Logo

प्रमुख समाचार

बाच्छो भनेर हेपेका ओलीले लिङदेनसँग मागे चुनाव जिताइदिन सहयोग



एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच केहि दिनअघि भेटवार्ता भएको छ ।

ओली र लिङदेनबीच शुक्रबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटमा आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने विषयमा कुराकानी भएको दुवै नेता टिकटस्थहरुले बताएका छन् ।

ओलीले यसअघि ०७४ मा पनि बाम गठबन्धनका बाबजुद गृहजिल्ला झापा–५ बाट राप्रपाको समर्थनमा निर्वाचत भएका थिए । एमाले समर्थनमा लिङदेन नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै झापा–३ बाट निर्वाचति भएका थिए । यसपटक पनि झापा–३ मा सिटौला र लिङदेनबीच प्रतिस्पर्धा हुने करिब निश्चितजस्तै छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भेटमा चुनावी तालमेलबारे छलफल भएको बताए । ‘डिटेलमा अध्यक्षज्यूसँग मेरो कुरा हुन त पाएको छैन’, श्रेष्ठले भने, ‘चुनावी सहकार्यका विषयमा कुरा भएको बुझेको छु ।’

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित सत्ता गठबन्धनका पाँच दलबीच गठबन्धन हुने भएपछि ओली आफ्नो जितको ग्यारेण्टीका लागि राप्रपाको समर्थन जुटाउन व्यवस्त छन् ।

कांग्रेस महाधिवेशनमा लिङदेनले गाउँघरतिर नेता आउँदा चोर आएको भन्ने गरिएको अभिव्यक्ति दिएका थिए । त्यसपछि बोलेका ओलीले लिङदेनलाई भर्खरै जन्मिएको बाच्छोले धेरै फुर्ती गर्ने बताएका थिए । लिङदेन केही समयअघि मात्र राप्रपा महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ११ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।