Logo

राजनीति

जनार्दनले क्लिन चिट पाएपछि प्रचण्ड भने– दोष थिएन, खाएको विष पो लाग्छ, नखाएको लाग्दैन



काठमाडौं । नेकपा माओवादी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । उनले समाजवादी केन्द्र निर्माणका लागि छलफल नै नभएकोसमेत जिकिर गरे । ‘तत्काल समाजवादी केन्द्र बन्दै छैन,’ माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै भने, ‘हाम्रो छलफलमा त्यो कुरा भएको छैन ।’

‘प्रचण्डले देश, संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछिसम्म कायम रहने बताएका छन् । यहि गठबन्धनबाट निर्वाचनमा जाने र शान्ति प्रक्रिया टुङ्ग्याउने उनको भनाइ छ ।
यस्तै, उनले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री जनार्दन शर्मा निर्दोष सावित भएको बताएका छन् । नखाएको विष नलाग्ने भन्दै उनले अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको बताए ।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले ओली सरकारले एसपीपी सम्झौता गरेको कुरा पेरिसडाँडाबाट आफूले पहिलो पटक सार्वजनिक गरेको र तत्काल सम्झौता तोड्न बालुवाटारमा गएर प्रधानमन्त्रीलाई भनेको उल्लेख गरे । माओवादी केन्द्रकै पहलमा नै एसपीपी सम्झौतामा नेपाल सहभागी हुँदैन भन्ने चिठी अमेरिका पठाएको प्रचण्डले बताए । एसपीपी सम्झौता गरेको खुलासा गरेपछि केही मान्छेहरूको टाउको दुखेको र उनीहरुले अर्थमन्त्रीले करको दर हेरफेर गरेको भनेर अनेक लफडा झिकेको उल्लेख गरे ।

‘करको दर हेरफेर गरेको आरोप लगाएर कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नी भनेर संसदीय छानविन समिति नै सहि भनेर छानविन समिति बनाउन भनेँ । समितिले आवश्यक पर्ने समय पनि लियो । ७ दिन समय पनि थपियो, आज समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष सावित हुनुभएको छ, केही प्रमाण छैन्, निर्दोष रहेको प्रमाणित भयो । अर्थमन्त्री र अर्थमन्त्रालयको कुनै गल्ती भएको छैन् भन्ने छानविन समितिको रिपोर्ट आएको छ’, अध्यक्ष प्रचण्डले भने ।

अर्थ मन्त्रालयमा करका दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको ठहर संसदीय विशेष छानबिन समितिले गरिसकेकाे छ । यससँगै यस प्रकरणमा मुछिएका निवर्तमान अर्थमन्त्री शर्माले सफाइ पाइसकेका छन् ।  अब  करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक नरहेको छानबिन समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। 

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ६ : ४८ बजे