Logo

अर्थ

बजेट प्रकरण : सभामुखलाई प्रतिवेदन बुझाइँदै, आजै संसदमा पेश गर्ने तयारी



काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट प्रकरण सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिले शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । एमालेका माग बमोजिम गठन भएको छानबिन समितिले शुक्रबार दिउँसो ३ बजे सभामुख सापकोटालाई प्रतिवेदन बुझाउन लागेको हो ।

संसद सचिवालय स्रोतका अनुसार प्रतिवेदन शुक्रबारकै बैठकमा पेश गर्ने तयारी भएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । जसको समयावधि बिहीबार सकिएको थियो ।

समिति निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन भने असफल भएको छ । सो समितिलाई सुरूमा १० कार्य दिन दिइए पनि तोकिएको समयमा आवश्यक काम नसकिएपछि थप ७ दिन म्याद थपिएको थियो ।

यसबीचमा समितिले अर्थमन्त्रालयका सचिव, महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, राजश्व विभागका महानिर्देशक लगायतसँग बयान लिएको थियो । यस्तै, अर्थमन्त्री शर्मासँग समेत साढे ३ घन्टा लामो बयान लिइएको थियो । तर, अर्थमन्त्रालयका सम्पूर्ण प्रतिनिधिसँग लिइएको बयानका क्रममा बजेट बनाउँदा लागेको आरोप पुष्टि गर्ने कुनै आधार नभेटिएको बताइएको छ ।

यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । तर, त्यसमा समेत अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको बताइएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  २ : २९ बजे