Logo

राजनीति

पुष्पलालले देखाएका बाटोले एमालेलाई आज देशकै सबल र परिवर्तनकारी शक्ति बनाएकाे छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सबैभन्दा सबल शक्ति एमाले भएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा ओलीले पुष्पलालकै काम र योगदानको प्रेरणा लिएर आज एमाले यहाँसम्म आइपुगेको बताए ।

ओलीले पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने पनि बताएका हुन् । ‘पुष्पलालले गरेको संगठन विभिन्न उत्तरचढाव हुदै गंगालालको विरासत, बलिदान, प्रजा परिषदको परिणाम, प्रजा परिषदले देखाएको चेतनाको झिल्को, १९९८ सालमा गठन गरिएको प्रजातान्त्रिक संघको गठन हुँदै आज देशको सबैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सबैभन्दा सवल शक्ति एमाले भएको छ’, ओलीले भने, ‘यस पार्टीको अध्यक्षको हैसियतले म भन्छु पुष्पलाल र अरु सहिदहरुले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ गर्ने छैनौ ।’

कार्यक्रममा सम्बोधनका क्रममा ओलीले कांग्रेसमाथि कटाक्ष पनि गरे । उनले विगतदेखि नै सत्ता स्वार्थका लागि कांग्रेसले आफ्नै पार्टीका योद्धाहरु मारिँदा समेत सहिद स्वीकार्न र उचित सम्मान गर्न नसकेको टिप्पणी गरे । ओलीले सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको आरोप लगाउदै भने, ‘मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन ।’

उनले भिमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेसको आङ सिरिङ्ङ हुने भन्दै दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी पनि कांग्रेसले नलिएको सुनाए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १०:५४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।