नेकपा मालेका महासचिव सीपी मैनालीले केपी शार्मा ओलीले गरेको संसद विघटन प्रतिगमन नभएर तत्कालीन नेकपाको बहुमत पक्षले गरेको निषेधबाट बाँच्नका लागि चालिएको बाध्यात्मक कदम रहेको बताएका छन् ।
तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले गठबन्धनको छाता ओढेर नेपाली कांग्रेसको बहुमत सरकार बनाउने र असार ६ गते रोकेको एसपीपी अर्को नाममा आउने सुनिश्चित रहेको दाबी गरे । उनले देशलाई जोगाउने हो भने ओलीले नेतृत्व गर्नुपर्ने बताए ।
उनले प्रचण्ड माधव नेपालहरुले विदेशी गुहारेर परमादेशबाट गठबन्धनको प्रधानमन्त्री बनाएको आरोप समेत लगाए ।
मैनालीले भने–पुस ५ गतेको संसद विघटन प्रतिगमन थिएन । पार्टीभित्र जुन ढंगले अन्तरविरोध हल गर्ने सन्दर्भमा बहूमतले अल्पमतलाई १९ पन्ने अभियोगबाट निषेध गर्न खोज्यो, त्यसबाट बाँच्ने क्रममा संसद विघटन भएको हो । उनीहरुले त्यसलाई प्रतिगमन भनेर जुलुस निकाले । विदेशी गुहारे, बाह्य देउताले सुने र सर्वोच्चबाट परमादेश भयो ।
मैनालीले सत्तारूढ पाँचदलीय गठबन्धनको उद्देश्य पूरा हुन नपाउने भन्दै दुषित गठबन्धन सफल भएमा मुलुक असफल हुने दाबी गरे ।
‘अहिले एउटा चर्चित गठबन्धन छ । आफूलाई बामलोकतान्त्रिक गठबन्धन भन्छ, अरु केही बामलाई त्यहाँ निषेध गरिन्छ,’ उनले भने, ‘त्यो गठबन्धनका प्रमुख एक अगुवा मित्रले भन्नुहुन्छ– हामी दोस्रो पार्टी बन्छौं । पहिलो को बन्छ भन्दा नेपाली कांग्रेस ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरी उनले यस्तो अभिव्यक्ति दिएका हुन् । कांग्रेसलाई पहिलो पार्टी बनाउन गठबन्धन गरिएको उनले दाबी गरे ।
मैनालीले गठबन्धनका नेता लाज पचाएर लम्पसारवादी भइसकेको भन्दै देश जोगाउन एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।




















प्रतिक्रिया