सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति घोषणाका सन्दर्भमा कुरा गर्न खोज्दा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग संवाद हुन नसकेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई फोन गर्दा सम्पर्क हुन नसकेको दाबी गरेका हुन् ।
“प्रधानमन्त्रीज्यूले क्याबिनेट सुरु हुनुभन्दा अघि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीसँग फोन गर्नलाई कोसिस गर्नुभएको थियो । त्यसमा म पनि उपस्थित छु । त्यसबेला संवाद हुन सकेन,” उनले भने ।
मंसिर ४ गते हुने प्रनिधि सभा र प्रदेशसभाको निर्वाचन हुने कुरा अपेक्षित भएको उनको भनाइ छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेको थियो । निर्वाचन मिति घोषणा गर्दा सरकारले छलफल नै नगरेको एमाले नेताहरु बताउँछन् ।
नेकपा एमालेका कतिपय नेताले चुनाव घोषणाअघि सम्पर्क नगरिएको भन्दै गुनासो गरेका थिए ।
‘मन्त्रिपरिषद् बैठकमा छिर्नुअघि प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका नेतालाई सम्पर्क गर्न कोसिस गर्नुभएको थियो, तर सम्पर्क हुन सकेन’ कार्कीले भने । ओलीले चुनावको मिति घोषणा हुनु स्वभाविक भनेर प्रतिक्रिया दिइसकेका छन् ।




















प्रतिक्रिया