काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
‘हामी चुनौतीपूर्ण अवस्थामा छौं, यो बाह्य कारणले निम्तिएको हो । कोरोनापछि रसिया युक्रेन युद्धको प्रभावले मूल्य बढ्यो, इन्धन अभाव देखिएको छ,’ उनले भने, ‘पहिलो अर्थन्त्रलाई ठाउँमा राख्नुपर्छ, स्टेबल हुनुपर्छ अनि मात्रै हामी त्यसभित्र अटाउँछौं ।’ अर्थतन्त्र अस्थिर भयो भने त्यसभित्र काम गर्दा धेरै समस्या आउन सक्ने गभर्नर अधिकारीको भनाइ छ ।
निजी क्षेत्र भएकोले नाफा नघटोस्, घाटामा जानु नपरोस् भन्नु स्वभाविक रहेको र त्यसलाई अन्यथा लिने कुरा नआउने उनले बताए । तर, नीति बनाउँदा अर्थतन्त्रका लागि आवशयक के हो र अर्थतन्त्रलाई कसरी जोगाउने र भोलिको जोखिमबाट कसरी जोगाउने भन्ने कुरामा ख्याल गर्नुपर्ने उनले बताए ।
अधिकारीले बढ्दो शोधनान्तर तथा चालु खाता घाटाले सहज हुनेपर्ने देखाएको बताए । ‘१० महिना २८८ अर्ब शोधनान्तर घाटा छ, ५४७ अर्ब चालु खाता घाटा छ । यहि तथ्यांकले पनि सजग हुनुपर्ने बताएका छन्,’ उनले भने, ‘यी तथ्यांकलाई ब्यालेन्समा ल्याउन सक्छौं ?’
अर्थतन्त्रलाई चलायमान बनाउन समान्य उपभोग चाहिने भएपनि त्यसलाई प्रोत्साहन गर्दा चालु खाता र शोधनान्तर घाटा उच्च भएको र जुन सधैं हुन नहुने उनले बताए । यसले यी समस्यालाई व्यवस्थापन गर्दा सबैले आफ्नो ठाउँबाट आउनेसक्ने समस्यालाई सहुनपर्ने उनले बताएका छन् ।





















प्रतिक्रिया