काठमाडौं । नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग समयमै अगाडि बढ्न नसक्नुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै जिम्मेवार भएको आरोप लगाएको छ । प्रतिनिधिसभामा महाअभियोगमाथि आइतबार छलफल सुरु भएको छ । उक्त छलफलमा भाग लिँदै एमाले सांसदहरुले समयमै किन अगाडि नबढाएको, करिब ६ महिना के हेरेर बसेको भनी सत्ता पक्षलाई प्रश्न गरे पछि जवाफमा कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले यसमा एमाले नै जिम्मेवार भएको बताएका छन् ।
‘विलम्ब भयो । यसको कारण हो– संसदले ९ महिनासम्म अवरोध झेल्नु’, उनले भने । संसदको अवरोध खुलेपछि संसदको ध्यान बजेटमा केन्द्रित भएको उल्लेख गर्दै अनुकुल समयमा महाअभियोग अगाडि बढेको उनले दाबी गरे । ‘सिफारिस समिति बनेको छ । फेरि पनि सिफारिस समितिमा छलफल हुन्छ । विकृति, विसंगतिको चाङमा उभिएका चोलेन्द्रविरुद्धको महाअभियोग पारित गरिनुपर्छ’ विश्वकर्माले भने ।
उनले प्रधानन्यायाधीशले पद अनुसारको आचरण गर्न नसकेको, विवादित र अन्यायपूर्ण फैसला गरेको भनी कानुन व्यवसायी, न्यायाधीश र पूर्व न्यायाधीशले आन्दोलन गरेको र सांसद र नेताहरुमाथि प्रश्न उठेको बताए । डेढ वर्षअघि जबराविरुद्ध आन्दोलन चलिरहँदा न्याय माग्न जानेहरु बाटैबाट फर्किएको उल्लेख गर्दै विश्वकर्माले भने, ‘न्याय माग्न जानेहरु सर्वोच्चको गेटबाटै फर्किन्थे । त्यो बेला हामी सबै एकै ठाउँ थियौं । त्यसबेला हामी प्रतिपक्षमा थियौं । अहिले सत्तापक्षमा छौं । यसकारण यो महाअभियोग प्रस्ताव सबैको प्रस्ताव हो ।’




















प्रतिक्रिया