Logo

राजनीति

नागरिकता विधेयकमा गठबन्धनका नेताहरुले बलमिच्याँई गरेका छन् : सांसद पौडेल 



काठमाडौं । राष्ट्रिय सभाकी सदस्य विमला पौडेलले गठबन्धन दलका नेताहरुले नागरिकता सम्बन्धी विधेयकमा बलमिच्याँई गरेको आरोप लगाएकी छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । ‘नागरिकता जस्तो विषयमा सरकारले बलमिच्याँई गरेको छ । संसदको अवमूल्यन गरेको छ । गठबन्धनका दलहरुका नेताहरुले बलमिच्याँइ गरेका छन्,’ डा. पौडेलले भनिन् । 

उनले विधेयकको प्रक्रियामा समेत प्रश्न गरिन् । उनले अगाडि भनिन्, ‘जुन तरिकाले प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असहमति छ ।’  नागरिकता विधेयकमा छोरा र छोरीलाई विभेद गरिएको समेत उनले जनाइन् । 

‘विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिने कुरा छ, जसका कारण यो विधेयक फिर्ता गर्न हामीलाई अप्ठेरो छ । तर विधेयकमा अंगीकृत नागरिकता किन विवाह गरे लगत्तै दिने, यो सरकारले स्पष्ट पार्नु पर्छ,’ उनले भनिन् । 

दक्षिण एसियाली अन्य देशमा अंगीकृत नागरिकता विवाह गरेको दुई देखि सात वर्षपछि मात्र दिने व्यवस्था रहेको समेत उनले बैठकमा स्मरण गरिन् । ‘विधेयकमा विभेद छ । छोराले विदेशी बुहारी ल्याउने वित्तिकै नागरिकता पाउने, छोरीले विहे गरे नपाउने ?,’ उनले प्रश्न गरिन् । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १४:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।