Logo

प्रमुख समाचार

प्रचण्ड-माधवलाई डा.रावलले भने- अब नेपाङ्ग्रेस जिन्दावादको नारा लाउने हो ?



प्रमुख प्रतिपक्षदल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको टिप्पणी गरेका छन् ।

उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने बताउँदै गठबन्धन गरे संविधानविपरित हुने बताएका हुन् ।

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै डा. रावलले यो गठबन्धन नेपालको संविधानका धारा २७९ को विपरीत रहेको दाबीसमेत गरे । उनले सिद्धान्त र कार्यक्रम केही नमिल्ने दलहरूबीचको गठबन्धन आदर्शविहीन रहेको टिप्पणी समेत गरे । उनले प्रचण्ड(माधवप्रति कटाक्ष गर्दै कम्युनिष्ट भन्नेहरू कांग्रेसलाई चुनाव जिताउन पाएर दंग परिरहेको बताए ।

रावलले भने, ‘जसको कुनै सिद्धान्त, कार्यक्रम मिल्दैन तिनीहरूबीचको गठबन्धन गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन हो । कोही संघीयताका विरोधी छन्, कोही संघीयताका जननी छन् यस्ताको स्वार्थ कसरी मिल्यो ? उनीहरूको नारा के हो ? नेपाङ्ग्रेस जिन्दावाद भन्ने नारा लाग्छ ?

रावलले अहिले काठमाडौंमा फोहोरको डंगुर लागेको उल्लेख गर्दै सरकारले भने यतातर्फ कुनै चासो नदेखाएको आरोप लगाए ।

उनले भने,‘अहिले काठमाडौंमा फोहोरको डंगुर लागेको छ, यो सरकारको राजनीतिको फोहोरको डंगुरको प्रतिकात्मक स्थिति हो जस्तो लाग्छ । ०४८ सालमा कांग्रेसले बहुमत ल्याएको थियो । ०५१ को मध्यावधि निर्वाचनमा काठमाडौं फोहोरको डंगुर भएको थियो ।

अहिले पनि चुनाव आउँदैछ । काठमाडौं फोहोरको डंगुरमा परिणत भएको छ । सरकारको काम भनेको जनताको यस्ता कुरातर्फ ध्यान दिनुपर्छ । तर, यो सरकारलाई कुनै लाज र घीन छैन् । सरकारले आफ्नो दायित्वको बोध नै गर्दैन् । पाँच दलीय गठबन्धनमा पनि एउटाले भन्छ–संघीयता चाहिँदैन् ।

अर्कोले संघीयता नभई हुँदैन भनेको छ । दलहरु त आ–आफ्नो सिद्धान्तमा हिँड्नुपर्छ । चुनावमा पनि आफ्नो नीति, कार्यक्रम र सिद्धान्त लिएर जाने हो नि, यदि कसैले बहुमत ल्याएन भने समान धारणा भएकाहरुले मिलेर संयुक्त सरकार बनाउने हो ।’

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ३ : २८ बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।