काठमाडौं । १० वरिष्ठ चिकित्सकको एक समूहले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि गम्भीर बनिदिन भन्दै सरकारलाई अपील गरेको छ ।
चिकित्सकले डा. केसीको जीवन रक्षाका लागि संयूक्त अपील जारी गर्दै सरकार र केसी पक्षधरसँग वार्ता गर्दा उनको जीवन रक्षालाई प्रमुख दायित्वका रुपमा लिन आग्रह गरेका हुन्। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले १० जना चिकित्सकका तर्फबाट अपिल जारी गर्नुभएको हो ।
केसीको ज्यान रक्षाका लागि भन्दै अपील नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, पूर्व स्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्व राजदूतसमेत रहनु भएका डां महेश मास्के, डा.चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकूलपति डा. अर्जुन कार्की, चिकित्सक संघका पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठ, समाजिक अभियन्ता समेत रहेका डा.सरोज धितालसहितले संयुक्त अपील जारी गर्नुभएको हो ।
अपीलमा वरिष्ठ चिकित्सकहरुले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका सम्बन्धमा डा. गोविन्द के.सी. ले पटकपटक आमरण अनसन बसी नेपाल सरकार समक्ष विगतमा १८ औं पटक सम्म सम्झौता गरेको व्यहोरा स्मरण गराउँदै पूर्ववत सम्झौताको भावना र मर्म अनुरुप नेपाल सरकारको तर्फबाट स्वामित्व ग्रहण गरेका जायज मागको कार्यान्वयनका लागि डा. केसी अनसनमा बसेको समेत उल्लेख गरेका छन ।
डा. केसी अनशन बसेको २७ औं दिन उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तैं गम्भिर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भिरता पूर्वक लिन र प्रधानमन्त्रीले सकारात्मक दृष्टिकोण राखी यथासक्य निचोडमा पुर्याउने गरी वातावरण तयार गर्न चिकित्सकले अपील गरेका हुन ।
अपिलमा जारी वार्तालाई जिम्मेवार, प्रभावकारी र ठोस निर्णयमा पुर्याउनका लागि अपनाउनुपर्ने संवेदनशीलतालाई सुक्ष्म रुपमा मनन गर्नुपर्ने र डा. केसीको जीवन रक्षा गर्ने प्रमुख दायित्वप्रति वार्ता समूह गम्भिर बन्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया