Logo

प्रमुख समाचार

कक्षा १ देखि ५ सम्म एउटै कोठामा पढाइ, शिक्षक पनि एकजना 



जुम्ला । जुम्लामा पाँच वटा कक्षाका बिद्यार्थी एउटै  कोठामा बसेर पढ्न बाध्य भएका छन । चन्दननाथ नगरपालिका– ५मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षासम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन् ।  

जुम्ला सदरमुकाम खलंगास्थित गुरुकुल पाठशालाकी  कक्षा ३ मा अध्ययनरत छात्रा नविना अधिकारीले कक्षा कोठा अभाव भएको बताइन्  । उनले  भनिन्, ‘५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्ने गरेका छौँ ।’ उनलाई विद्यालय जाँदा सधैं कहाँ बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ ।  

‘एउटै कोठामा कोचिएर ५ वटा कक्षाका विद्यार्थी बस्नुपर्छ,’ उनले भनिन्, ‘शिक्षक पनि एउटै हुनुहुन्छ, सबै विषय उहाँबाटै पढ्दा बुझ्न पनि समस्या भएको छ ।’ पाठशालामा नेपाली र संस्कृत दुईवटै भाषाबाट पढाइ हुन्छ । सरकारले एक जनाबाहेक अन्य शिक्षकको व्यवस्थापन नगर्दा गुरुकुलमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ कक्षासम्मका ३० विद्यार्थीको पठनपाठनमा समस्यामा भएको हो । 

चन्दननाथ मन्दिरको एक कोठामा गुरुकुल शिक्षा पठनपाठन भइरहेको छ । २०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माणदेखि शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको अभिभावक रमानन्द आचार्यले बताए ।  उनले भने, ‘चन्दननाथ नगरपालिकाले हरेक वर्ष पाठशालालाई व्यवस्थापन खर्चबापत २ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ  ।

नगरपालिकाको ‘सानो बजेट कहाँकहाँ पु¥याउनु ?,’ प्रधानाध्यापक विश्वराज उपाध्यायले भने, ‘पाठशाला दक्ष पुरोहित जन्माउन खोलिएको हो । तर, भौतिक संरचना र शिक्षक अभावले आफैंमा अस्तव्यस्त छ ।’

उनले भने जुम्लामा पाठशाला खोलिएपछि संस्कृत भाषा पढ्न विद्यार्थी त इच्छुक देखिएको बताए । तर, विद्यालयको वातावरण निकै अस्तव्यस्त बनेको उनको भनाइछ ।  ‘न खेलमैदान छ, न त पठनपाठनको राम्रो वातावरण नै,’ उनले भने, ‘प्रशासनिक कामकाज र कक्षा सञ्चालन एउटै कोठाबाट गरिरहेको छु । शौचालय र खानेपानीको सुविधा भए पनि विद्यार्थीका लागि उचित फर्निचरको प्रबन्ध छैन ।’

अहिले विद्यार्थीहरू कार्पेटमा बसेर पठनपाठन गरिरहेका छन् । कक्षा १ देखि कक्षा ५ सम्म १४ छात्रा र १६ छात्र छन् । पछिल्लो समय छात्रभन्दा छात्राले ध्यानपूर्वक संस्कृत विषय पढ्न थालेको उनले बताए  । ‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ, सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो, तर कक्षाकोठा र शिक्षक दरबन्दी दिन सकेन,’ उनले भने ।

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  ११ : ३९ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।