काठमाडौं । सत्ता गठबन्धनको दल राष्ट्रिय जनमोर्चाले राजावादीहरुको उद्देश्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगामी’ राजनीतिले मद्दत गरिरहेको आरोप लगाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय चुनावको मिति घोषणा भएपछिको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै हिन्दू राज्य र राजतन्त्र ‘पुनर्स्थापना’ गर्ने राजावादीहरुको उद्देश्यलाई ओलीको ‘प्रतिगामी’ राजनीतिले मद्दत गरिरहेको ठहर गरेका हुन् ।
एमालेले धर्माका साथै ‘राष्ट्रियता’लाई पनि चुनावी मुद्दा बनाएर चुनाव लड्ने नीति लिएको विषय सार्वजनिक भएको उल्लेख गर्दै केसीले भनेका छन्, ‘ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकोले राजावादीहरूले त्यसलाई समर्थन गर्न थालेका छन् । राजावादीहरूको राजतन्त्र र हिन्दू राज्य स्थापना गर्ने उद्देश्यलाई भारतका कट्टर हिन्दूवादी शासकहरूले पनि समर्थन जनाउँदै आएका छन्।’
एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा स्पष्ट भइसकेको केसीको भनाइ छ । ‘एमसीसी र नागरिकता विधेयकमा एमालेको पूरा समर्थन रहेकोले नै ती दुवै कुरा संसदबाट पारित हुँदा त्यसले कुनै भूमिका खेलेको थिएन वा संसदमा मौन रहेको थियो’, केसीले भनेका छन्, ‘लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा सामेल गरी चुच्चे नक्सा पारित गर्नका लागि देशमा पहिलेदेखि नै संघर्ष र आन्दोलन हुँदै आएका थिए । जनताको दवाबका कारणले आफ्नो सरकार भएको बेलामा ओली त्यो चुच्चे नक्सा पारित गर्न बाध्य भएको भए पनि उक्त चुच्चे नक्सा सामेल गरिएको पाठ्यक्रम प्रकाशन गर्न लगाएको रोकबाट एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा प्रष्ट छ ।’
अहिले गठबन्धनका दलहरुसँग आफूहरुको गम्भीर मतभेद रहेको भए पनि प्रतिगमनलाई परास्त गर्न आफूहरु एकै ठाउँमा उभिएको केसीको भनाइ छ। ‘हामीले अहिले चुनावी तालमेल गरेका पक्षहरूसित हाम्रा गम्भीर मतभेद रहेको कुरा स्पष्ट गर्दै आएका छौँ’, उनले भनेका छन्, ‘संघीयता, एमसीसी, नागरिकता विधेयकमा हाम्रा बीचमा मतभेद छन् । तर पनि प्रतिगमनको विषयमा उनीहरूसँग हाम्रो सहकार्य हुँदै आएको छ।’




















प्रतिक्रिया