पहिले कुरो गोर्गनको । ग्रिसेली मिथकमा उल्लेखित तीन दिदी–बहिनी । कपालमा सर्पैसर्प । आँखाले जसलाई हेर्यो, उही पत्थर बन्ने । हैट ।
अब कुरो नेपाली साहित्यमा तिनका आँखाको ।
होटलवाला राधेले जेरीमा छिँडै नपारी गुलियो कसरी हाल्यो? बाल्यकालभरि यो रहस्य सुल्झेन होला । तर पछि सुल्झ्यो ।
पृथ्वी बोक्दा थाकेर काँध फेर्ने ठूलो माछो, पानी नै नभएको मेरै घरको ठ्याक्कै मुनि कहाँबाट आयो? ठ्याक्कै मुनि नभएको भए कसरी हल्लायो त खाट, ख्याटख्याट?
यो कुरो पनि पछि बुझियो अलिअलि ।
तर एउटा कुरो आजसम्म बुझेको भए मरिजानु । कुरो न जेरीको, नर ठूलो माछाको । कुरो साहित्यको ।
अनि कि, भन्न त भने — मुलुकका आफ्नै विशिष्ट इतिहास हुन्छन् ।
भन्न त भने — ती इतिहासका मोडहरूले साहित्यमा मोड निम्त्याउँछ ।
अँ, दर्शनमा पनि । सिद्धान्तमा पनि । विचारमा पनि । दृष्टिमा पनि ।
माने, धेरैजसो अवस्थामा इतिहास अघिअघि । साहित्य पछिपछि ।
मार्लान् अरस्तुले सुने भने । बूढा प्लेटोसँग लास्टै किचलो । कुरै कुरामा भनेका थिएछन्— इतिहास हिजोतिर हेर्छ । समयको चिहानतिर । साहित्य भोलितिर । भोलि झुल्कने घामतिर ।
हो पनि । तर, सधैँ चैँ होइन । इतिहासको बाछिटाले धेरैजसो साहित्यलाई छिर्केमिर्के पार्छ ।
हो, यही कुरा बुझेपछि सोझो गाउँले दिमागले एउटा कुरा ठम्यायो । सो के भने नि—
एकछिन् उदाहरणका लागि बेलायतलाई लिऔँ ।
बेलायतमा जुन ऋतुचक्र हुन्छ, नेपालमा पनि त्यही हुन्छ ?
बेलायतमा जुन मिति, घडी र पलामा एकचोटि, झुक्किएर गणतन्त्र आयो, नेपालमा पनि त्यही बेला आयो त, ठ्याक्कै?
कुरो गणतन्त्र वा राजतन्त्रको होइन । कुरो त्यसैसँग उब्जिने, विकसित हुने र हराउने वा टिक्ने दर्शनको ।
यसो सिद्धान्तमा हेरौँ ।
स्वच्छन्दतावाद । नव–यथार्थवाद । पूर्वआधुनिकतावाद वा ज्ञानोदय । आधुनिकतावाद । उत्तरआधुनिकतावाद । उत्तर–उत्तरआधुनिकतावाद । यानि, क, ख, ग, घ, ङ, च छ ।
यो भयो बेलायतको कुरा । तिनका इतिहासले ल्याएको चक्र ।
अब, सात समुद्र परि, बेलायतसँग गोरु बेचेको मात्रै साइनो भएको नेपालमा पनि, सिद्धान्त आउने क्रमचहिँ उही?
यता चैँ इतिहासको क्रम नै फरक छ भने ख, क, ङ, च ग, घ, छ भए हुन्न?
अथवा क, ङ, घ, च ग, ख, छ भए हुन्न?
अथवा, घ नआई छ आए हुन्न?
अथवा, ग हराए हुन्न?
अथवा…
प्रश्न अनेक ।
भयो के भने, बेलायतको इतिहासका मोडसँग मेलै खाँदैन नेपाली इतिहासको मोड ।
तर, यता सिद्धान्तहरूमा चैँ बेलायती क्रम नै खोजियो ।
उता स्वच्छन्दतावाद चुलीमा पुगेकै बेला यता पनि उही कुरा खोजियो ।
उता आधुनिकताले छोएकै दशकमा यता पनि आधुनिकता खोजियो । जबकि, उता रेल कुद्दा हामी गोरुगाडामै थियौँ । उता मेसिन आइपुग्दा हामी ढिकी जाँतोमै थियौँ । उता विश्वविद्यालय खुल्दा हामी शिलालेखमै थियौँ । क्रम फरक । दम फरक ।
उता विसङ्गतिवाद आएकै बेला यता पनि त्यो जिनिस खोजियो ।
उता अस्तित्ववाद आएकै बेला यता पनि त्यो जन्तु ठ्याक्कै खोजियो । अनि त्यही बेला हामी सबै, सबै, सबै, सबैले ‘अस्तित्ववादी’ हुने गौरव प्राप्त ग¥यौँ । आधुनिकतामा त्यही भयो । उत्तराधुनिकता न गर्भमै पो पस्यो ।
उही उही बेला, त्यही क्रममा, उही रैखिक सडकमा, उस्तै सोच । इतिहास फरक । भूगोल फरक । दर्शन फरक । विकासको गति कति हो कति फरक ।
दाल में कुछ तो कला है ही ।
मेरो काइते दिमागमा यसको एउटा व्याख्या छ । ज्ञानमार्गको दौडमा पाश्चात्य प्रभाव यति भयो कि…कस्तो भयो भने नि? उदाहरण हालौँ एउटा ।
अघिल्लो बेन्चमा सौगात श्रेष्ठ बसेको । एलएलसीको फारक भर्न ।
पछिल्लोमा प्रज्ज्वल खडका । खडका यति कमजोर कि, सबै कुरा साथीहरूकै सानुपर्ने, चोर्नुपर्ने ।
हुँदा हुँदा, नामसम्म त ‘प्रज्जवल’ लेखेछ । तर थरमा, ‘श्रेष्ठ’ लेखिपठायो । साथीको हेरेर नि ।
अनि के भयो?
के हुनु? हाँसो भयो ।
उताका बाछिटा…निकै ज्याद्रा ।
यसको असर के भयो त?
हुनसम्म भयो नि ।
के भयो त्यस्तो?
भयो । हुनसम्म भयो । भन्ने गाह्रो ।
एलेक्जेन्डर पोपको भनाइ सम्झेँ — ‘अल इज येलो टु अ जन्डिस्ड आई ।’ यानि, कमलपित्त भएका आँखाले सबै पहेँलै देख्छ । हुन त, यो बिमार लाग्दैमा आँखाले कहाँ पहेँलो देख्छ? कुरोमा समस्या त छ, तर पनि…काम लाग्छ ।
उताको चस्मा ज्याद्रो ।
बालकृष्ण सममा शेक्सपियर खोज्यौँ । देख्यौँ पनि । काँक्राको बेलोमा लौको पो देख्यौँ त ।
पहलमानसिंह स्वाँरमा, विशेष गरी उनको ‘अटलबहादुर’ मा हेमलेट खोज्यौँ ।
गोपालप्रसाद रिमालमा इब्सेन खोज्यौँ । भेट्यौँ पनि । रिमाल अहिले पनि इजलासमा ।
मोहन कोइरालामा सकी नसकी टीएस इलियट खोज्यौँ । टाँस्यौँ भनौँ न ।
पारिजातमा सात्र्र ।
इन्द्रबहादुरमा डेरिडा ।
ध्रवचन्द्र गौतममा बेकेट ।
रोशन थापामा काफ्का ।
अब यो शृङ्खला लामो छ ।
अँ, तुलनात्मक प्रभावको अध्ययन एउटा स्वस्थ र प्राज्ञिक अभ्यास हो । तर, फलानाको सिको, फलानाको अनुकरण भन्नुमा एउटा मनोवैज्ञानिक समस्या छ । सो के भने, त्यो ‘फलानो’ लाई हामीले मानक मानिरहेका छौँ, र अन्यलाई अनुयायी । यो चिज उल्ट्यान मिल्दैन?
आफ्नैलाई मानक मान्न दिएन खै केको हाउगुजीले ।
छातीमा हात राखेर सोच्दा, माथि उल्लेख भएका केही सिर्जना र स्रष्टामा मौलिकता नभएकै हो त? कि हामीले कसी चुन्ने क्रममा भूल ग¥यौँ? सिर्जनालाई सुम्सुम्याउँदा, पहिलो कुराचहिँ मस्तिष्क होइन, ‘मानवीय समवेदना’ चाहिन्छ । हामीले चुक ग¥यौँ कि?
स्वभावै अलि शङ्कालु भयो मेरो ।
देशी चश्मा खोजेको–खोज्यै, वर्षौं भयो । चश्मा पसलको सङ्ख्या गन्दा आँखा तिरीमिरी । देशी साहित्य पढ्न देशी चश्मा खोज्छु, भेट्दिनँ । धेरैजसो ‘मेड इन युरोप । मेड इन अमेरिका ।’
देशमा चश्मै नबनेका हुन् त?
यो भयो आजको समस्या कथन ।
चश्मा त बनेका हुन् । केही चैँ लास्टै पुराना भए — नाट्यशास्त्र । रसविधान । शास्त्रीय छन्द र अलङ्कार । समय रूपविन्यासको भन्दा पनि विचारको छ, तर्कको छ ।
दर्शनमा अनगिन्ती दर्शन – पूर्वका । हिन्दु–आर्य पद्धतिका कति । कति बौद्ध र किरात दर्शनका । कति प्रकृतिको उपासना गर्ने, अथवा आफ्नै पद्धति मान्ने रैथाने जातजातिका ।
अनगिन्ती । तर अध्ययन–पद्धति बनाइएन । मेथोडोलोजी बनेन । जुन चिन्तन अध्ययन–पद्धति बन्दैन, त्यो हराउँछ ।
केही नयाँ देशी चश्मा पनि बने – लीला लेखन । तेस्रो आयाम । केही हदसम्म जमेका, यद्यपि थोरै मान्छेहरूका बीचमा । अन्य केही केही, जसले खुट्टा नटेक्दै घुँडा टेके ।
आफैँलाई मोतीविन्दु भएपछि त चश्माले पनि के गर्नु र खोइ !
भारततिर पनि त्यही भयो, हुन त । त्यता पनि कोही ‘जरा हट के’ आयो कि पाश्चात्य प्रभाव भन्ने चलन ज्याद्रो छ । मानक उता, अनुयायी यता । यो एउटा रोग हो । एउटा विकृत मानसिकता हो ।
चोरेको त चोरेकै भइगयो । त्यसमा त के बोल्नु र?
प्रभावलाई चाहिँ कसैले रोक्न सक्दैन । भव्य प्रभावको अघिल्तिर पनि मौलिकता स्थापित गर्नु चाहिँ सिर्जनशीलता नै हो ।
आखिर, अचेल ‘प्रयोगशीलता’ का नाममा आउने आवरणीय चटक, कति हदसम्म मौलिक छ त? म त त्यस्ता अधिकांश प्रयोगका आवरणमा प्रभावकै बाछिटा देख्छु त । तर कुरा के भने, ती बाछिटाहरूकै बीचमा मौलिकताको छटा भेटिन्छ । हामीले हाम्रा लेखकलाई ती देशी मौलिकताका आधारमा हेर्नुपर्ने हो । नत्र, हामी पुनः प्रतिभामारा हुने छौँ ।
यसको मतलब, जस्ताको तस्तै कपी–पेस्ट गरेको कुरालाई नङ्ग्याउनु भएन?
भयो । धुमधाम भयो ।
तर, जुन होइन, त्यो चाहिँ होइन ।
स्याल हुइयाँले अन्यायमा पारिएका धेरै लेखकहरूको पक्षमा हो यो लेखोट ।
अनि कि, उसो भए के गर्नु त?
— साहित्यको इतिहास लेख्दा नि, कालविभाजनको जुन क्रम छ पश्चिमको, लगभत त्यही त्यही क्रम छ हाम्रो । यसले, क्रममात्रै उताको ल्याउँदैन, आधार र मान्यता पनि उताकै ल्याउँछ ।
— अध्ययन र मूल्याङ्कनका पद्धति जो छन्, ती पनि उताकै आउँछन् । अनि यताका नेपथ्यमा परिहाल्छन् । उदाहरणमा, पूर्वीय मान्यताको पनि एउटा शून्यवाद छ । जसको मूल विश्वास के हो भने, गणितको सीमाभन्दा माथि कुनै सङ्ख्या पुगेपछि त्यो शून्य हो । यानि, गणनाभन्दा माथि । गणितभन्दा माथि । पूर्णताको भव्यतम् स्वरूप । त्यसैले पनि पूर्वमा आकाशको वा ब्रह्माण्डको एउटा पर्यायवादी शून्य हो । उसो भए, शून्यवाद केही नहुनुको वाद हुँदै होइन पूर्वमा । पश्चिममा चाहिँ? हो । केही नहुनु । प्रयोजन पनि नहुनु । अर्थ पनि नहुनु । प्रयासहरू पनि व्यर्थ हुनु । कतै साथ वा सहारा नहुनु । ३६० डिग्रीको फरक । तर हामी उही अर्थमा प्रयोग गरेकाग¥यै छौँ । पूर्वमा आस्तित्विक प्राणीका अगाडि अनगिन्ती विकल्प छन् । पश्चिममा, टुट्नु, फुट्नु र मर्नु । ३६० डिग्री फरक । पूर्वमा, पर्यावरण अध्ययनको केन्द्रीय आधार – आत्मवत् सर्वभूतेषु । उता, मान्छे उपभोकतावादको केन्द्रमा । उभगोगलाई अलि सन्तुलित तुल्याऔँ भन्ने अपिल । फरक ।
दर्शन, चिन्तन वा अध्ययनका रैथाने पद्धति नै छैनन् त? अथवा त्यस्ता पद्धतिको सम्भावना नै छैन त? कि हामी लास्टै अल्छी भयौँ?
सधैँ दाम्लोमा बाँध्ने गरेको गाई, खुल्लामा चर्न छोड्द्यौँ भने साँझ आफ्नै दाम्लो भएको किलोनजिक आएर उभिन्छ । दाम्लो चाहियो ।
जन्मँदैदेखि डोरीले बाँधेको हात्तीले आफ्नो बललाई कहिल्यै चिन्न सक्दैन ।
बना–बनाया ज्ञानमा बानी परेका हामीले नयाँ चिन्तनमा सायद कामै गरेनौँ ।
शास्त्र पुरोहितको जिम्मा भइगयो । अनुवाद, प्रचार र प्रयोग भारतीयहरूको । अनि हामीले किन गर्नु र?
कि ग¥यौँ पो? थाहा भएन ।
योगी निरहरिनाथको किताब छ ‘वैदिक साम्यवद’ । अब बजारमा आउँदैछ रे छिटै । यसो हेरेँ । साम्यवादमा सम्पत्ति र वर्गकै वरिपरि घुमिबस्ने चिन्तनभन्दा कति हो कति व्यापक रहेछ साम्यवादको प्राचीन, दार्शनिक आधार । यसलाई अध्ययन पद्धतिको रूपमा विकास गर्दा हुन्न?
नदी नै नदी । नदीको उद्भवदेखि सागरसम्म किनारै किनार दौडने हो, र छेउछाउको जीवनलाई अध्ययन गर्ने हो भने, त्यो जीवनको पद्धतिलाई धेरै हदसम्म नदीले निर्धारित गरेको हुन्छ । निर्देशित गरेको हुन्छ । भनेपछि, ‘नदी’ पनि अध्ययन पद्धति हुने रहेछ । पहाड उस्तै । जङ्गल उस्तै । नदी, जङ्गल र पहाड–पर्वतमा गौरव गर्ने देशको मान्छे । यसरी नसोचे त कसरी सोच्नु?
प्रजातन्त्रवादको अभ्यास बौद्ध साहित्यमा पनि छ । अन्तिम पंक्तिमा उभिएको अन्तिम मान्छे सभामा नआई बुद्धको धर्मचक्र घुम्दै घुमेन । तर नबुझिने गन्थ्र र टाकुराका गुम्बामा सीमित ग¥यौँ कुरालाई ।
‘प्रोटेस्टेन्ट इथिक्स’ भन्यौँ । समाजशस्त्रमा हिट । जीवनमा फ्लप ।
कर्मवाद वा कर्मयोगको दर्शनलाई अध्ययन पद्धति बनाएनौँ नि हामीले । गीता भट्ट्याउनमा प्रयोग ग¥यौँ । भन्नेले आधा बुझेन । आधा सुन्नेले बुझेन । कूल — सय ।
उक्केरा लाउन मात्रै खोजेको । हाम्रो रोग चैँ प्रस्ट छ — चश्मा उताका । सिर्जना यताको । अनि उल्टो देखिन्छ सबै ।
कवि तुलसी दिवसले सधैँ भन्नुहुन्छ — सिर्जनाभित्रबाट चश्मा निकाल । भित्रैबाट सूत्र निकालेर समालोचना गर ।
मनन गर्दा यस कुरामा भवसागर छ ।
निशब्दता, यानि ‘साइलेन्स’ को अध्ययन गर्दा पश्चिमाले कसो गर्छन्, हेरौँ ।
त्यसैको अध्ययन गर्दा, जापानीहरू कसो गर्छन्, हेरौँ ।
अध्ययनका आधार र पद्धति पनि भूगोल र सभ्यतासापेक्ष हुन्छन् ।
तुम्लिङटारको सुन्तोला काठमाडौँमा फल्दैन । फलिहाल्यो भने अमिलो फल्छ । कहिल्यै गुलियो हुँदैन ।
एन्टिगुवाका रैथाने रुख मासेर बेलायतीले उपनिवेशकले आगन्तुक रुख रोपे रे । एन्टिगुवाको मौलिक पर्यावरण सखाप ।
यही भयो बालकृष्ण सममाथि । रिमालमाथि । मोहन कोइरालामाथि । पारिजातमाथि । कति कति…
गोर्गनका आँखा परिरहन्छन् । हामी पत्थर बनिरहन्छौँ । यो गोर्गनलाई मार्न, वा जेल चलान गर्न सकिँदैन?
डा. अशोक, भवति भिक्षाम् देहि ।
र भिक्षामा, एउटा देशी ब्रह्मास्त्र दिनुस् ।
(स्तम्भकार पौड्याल अङ्ग्रेजी केन्द्रीय विभाग, कीर्तिपुरका उपप्राध्यापक एवं एक परिचित सर्जक–समालोचक हुन् ।)
















प्रतिक्रिया