Logo

राजनीति

नागरिकता विधेयक : सत्ता गठबन्धन विभाजित, हुबहु पारितदेखि खारेज नै गर्नुपर्नेसम्मकाे मत



काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता गर्ने कदमको स्वागत गरिन् ।

सांसद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा पनि राखिन् । नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् ।

‘खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य हुने हो भने हामी फिजी हुने सम्भावना पनि छ’ सांसद पौडेलले भनिन्, ‘प्रायजसो देशमा (अंगीकृत नागरिकता दिन) सर्टेन टाइम राखेको पाइन्छ ।’ वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्ने पनि उनले बताइन् ।

गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाले सुरुदेखिनै नागरिकता विधेयकबारे फरक मत राख्दै आएको थियो । तर जनमोर्चाबाहेकका अन्य गठबन्धन दलहरु नागरिकता विधेयकलाई जस्ताकोत्यस्तै पारित गर्नुपर्ने पक्षमा छन् । यसबारे गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आन्तरिक सहमति समेत गरिसकेका छन् ।

यो विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि पुनः राष्ट्रिय सभामा पुग्ने छ । राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामुखले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पुनः पठाइने छ । यस पटक भने राष्ट्रपतिलाई फिर्ता पठाउने छुट संविधानले दिएको छैन । तसर्थ राष्ट्रपतिबाट जस्ताको त्यस्तै नागरिकता विधेयक प्रमाणिकरण हुने निश्चित जस्तै छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १३:३९   :  बजे

915
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।