हेलो, व्यूहकविताका क्रिएटर !
तपाईंको व्यूहकविताको दोस्रो सर्कोको शैली चोरेर, तपाईंसँगै केही कुरा गर्न आएको छु । मेरो दिमाग खाइरहेको एउटा प्रश्नबाट सुरू गर्छु । म पनि आफूलाई एउटा सानोतिनो सर्जकै पो मान्छु त । सिर्जनामा आविष्कार गर्नुपर्छ भन्ने पनि विश्वास गर्छु । तर, शब्दहरूको चाङ थुपारिरहँदा, आविष्कार कता बत्तिन्छ कता । अन्त्यमा, भुसखातमा उभिएको पाउँछु आफैँलाई ।
तर तपाईं? जुन कृतिमा, वा जुन सिर्जनामा पढे पनि केही न केही अविष्कारसहित भेटिनुहुन्छ । मैले तपाईंलाई यसअघि ‘गोपाल पराजुली’ को नाउँमा थुप्रै ठाउँ भेटेको हुँः कथामा, काव्यमा, नाटकमा, सम्पादकीयहरूमा । जता भेटे पनि तपाईं अविष्कारक हो । खे खाँदा यस्तो होइन्छ? त्यो गोप्य कुरा थाहा पाउन सकिँदैन? थाहा पाए सिको गरिन्थ्यो । थाहा नपाउँदा इष्र्या मात्रै त गर्ने होला हामीले ।
गोपाल पराजुलीको उमेर निकै माथि पुग्यो, अब अविष्कार गर्न सक्नुहुन्न होला, पुरानै प्रयोगशीलतालाई तन्काउनुहुन्छ होला भन्दाभन्दै पनि, एक वर्षअगाडि हो क्यार, कहिल्यै कतै नाम नसुनुनिएको ‘व्यूहकविता’ बजारमा आयो — मृत्युपारिको गीत । फेरि केही समयपछि अर्को तयार भेटियो— ‘एउटा गीतको प्रतीक्षा’ । भन्न त म आफूलाई समालोचनाको विद्यार्थी भन्छु, तर मैले कहिल्यै थाहा नपाएको यो व्यूहकविता, कुनै तिलस्मी आविष्कारभन्दा कम लागेन मलाई । अध्ययन गर्दै जाँदा थाहा पाएँ— छुट्टाछुट्टै हेर्दा वा पढ्दा छुट्टाछुट्टै लाग्ने, तर शृङ्खलामा पढ्दा विषयगत रूपमा जोडिएकाजस्ता लाग्ने कविता रहेछन् व्यूहकविता । अझ थपौँ, जन्म–जीवन–मृत्यु को चक्रमा बाँधिएका ध्यानकविता ।
मेरा लागि यो ज्ञान एउटा चामत्कारिक ज्ञान नै भयो । इपिफेनी ।
यो दोस्रो र आसन्न व्यूहकविताकृति ‘एउटा गीतको प्रतीक्षा’ का बारेमा केही भन्न यहाँ आएको छु । आधार — यसको पाण्डुलिपि पढेको हुनाले ।
गोपाल पराजुलीका पछिल्ला केही कृतिमा विषयगत र शैलीगत एकरूपता छ । विषयमा, उनी विश्वशान्तिको पक्ष र युद्धको विपक्षमा निरन्तर लेखिरहेका छन् । शैलीमा, गद्य कविता, आफ्नै शैलीका ‘अव्याकरिणक’ वाक्य विन्यास, रनअन लाइन, र छोटा, अति थोरै शब्दका हरफ उनको पेटेन्ट शैली हो । यी दुवै कुरालाई पनि एउटा निरन्तरताको रूपमा पढ्नु जरुरी छ । यहाँ उल्लेख गरिएका दुवै व्यूहकविता सङ्कलनमा उनका यी विषयगत र शैलीगत विशेषता पुनः मुखरित भएर आएका छन् ।
‘एउटा गीतको प्रतीक्षा’ लाई बुझ्न एउटा सूत्र बनाऔँ, यसैभित्रका कवितामा उभिएर । एकातिर ‘क’ वर्गका विम्ब छन्— क्रिएटर, शब्द, आवाज, गीत, आमा, छोरा, छोरी, बुद्ध, ट्रान्स्ट्रमर, भगवान्, देश । अर्कातिर ‘ख’ वर्गका विम्ब छन्— मृत्यु, युद्ध, न्युक्लियर, अस्त्रशस्त्र, कोभिड आदि । यी दुई समूहका कुरालाई आमने–सामने राखेर हेर्दा स्वतः बुझिन्छ ‘एउटा गीतको प्रतिक्षा’ को भावभूमि । वर्ग ‘क’ का विम्बहरूको पारस्परिक विनिमयबाट एउटा कुरा स्थापित भएर आउँछ । सो के भने, जुनै कारणबाट आएको किन नहोस्, मृत्युले सिर्जना र प्रेमको शाश्वत आवाजलाई मार्न सक्दै सक्दैन । क्रिएटरको सिर्जना, शब्दको शाश्वतता, आवाजको अविछिन्न सङ्गीत, गीतको कालजयिता, आमाको ममता, छोरा–छोरीको सपना, बुद्धको शान्ति–सन्देश, ट्रान्स्ट्रमर र उनीजस्ता कविहरूका अमर सिर्जना, भगवानको सृष्टि, र देशको वैभव ।
यिनलाई मृत्युले के गर्नु र?
र ‘ख’ वर्गमा छन् मृत्यु, र मृत्युकै संवाहक वा द्योतक — युद्ध, न्युक्लियर हतियार, अस्त्रशस्त्र, कोभिड आदि माहामारी र अन्य धेरै विषयहरू, जो धरतीभरि मृत्यु पोखेर जान चाहन्छन् ।
यी दुई वर्गको द्वन्द्व यस सङ्ग्रहको कथानक हो, र ‘क’ वर्गको जीत यसको समग्र थिम हो ।
कथानकमा छिरौँ । मृत अवस्थामा एउटी आमाको लास छ । छोरो छ, छोरी छन् नजिकै । बाबुको अत्तोपत्तो छैन । आमाको सदगति भएको छैन । हुनु पनि छैन । छोराछोरी उनको अन्त्येष्टि होइन, जीवनमा वापसी चाहन्छन् । बीचमा ‘ख’ वर्गका विम्बहरूको जुलुस छ । नजिकै आर्यघाट छ, प्रतीक्षारत । तर, छोराछोरी एउटा यस्तो अन्तिम गीतको प्रतीक्षामा छन्, जो मृत्युन्जय होस् । त्यो गीत, क्रिएटरसँग छ । त्यो गीत भगवान्सँग पनि छ, यद्यपि अहिले भगवान् मूक दर्शक बनेको छ, युद्धवीरहरूको अघिल्तिर । त्यो गीत ट्रान्स्ट्रोमरसँग छ । त्यो गीत सृष्टिको आदिम नाद हो, जसबाटै त जन्मन्छ अमरत्व । जसमा मृत्युलाई परास्त गर्ने शक्ति हुन्छ । कुरा यत्ति हो, त्यो नाद अहिले युद्धको होहल्ला, क्षेप्यास्त्रहरूको गर्जन, ईश्वरको मृत्यको घोष्णा, कोभिडले बन्दी बनेको मानवचेतना अथवा राजनीतिको फोहोरी खेलमा मदमस्त मानिसहरूको कर्कश ध्वनिमा कतै हराएको छ । छोपिएको छ । मधुरो तुल्याइएको छ ।
त्यो गीतलाई, त्यस ईश्वरीय आवाजलाई, त्यस शाश्वत निनादलाई कसरी पुनः सुनिने बनाउन सकिन्छ? तर त्यसको बलमा कसरी मृत्युलाई परास्त गर्न सकिन्छ? कसरी मृत भनिएकी आमालाई पुनः जगाउन सकिन्छ? ती आमा, यानि देश वा जगत – पुनः उठ्नु त छ नै । तर, त्यो सूत्र कसरी पत्ता लगाउन सकिन्छ?
कवि पराजुलीको दृष्टिमा त्यो अचुक सञ्जीवनी कि क्रिएटरसँग छ, कि कविहरूसँग छ । क्रिएरटलाई ईश्वर भनेर बुझ्ने हो भने ऊ विवादमा छ । नित्सेहरू मर्यो भन्छन् । मान्नेहरूको भिड उस्तै । किंकर्तव्यविमूढ देखिन्छ क्रिएटर । तर गोपाल पराजुलीलाई गोप्य कुरा थाहा छ — ऊ मेरेको छैन । उसलाई आकाशमा, मठमन्दिरमा वा मूर्तिमा खोज्ने होइन । उसलाई मान्छेभित्र खोज्नुपर्छ, र त्यहीँ ‘लोकेट’ गर्नुपर्छ ।
अलिकति कविताभित्रै पसेर हेरौँ । सन्दर्भ हो — आमा बच्चा खोजिरहिछ । पाँच वर्षको बालक चिच्याउँदै म मर्न चाहन्न भनिरहेछ । यही हो ।
आमा — सृष्टि, सिर्जना, ममता, जीवन, प्राण ।
बालक — निर्दोष वर्तमान । मानवताको भविष्य ।
मृत्यु — आज, समयले दिनसक्ने सबैभन्दा सस्तो र निश्चित उपहार ।
यी तीनको द्वन्द्व । यो एउटा पाठ । एउटा व्योम । व्यूह ।
यहाँ अस्त्र छन्, कति हो कति । क्रुज । न्युक्लियर । केमिकल । कोही मान्छे मार्छन् । कोही प्रेम । ‘आवाज बज्दैन अहिले । घडीमा । अस्त्र बज्छ ।’
एउटा अचुक अस्त्र चाहिएको छ, यिनलाई निरस्त गरेर मान्छे बचाउन । प्रेम बचाउन । संसार र सृष्टि बचाउन ।
कविको ध्यान र उच्च चेतनाले भनेको छ — त्यो अचुक सञ्जीवनी एउटा आवाजमा छ । त्यो आवाज ओम् हो । शब्द हो । सिर्जना हो । गीत हो । सङ्गीत हो ।
किन चाहिएको छ त्यो शब्द? त्यो सङ्गीत?
समय खराब छ । ‘मान्छे अहिले यो, आफ्नै लासको छाया लिएर बसेको छ ।’
‘सूर्य आकाशमा आफ्नो नाम जलाउँदै हिँडेको छ ।’
‘जाँदैछ टाढा शब्द, नछुन इतिहास आमा मरेको ।’
‘आर्यघाट समय बिताउँदैछ लास हेरेर ।’
‘जब धर्म चुप लाग्छ / दोष लाग्छ निर्दोषलाई ।’
‘जम्मा गर्दैछ रात अँध्यारो ।’
‘मृत्यु शरीरको एक भाग लिएर आर्यघाट गएको छ ।’
‘मृत्यु संसारलाई मारेर पनि खुसी छैन ।’
‘सुई छैन न्याय गर्नेको घडीमा ।’
‘आफ्नै हत्यारालाई चिनेको छैन इतिहासले ।’
‘सबै लुगा लगाएको छ भाषण गर्नेले / र फुकालेको छ / निर्मलाको अगाडि ।’
‘मेट्दैछ निधारको टीका / देश फोहोर पानीमा ।’
‘मान्छेको शत्रु हर दिन / मान्छेको एउटा गीत चोर्छ ।’
यो वर्तमानको चित्र । यो देश । यो परदेश । यो धरती । संसार ।
यस्तोमा सबैभन्दा सस्तो र सर्वशुलभ भनेको मृत्यु हो । सर्वत्र छ, युद्ध मैदानदेखि घरका चोटाकोठासम्म । तर, अति सस्तो मूल्यमा स्खलित भएको मृत्युलाई रोक्नुपर्छ भन्ने हेक्का कसैलाई पनि छैन । न सरकारलाई छ, न युएनओलाई । न ठूला भनिएका मुलुकलाई । न कसैलाई । न कसैलाई ।
त्यसैले त, माटो निर्दोश हुँदाहुँदै पनि कतिपय देश आज आएर त्रासको, युद्धको र विध्वंशको पर्याय बन्न पुगेका छन् । कवि गोपाल पराजुलीले पनि उल्लेख गर्नुभएको छ केही देश— सिरिया, प्यालेस्टाइन, इजरायल, इराक, यमन, कोलम्बिया, भेनेजुएला, म्यान्मार, कोङ्गो, श्रीलङ्का, सुडान, उत्तर कोरिया…र परोक्ष रूपमा नेपाल पनि । सूचीमा नाम थप्दै जान सकिन्छ । केही अपवाद होलन्, तर कुनै न कुनै अभियोगमा प्रायः सबै देशका नाम यहाँ अटाउनु निश्चित छ ।
यस्तोमा, शान्तिको, बुद्धको, आमाको, बालकको र समग्रतामा निर्दोषिताको रक्षार्थ एउटा कविले, एउटा कलाकारले वा सर्जकले के गर्न सक्छ? अहम प्रश्न यो ।
एउटा कविसँग बन्दुक वा बम हुँदैन । ऊसँग सम्पत्तिको उरुङ पनि हुँदैन । सत्ता–शक्ति हुँदैन । ऊसँग कुनै भौतिक वा मूर्त उपकरण हुँदैन, जसले यी भयाभव युद्ध रोक्न सकोस् । हिंसा रोक्न सकोस् । व्यथिति रोक्न सकोस् । आमाहरूको अवासन रोक्न सकोस् । बालकहरूको बिचल्ली रोक्न सकोस् ।
तर, कविसँग कलम हुन्छ, र कलमबाट शब्दवर्षा हुन सक्छ । ती शब्दहरू कला हुन्, सिर्जना हुन्, सङ्गीत हुन्, सूक्ति हुन् । तिनले युद्ध रोक्न सक्छन् भन्ने कविको विश्वास छ । तिनले मृत्युलाई जित्न सक्छन् भन्ने उनको भरोसा छ । तिनले सृष्टिको प्रवाहलाई अविछिन्न राख्न सक्छन् भन्ने कुरामा उनको अटूट आस्था छ ।
त्यसैले, उनी एउटा यस्तो गीतको प्रतिक्षामा छन्, जो आजको धरतीको कवच कुण्डल बनोस् । सुरक्षा बनोस् ।
के गर्छ त्यस्तो एउटा गीतले?
भन्न त अगाडि पनि भने सर्जकहरू, यस्तै केही ।
मेथ्यू आर्नोल्डलाई लागेकै हो — हाम्रो सभ्यताको भविष्य भनेको कवितामा छ ।
यो संस्कृतिको संरक्षणको सन्दर्भ भयो ।
जोन किट्सलाई लागेकै हो — सत्य नै सौन्दर्य हो । सौन्दर्य नै सत्य हो । र धरतीमा हामीले बुझ्नुपर्ने कुरा नै यही हो ।
यो कलाको विशिष्टताको बचाउ भयो ।
तर गोपाल पराजुलीको कुरा फरक छ । यहाँ प्रश्न मान्छेको सम्पूर्ण सभ्यताको संरक्षणको छ । यहाँ सबैको हितका लागि युद्धको अवसान र शान्तिको स्थापनाको कुरा छ । उनको दर्शन हो — शब्द, ध्वनि, ओमकार, गीत, कविता वा अन्य क्रिएसनमा छ त्यो शक्ति ।
यो किन? किन चाहियो शब्द? ध्वनि किन? आमा किन?
कवि पराजुलीले लिएका कारण हेरौँ ।
समयले ‘खोजेको (छ) एउटा गायक ।’
‘फूलमा दृष्टिविहीन हुँदैन आँखा / फूल हेर्दा ।’
‘भारी हुँदैन पृथ्वी / शब्द खस्दा ।’
‘देश हार्छ / ट्रन्स्ट्रमरले धर्म छोडे ।’
‘ॐ बताइरहेछ / जीत अक्षरको ।’
‘नदी चाहन्छ सुन्न आफ्नो गीत ।’
‘आमाले छोरासित गाएको गीत / गोप्य हुँदैन चराले जङ्गलसित / गाएको आवाज ।’
‘सत्य बोल्न बोलाउँछ रात सूर्यलाई ।’
‘सकिन्छ मर्ने बेलामा पानी / सकिँदैन शब्द ।’
‘भन्दैछ शब्द आमाको मृत्युको तिथि गलत छ ।’
‘शान्ति माग्नेहरू फर्केका छन् बुद्धतिर ।’
‘आमा सम्झँदा / हारेको दिनभन्दा / जितेको रात ठूलो छ ।’
‘हारेको संसार भन्दा / जितेको आमाको तस्बिर ठूलो छ ।’
‘कोही नफर्के फर्कन्छ आफ्नै आवाज ।’
र अन्त्यमा—
‘क्रिएटरको गीत भनेको
मृत्युसँग विरोध हो ।
ओ मृत्यु टेक केयर ।
टेक केयर ।’
बुझ्नुपर्ने कुरा एउटा — कला वा सिर्जनाले परास्त गर्न सक्ने मृत्यु भन्नाले भौतिक शरीरको अवसान होइन । यो मान्छेभित्रको हिंसा भावको अवसान हो । त्यो हिंसा भाव, जसले युद्ध निम्त्यायो । आमा मार्यो । बालबालिकालाई टुहुरा बनायो । अफघानिस्तामा, पति नमरेको घोषणा गर्न, कुनै महिलालाई बच्चा बेचेर ज्यान पाल्न विवश तुल्यायो ।
म ठान्छु, एउटा कवि वा सर्जकको सर्वोच्च प्राप्ति भनेको आफ्नो सिर्जनकर्मको वैशिष्ट्यलाई सबैभन्दा अर्थपूर्ण बनाउनु, र वृहत्तर मानवीय हितको साधन बनाउनु हो । कलाले कसैको झोली भर्ला नभर्ला, तर दिल करुणा, माया र ममताले भर्न सक्छ । हो, त्यति मात्रै गर्न सकियो भने युद्धहरू रोकिन्छन् । आमाहरू बाँच्छन् । बालकहरू मुस्कुराउँछन् । धरतीको र मानवताको भविष्य सुरक्षित हुन्छ ।
र ट्रन्स्ट्रोमरहरू बाँचिरहन्छन्, युद्धको विलोम बनेर ।
गोपाल पराजुलीहरू बाँच्छन्, क्रिएटरको अस्तित्वको प्रमाण बनेर ।
र हामी पाठक बाँच्छौँ शान्तिदूत बनेर ।
उठौँ, हामी पनि अब यस्तो एउटा गीतको प्रतीक्षा गरौँ, जसले हामीलाई आफ्नै आमाले जितेको संसार हेर्ने अवसर दिन्छ । त्यस्तो गीत, जसले सकिएपछि कुरान, वा कुनै धर्म शास्त्र, अन्तिम शब्दमा भगवानसँग साक्षात्कार गराइदिन्छ । जसले युद्धले मेटेको बुद्धको नाम पुनः हामीसमक्ष उद्घाटित गराइदिने छ ।
हेलो क्रिएटर, म पनि यो यात्रामा साथसाथ छु ।
















प्रतिक्रिया