Logo

राजनीति

डा. केसी र सरकार बीच भएको सहमतिमा कांग्रेसकाे स्वीकाराेक्ति



सहमतिलाई स्वागत । ‘साउनमा सहमति माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन खबरदारी जरुरी । आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा. गोविन्द के.सी. र संघीय सरकार बीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ । स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई ज्ञापन गर्दछ ।

डा. के.सी.ले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहार देखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुगेको छ । सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर  विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।

वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा. के.सी.सँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको थियो । नेपाली कांग्रेसको नेतृत्वमा रहेकोे अघिल्लो सरकारले डा. के.सी.का मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. के.सी.सँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको थियो । अतः थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुंदे सहमति ईमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउंदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ३९ बजे