 

मिर्गौला स्वस्थ रहोस् भन्‍नका लागि पर्याप्त पानी पिउनुपर्ने उनको सुझाव छ । 

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार १४:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।