काठमाडौं । तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व नेपालभर नै मनाइन्छ भने भारतका केही ठाउँमा पनि मनाइन्छ । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्रीपार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकै दिनलाई हरितालिका तिजका रुपमा आजसम्म हिन्दु नारीहरूले मनाउँदै आएका छन् ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेलीलाई घरमाबोलाएर मीठा–मीठा परिकार ख्वाउँछन् भने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइ घरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइ घरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहित महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रत कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेषमहत्वकासाथ दर खाने गरिन्छ ।
यी त भए तीज लाई सम्झने कुरा । अब सोचौँ कि हामीले हाम्रो बाल्यकालमा देखेको तीज र अहिले देख्दै गरेको तीजको आयतन उस्तै छ ? के हामीले उस्तै तीज देखिरहेका छौँ ? हिजोआज सहर बजार, गाउँघरमा अझै भनौं विदेशमा पनि तीज एक महत्त्वपूर्ण पर्वको रूपमा मनाइँन्छ । तीज आउनु भन्दा लगभग एक महिना अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ । गीत सीडी र क्यासेट तयार गर्ने काम त अझै तीज आउनुभन्दा दुई तीन महिना अगाडि नै सुरु हुन्छ ।
तर हिजोआज सामाजिक जनजीवनमा तीजले नकरात्मक प्रभाव बढी जमाएको देखिन्छ । पार्टीप्यालेस, घर, टोल र सडक तीजमय त हुन्छ । तर दिदीबहिनीहरू मंहगा पहिरन र गहनामा सजिएर दर खान हिँडने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हाबी भएको प्रष्ट देखिएको छ । हिजोआज तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका र गम्भीर लय तथा भाव भएका गीतहरू सुनिन छोडेका छन् ।
वास्तवमा हामीले हाम्रै संस्कृतिमाथि धावा बोलिरहेका छाैं । स्वदेशीभन्दा विदेशी संस्कृतिले धेरै प्रभाव पारेको देखिन्छ । जस्मा तीजको गीतहरुमा छोटो कपडा लगाउने, छाडा शब्दको प्रयोग गर्ने जस्ता क्रियाकलापले गर्दा आफ्नो परिवारको अगाडि बसेर हेर्न र सुन्न पनि लाज लाग्दो हुने स्थिति सिर्जना भएको देखिन्छ ।
हिजो आज यस्तै गीत बजारमा छ्यापछ्याप्ती रहेका छन् । गीतकार शिव हमालद्वारा लिखित पापाकी परी बोलको गीतमा यस्तै शब्द समेटिएका छन् । जस्तो “के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अन्जान साथी” यस्ता बोल भएका गीतले समाजमा कस्तो सन्देश दिन्छ ? अहिले युटुबको चलनले पनि तीजको गीतमा मौलिकता हराउँदै गएको हो भन्न सकिन्छ । भ्युजको लोभमा गीतकारले सीमा नाघेपछि पनि यसो हुन थालेको हो कि भन्ने भान हुन्छ ।
गतवर्ष सामाजिक सञ्जालमा असाध्यै चर्चित बनेको “सोचे झैँ जिन्दगी रैनछ” बोलको गीतको युट्युबमा १ करोड ६० लाखभ्यूज छ भने “चिटिक्कै भाछु रे”बोलको गीतलाई डेढ करोडले हेरेका छन् । परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तीजका गीत पछिल्ला समय पुरुषले पनि गाउन थालेका छन् । दुर्गेश थापाले दुई वर्षअघि गाएको “हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा”बोलको गीत डेढ करोडले हेरेका छन् । तीजका गीत सामाजिक सञ्जाल मात्रै नभई २०५७/०५८ तिरबाट व्यावसायिक हुन थालेपछि गीतमा विकृति पनि आउन थालेको लोकगायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा बताउँछन् ।
समयसँगै आएको विकासको, चेतनाको विषयलाई तीज गीतमा समेट्नुको साटो सस्तो हास्यव्यंग्य सिर्जना गर्न कलाकारहरू हौसिएको पुराना पुस्ताका राम्रा मानिएका गायक–गायिकाको टिप्पणी छ । श्रीमान् श्रीमती, प्रेमीप्रेमिकाको विषयमा बनेका अधिकांश तीज गीतले सम्बन्धको खिल्ली उडाएका छन् । जाँडरक्सी, गहना, पहिरन जस्ता विषयमा हलुका गीतहरू बनेका छन् । ‘रक्सी खार झ्याप’, ‘मेरा भेना लाहुरे’, ‘नाच्दानाच्दै लभ पर्यो झन्डै उडाइयो’, ‘पोइला जान पाम’ जस्ता गीतले तीजलाई कहाँनिर समेटेका छन् ? प्रश्न उठ्नु अस्वाभाविक होइन ।





















प्रतिक्रिया