Logo

प्रमुख समाचार

तत्काल समाजवादी केन्द्र बन्दैनः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । आज प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन् । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे ।

अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको प्रष्ट पारे । उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा भने छलफल चलेको बताए । उनले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । बन्दै छैन । हामीले समाजवादी केन्द्र बनाउने गरी छलफल पनि भएको छैन । केही–केही साथीले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो । तर, हाम्रा बैठकमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । तर, छलफल टुंगिसकेको छैन ।’

अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताए । उनले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने उल्लेख गरे । गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाइ छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ८ : ०२ बजे