Logo

अन्तर्वार्ता

यस पटक जित्दा पाएको लोकप्रिय मत नै यसअघि राम्राे गरेँ भन्ने प्रमाण हो : नगर प्रमुख अर्याल



संघीयताको मर्म र भावना अनुसार तीन तहको सरकार सञ्चालन नभएको धेरैले टिप्पणी गर्ने गरेका छन् । सहमति, समन्वय र सहअस्तित्व नभएकोमा एकले अर्कालाई दोष दिन थालेका छन् भने संघीयता विरोधीहरुले विभिन्न कोणबाट संघीयतामाथी प्रश्न उठाइरहेका छन् । लमजुङ जिल्लाको सदरमुकाममा अवस्थित बेसीशहर नगरपालिकामा पञ्चायती व्यवस्था देखि नै स्थानीय तहमा काम गर्दै आएका गुमान सिंह अर्याल अहिले नगर प्रमुखछन् । अर्याल नेकपा एमालेबाट निर्वाचित भएका हुन । उनले यस अगाडिको पाँच वर्ष पनि नगरप्रमुख भएर विताएका छन् । नगर प्रमुख अर्यालसँग गत पाँच वर्षको अनुभव र आगामी योजनाहरुका विषयमा अनलाइनपानाका लागि रामनाथ कुँवरले गरेको कुराकानी :

बेसीशहर नगरपालिकामा के कस्ता योजनाहरु कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
हामीले बेसीशहर नगरपालीकामा कृषि, पर्याटन र पूर्वाधारको विकास मार्फत रोजगार प्रवर्द्धन गर्ने कामहरु अगाडि बढाएका छौं । यी क्षेत्रमा नै हामीले प्रथामिकता दिएर काम गरिरहेका छौं । हामीले साउन ४ गते बैठक बसेर वर्षभरीका कार्यक्रमहरु तय गरेका छौं । सर्वे कहिलेसम्म गर्ने, उपभोक्ता समिति कहिलेसम्म गठन गर्ने, योजनाहरु कहिलेसम्म सक्ने भनेर योजनाबद्ध तरिकाले काम गर्न कार्यक्रमहरु बनाएका छौं ।

आगामी पाँच वर्षमा गर्ने योजनाहरु चाहिँ कस्ता छन् ?
हाम्रो पालिकामा ४ हजार किलोमिटर बाटो छ । त्यसको स्तरोन्नती गर्दै जाने हो । त्यसैगरी यो कार्यकालमा हामी कृषिलाई पनि आधुनिकीकरण व्यवसायिकरण, यान्त्रीकरण र वैज्ञानिकीकरण गर्दै जाने छौं । हाम्रो पालिका यर्याटकीय क्षेत्र पनि हो । यहाँ सबै धर्म, संस्कृति, जातीका मान्छे आउन मन लाग्ने बनाउँदै जाने हो । हामी लम्जुङ दरबारलाई अझै व्यवस्थित गर्दै जाने छौं । त्यसको माथि एउटा टावर बनाउँदै छौं । टावरभन्दा माथि स्तुपा बनाउँदै छौं । त्यहाँनेर पार्क पनि बनाउँदै छौं । त्यहाँ रेष्टुरेन्टहरु पनि खुल्दैछन् । यसरी हामी सबै कुराको व्यवस्थापन गर्दै जाने छौं ।

त्यसैगरी भोर्लेटार पनि पर्यटकीय क्षेत्र हो । त्यहाँबाट तल समुन्द्र जस्तो देखिन्छ । १४ वटा हिमाल एकै ठाउँबाट देखिन्छ । ती ठाउँहरुलाई हामी अझै राम्रो बनाउँदै छौं । धेरै ठाउँमा पार्कहरु बनाउँदैछौं । ८ वटा होमस्टेलाई हामीले प्रवर्द्धन गर्दैछौं । नेपालकै उत्कृष्ट काउलेवन होमस्टे हाम्रैमा छ । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका अन्य क्षेत्रमा पनि हामीले राम्रा योजनाहरु अगाडि बढाएका छौं । हामीले धेरैजसो योजनाहरु नगरपालिकाको ६० प्रतिशत र नगरवासीको ४० प्रतिशत लागतमा अगाडि बढाइरहेका छौं ।

तपाईँसँग यसअघि पनि नगरप्रमुख भएर काम गरेको अनुभव पनि छ । पहिलो कार्यकालका उपलब्धिहरुको सूची बनाउनु प¥यो भने के के अट्छन् यसमा ?
हामीले पहिलो कार्यकालमा नै नगरपालिकामा धेरै बाटोहरु पिच गरिसकेको छौं । कृषिलाई प्रवर्द्धन गरेका छौं । पालिका सरकार आउनुभन्दा अगाडि पालिकामा बाख्राका खोरहरु ३ वटा थिए, अहिले ६० पुगेका छन् । भैँसीको गोठ ४ वटा थिए, अहिले ५३ वटा पुगेको छ । हामीले ३ वटा भैँसी पाल्नेलाई पुरस्कृत गर्ने गोठ बनाइदिने गरेका थियौं । यसरी हामीले कृषिलाई व्यवसायिकरण गर्दै लगेका छौं । जजस्ले व्यवसायिक रुपमा गर्न चाहान्छ उसलाई नगरपालिकाले नै गोठ, खोर बनाइदेको हो ।

हामीले सबै वडाहरुसम्म पुग्ने बाटोहरु स्तरोन्नती गरेका छौं । पालिकाका ६ वटा वडा कार्यलय नयाँ बनाएका छौं । दुई वटा टावर बनाएका छौैंं । ४ वटा पार्क बनेका छन् । सुरुवात त धेरै भएका छन् । ९० वटा सामुदायिक भवनहरु बनेका छन् । अघिल्लो कार्यकालमा हामीले जनताले ५० प्रतिशत र हामी ५० प्रतिशतमा काम गरेको हो । त्यसो हुनाले पनि धेरै कामहरु भएका छन् । यसरी हामीले पहिलो कार्यकालमा पनि कृषि, पर्यटन, पशुपालन र पूर्वाधारका कामहरु गरिरहेका छौं । स्वास्थ्य चौकीहरु नभएका ठाउँमा २ ठाउँमा बनिसके, दुई ठाउँमा बन्दै छ । शिक्षामा पनि केही सुधार गरेका छौं । स्थानीय पाठ्यक्रम बनाएका छौं ।

स्थानीय सरकारले जनताको चाहाना अनुसार काम ग¥यो त उसोभए ?
सबैभन्दा जनताको नजिकको सरकार भनेको स्थानीय सरकार नै हो । जनतासँग केन्द्र र प्रदेश टाढा छन् । कोरोना नियन्त्रणमा पनि स्थानीय सरकारको धेरै भूमिका रह्यो र छ । यसरी हामीले धेरै कामहरु गरेका छौं । बेसीशहर नगरपालिकाको पहिलो कार्यकालबाट जनता एकदमै खुसी छन् । किनभने हामीले अघिल्लो निर्वाचनमा माओवादीसँग तालमेल गरेका थियौं । यो चुनावमा पाँच दलीय गठबन्धन विरुद्ध एक्लै लडेको हो । पहिलो निर्वाचनमा भन्दा अझै धेरै मत आयो । काम कस्तो गरियो भन्ने कुरा मतपरिणामले नै छर्लङ पार्छ ।

पालिकामा आर्थिक स्थिति कम्जोर भएकाहरुलाई पहिलो कार्यकालमा कसरी समेट्नुभएको थियो ? यो कार्यकालमा कस्ता योजना छन् ?
हामीले पहिलो कार्यकालमा नगरपालिकामा भएका १ सय ५५ वटा खरका छाना हटाएर जस्ता लगाएका छौं । नगरपालिकामा अहिले एउटा पनि खरका छाना छैनन् । अब हामी विद्युतको न्यूनतम शुल्कमात्र खपत गर्नेलाई निःशुल्क दिने भनेका छौं । खाने पानीको पनि त्यस्तै व्यवस्था गर्न तथ्याङ्क संकलन गर्दै छौं ।

बेसीशहरबाट डुम्रे र मनाङ जोड्ने सडकमा पहिरो गएको समाचार धेरै आउँछन् । त्यहाँ हाल बाढी पहिरोको अवस्था के छ ? दिगो समाधानका लागि नगरपालिकाको केही योजना छन् ?
डुमे्रबाट बेसीशहर हुँदै मनाङ जाने सडक सहायक राजमार्ग हो । त्यसमा संघ सरकारले काम गर्छ । हामीले संघ सरकारलाई पानी तर्काउन सुझाव दिँदादिँदै नमान्नाले यति क्षति भएको हो । डुमे्र—बेसीशहरको उदिपुरमा गएको पहिरोमा फेरि सडक बनाउन सम्भव छैन । हामीले त्यहाँभन्दा माथि वैकल्पिक बाटो बनाएका छौं । त्यहाँबाट ठूलो बस जाँदैन । साना गाडीहरु मात्रै जान्छन् । तल पनि बाटो छ तर ठूलो पानी पर्नासाथ मस्र्याङ्दीमा मिसिन्छ । यो सडकमा मात्रै समस्या हो । हाम्रो पालिकाका वस्तीहरुमा भने बाढी पहिरोको प्रभाव छैन । हामीले आफ्नो तर्फबाट जत्ति सक्ने गरिरहेका छौं । संघ सरकारलाई झक्झक्याइरहेका छौं ।

केन्द्र र प्रदेश सरकार परिवर्तन हुँदा चाहिँ पालिकालाई कस्तो असर पर्दोरहेछ ? विगतको अनुभव के छन् तपाईंका ?
सहकारिता, समन्वय र सहअस्तित्वको आधारमा चल्नु पर्छ भनेर हाम्रो संविधानले भनेको छ । म कानुनको विद्यार्थी पनि हुँ । कानुनी कुराहरुको धेरै—थोरै ज्ञान छ । संघ र प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गर्न सकेका छैनन् । स्थानीय तहले समन्वय गर्दा पनि ध्यान दिएको छैनन् । अघिल्लो कार्यकालमा सरकार परिवर्तन हुँदा बेसीशहर नगरपालिकालाई धेरै क्षती भएको छ । एक आर्थिक वर्षमा प्रदेश सरकारबाट २५ करोडको जत्ति बजेट आउँथ्यो । त्यो अहिले आएन । मैले एमालेबाट जितेको हो । प्रदेश सरकार कांग्रेसको छ । त्यही कारणले गर्दा प्रदेशले योजना हालेन ।

यो आर्थिक वर्षको बजेट ल्याउने बेलामा पनि प्रदेशका दश वटा जत्ति मन्त्रालयमा धाएँ । तर कुनैले पनि योजना हालेन् । मुख्यमन्त्रीले हाल्छु भन्नुभएको थियो । तर कार्यकाल सकिने बेला हुँदासम्म हाल्नुभएको छैन । संघले पनि बेसीशहरमा योजना हालेको छैन । संघ सरकारसँगको सहकार्यमा हामीले सडक पिच गरेका थियौं । अहिले ती सबै रोकिएको छ । संघ र प्रदेश सरकार परिवर्तन हुँदा यस्तो प्रभाव परेको छ । त्यसो हुनाले हामी संविधानको मर्म अनुसार चल्न सकेका छैनौं । पार्टीगत पूर्वाग्रहमा संघ र प्रदेश सरकार चलेको छ । यसमा सुधार गर्न जरुरी छ । संघीयताको मुल्य मान्यतालाई बिर्सेर सरकारहरु चलेको छ । यो गलत भइरहेको छ ।

उसोभए संघ र प्रदेश सरकारका कारण संघीयता धरापमा परेको हो ?
संघीयता मुलुकको लागि अपरिहार्य छ । म स्थानीय तहमा पाँच पटक चुनाव जितेको मान्छे हुँ । २०४३ सालमा जनपक्षीय प्रधानपञ्च हुँ । ४८ सालमा वडा अध्यक्ष भएर सभापतिको उम्मेदवार हुँ । ५४ सालको गाविस अध्यक्ष हुँ । ०७४ मा र अहिले नगर प्रमुख भएँ । मैले बेसीशहरमा १२ सय, दुई हजार बजेट आएको पनि अनुभव गरेको छु । अहिले ७५ करोडको बजेट हामीले बनाएका छौं । जेजेको आए पनि त्यसरी आएको छ । यसो हुनाले संघीयता आवश्यक छ ।

तर प्रदेश र संघमा राजनीतिक पूर्वाग्रह लिने र संघीयताको मर्मलाई नबुझ्नेहरु भएकोले यसको अभ्यास जटिल बनेको छ । निजी स्वार्थ र पार्टीको हितका लागि काम गर्ने प्रवृत्ति हटाएर संघीयतालाई अझै बलियो बनाउन जरुरी छ । मन्त्रालय बढाउने जस्ता कुरामा नियन्त्रण गर्न जरुरी छ । ऐन, कानुनहरु विधिवत रुपमा पालना हुन प¥यो । पार्टीगत स्वार्थ हटाएर पालिका—पालिकाबीचमा र जिल्लाहरुको बिचमा समन्वय गर्न पनि प्रदेश सरकारको आवश्यक्ता हुन्छ । केन्द्रबाट अधिकारको प्रत्यायोजन गरेर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाएर लैजान आवश्यक छ ।

पालिका सरकारले पनि समान हिसाबले काम नगरेको गुनासोहरु आएका छन् नि ?
हाम्रो पालिकामा त्यस्तो छैन । सबै वडामा, सबै टोलमा विकास समान रुपमा गरिएको छ । हामी पालिकाको सबै काम सर्वसहमतिबाट गर्छौं । पक्षपात गर्दैनौं । त्यस्तो नगरेको हुनाले नै मलाई जनताले फेरि जिताएका हुन् ।

स्थानीय तहमा भ्रष्टचार भयो भन्ने समाचारहरु प्रशस्तै आउँछन् । यसमा तपाईँको प्रतिक्रिया के छ ?
स्थानीय तहमा भष्टचार नहुन पालिका प्रमुख नै भ्रष्ट हुनु हुँदैन । पैसाको लोभ गर्नेहरुले राजनीति गर्न हुँदैन । जागिर खान जानुपर्छ । हामीले पहिलो कार्यकालमा पनि एक पैसा भ्रष्टचार गरेको छैनौं । बेसीशहर नगरपालिकामा यहाँनेर भ्रष्टचार भयो भनेर कहीँ देखाउने ठाउँ छैन । हामीले त्यस्तो गुनासो आउने काम नै गरेका छैनौं । हामी सबै काम नियममा रहेर प्रक्रियामा गर्छौं । ७५३ वटा पालिकामा ५ वटाले बदनामी गर्दैमा सबै दोष दिनु हुन्न ।

अन्त्यमा अरु केही भन्नु छ ?
बेसीशहरको विकासमा हामीलाई नगरवासीलगायत सबैले साथ दिँदै आउनुभएको छ । सबैलाई धन्यवाद भन्छु र आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु । म भ्रष्टचार गर्दिन, अरुलाई पनि गर्न दिन्न । सबै काम पारदर्शी ढंगमा हुँदै आएका छन् । हुँदै जाने छन् । माथीबाट आएका बजेटलाई समानुपातिक रुपमा विकास गर्ने छौं । विकास क्रमश हुँने कुरा हो । यसमा हामी इमान्दार भएर लागि पर्ने छौं ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १९:५४   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।