Logo

प्रमुख समाचार

शर्मामाथिकाे अभियोग पुष्टि नहुनुमा सत्तापक्षका सांसदहरू बाधक : भानुभक्त ढकाल



काठमाडौं । नेकपा एमालेका नेता तथा बजेट प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिमा सदस्य रहेका भानुभक्त ढकालले सत्तापक्षका सांसदहरूकै कारण जनार्दन शर्मा विरुद्धको अभियोग पुष्टि हुन नसकेको आरोप लगाएका छन् । करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिले प्रभावकारी काम गर्न नपाएको पनि उनले बताए ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा ढकालले सत्ता पक्षका सांसद र समितिकै कारण प्रभावकारी छानबिन नभएको आरोप लगाएका हुन् । समिति र सत्तापक्षका सांसदहरूका कारण फरक–फरक निष्कर्ष निस्किएको ढकालको भनाइ छ ।

‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको कुरा बयान र सीसीटिभीको कारणले प्रवेश गरेन भन्ने उहाँहरूको निष्कर्ष हो । हाम्रो आवश्यक प्रमाणहरू गुपचुप गरेका कारणले र यथेष्ट प्रमाण बुझ्नको निम्ति सत्तापक्षका माननीय र समिति तयार नभएका कारण पर्याप्त प्रमाणको अभावमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने कुरामा निष्कर्षमा पुग्न सकिएन’, ढकालले भने, ‘यसले गर्दा हामीले फरक मत राखेर पठाएका हौँ ।’

२२ असारमा गठन भएको ११ सदस्यीय समितिले १७ दिनपछि शुक्रवार छानबिनमा ‘केही प्रमाण भेटिएन’ भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार १८:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।