काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्वन्द्वमा फस्नबाट जोगिनुपर्ने बताएका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार परराष्ट्र मन्त्रालयले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसकिनेबारे अमेरिकालाई पत्र पाठाइसकेको भनेपछि शर्माले ‘एसपीपीको च्याप्टर क्लोज’ भएको बताएका छन् ।
सामाजिक संजालमा महामन्त्री शर्माले भविष्यमा यस्तै द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवम् परिपालनमा सबै गम्भीर बन्नुपर्ने उल्लेख गरेका छन् । परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभइ देशलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ । ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछी यो च्याप्टर क्लोज त भयो, तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवम् परिपालनामा हामी सबै गम्भीर बनौं’, उनले भनेका छन्, ‘परराष्ट्र सम्बन्धमा व्यक्ति र दल होइन देशलाई केन्द्रमा राखेर बढौं।’
पहिले गल्ती गर्ने, पछि आत्मालोचना गर्ने र फेरि गल्ती दोहोर्याउने प्रवृति रहेको उल्लेख गर्दै शर्माले भनेका छन्, ‘नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भू–राजनीतिक संवेदनशीलता दृस्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ।’ प्रतिनिधि सभामा शुक्रबार जवाफ दिँदै परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्को निर्णयअनुसार एसपीपीमा सहभागी नहुने पत्र अमेरकालाई पठाइसकिएको बताएका थिए ।




















प्रतिक्रिया