Logo

राजनीति

नयाँ पार्टीको पहिलो बैठकमा बाबुरामले भने– हामीले फेरि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेका छौं



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको बताएका छन् । जनता समाजवादी पार्टी छाडेर नयाँ पार्टी गठन गरेका उनले नेपालको राजनीतिमा आफूहरुले दुई/तीनवटा प्रयोग गरेको, तर यसले मात्र परिणाम दिन नसकेपनि फेरि अर्को प्रयोगमा अघि बढेको बताएका छन् ।

ललितपुरको बालकुमारीमा शनिवारदेखि सुरु भएकाे नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने धारणा राखे ।

‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबट गुज्रेर मात्र पुष्टि हुन्छ । दुई/तीनवटा प्रयोग त हामीले गर्‍यौं, तर त्यसले मात्र हामीले खोजेको जस्तो परिणाम दिइराखेको छैन । हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ’, भट्टराईले भने, ‘यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौं । हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ । तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ ।’

डा. भट्टराईले आफ्नो लागि सत्ता सबैथोक नभएको पनि बताएका छन् । ‘निर्वाचनमा मुखमा आएको छ । नयाँ दलले अपेक्षित परिणाम ल्याउने वा नल्याउने विषय छ,’ बैठकमा सम्बोधन गर्दै भट्टराईले भने, ‘हामीले निर्वाचनलाई एउटा साधनको रुपमा लिन्छौं। हाम्रो निम्ति सत्ता सबैथोक होइन । हाम्रो लागि सडक, सदन र सरकारबाट विभिन्न प्रकृतिको संघर्ष गरेर नेपाली समाजको बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्ने मान्यता छ।’ पुरानै बाटोमा हिँड्न खोजेकाहरूले परिवर्तनको बाटो रोज्न नखोजेको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार १४:५९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।