काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि महाअभियोग सिफारिस समितिले अध्ययन थालेको छ । समितिको पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरू गरेको हो । समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बुधवार बसेको बैठकले कार्यविधि तयार गर्ने छ ।
१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेश भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।
समितिले अध्ययनका लागि बढीमा ३ महिनाको समय पाउने भए पनि ४ मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा कारण सिफारिस समितिले पूरै तीन महिना पाउने छैन । निर्वाचन आयोगका अनुसार २३ असोज उम्मेदवारी दर्ताको समय तोकिएकाले त्यसभन्दा अगावै महाअभियोग सिफारिस समितिको सिफारिस सहितको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएर, उक्त प्रतिवेदनमाथि छलफल भएर निर्णयार्थ पेश गरि महाअभियोगको छिनोफानो भइसक्नुपर्नेछ ।




















प्रतिक्रिया