Logo

कर्पोरेट फोकस

महामारीमा ३६ अर्ब रूपैयाँ बढीको मोबाइल फोन आयात



कोरोना महामारीबीच नेपालमा गत आर्थिक वर्षमा मोबाइल फोनको आयातमा खर्च भएको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोबर पुगेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७ / ०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरिएको छ ।

राजश्व बापत मात्र नेपाल सरकारले पाँच अर्ब ८४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७६ / ०७७ मा भने १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको ४३ लाख ६५ हजार ९९० वटा मोबाइल सेट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यसबाट सरकारले २ अर्ब ८७ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको तथ्यांक छ ।

यी अवधिमा नेपालले खासगरी छिमेकी मुलुक भारत र चीनबाट मोबाइल फोनका ब्याट्री पनि उल्लेख्य संख्यामै आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

महामारीमा पनि आयात कसरी बढ्यो?

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रतिबन्धात्मक कदमहरू चालेपछि इन्टरनेट अनलाइन गतिविधि बढेर मोबाइलको प्रयोग पनि बढेको हुनसक्ने बताइन्छ ।

कार्यालयका मिटिङ्गदेखि विद्यार्थीहरूको कक्षासम्म अनलाइन हुने भएपछि मोबाइलको प्रयोग पनि बढेको नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।

क्यामेरा, कम्प्युटर र ल्यापटपबाट हुने कतिपय काम पनि मोबाइलबाटै हुने भएर त्यसको प्रयोग बढ्दै गएको हुनुपर्ने उनको तर्क छ । 

बस्नेतका अनुसार नेपालमा आयात गरिने मोबाइल फोनमध्ये स्मार्टफोनको संख्या धेरै रहेको छ जुन विशेषगरी भारत, चीन र कोरियाबाट आउने गरेको छ ।

यद्यपि कति संख्यामा स्मार्टफोन आयात भए भन्नेबारे यकिन तथ्यांक उनले उपलब्ध गराउन सकेनन् भने भन्सार विभागले पनि छुट्ट्याएर तथ्यांक राखेको छैन ।

नेपालमा १५ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्ने स्मार्ट फोनहरूको माग धेरै रहेको अध्यक्ष बस्नेत बताउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा पछिल्लो समय मोबाइल र इन्टरनेटबाट गरिने रकम भुक्तानी बढ्दो क्रममा छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार गत वर्षको पुसमा ५० देखि ६० करोडको हाराहारीमा रहेको क्यूआर कोड भुक्तानी बढेर पछिल्लो समय मासिक दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

 

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ९ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।