Logo

शेयर बजार

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा बिहीवारदेखि आवेदन दिन पाइने



मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा  ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो ।

उक्त मूल्य बराबरको प्रतिकित्ता  १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेको हो ।

सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

छिटोमा साउन १८ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म आईपीओ विक्रीमा रहने कम्पनीले बताएको छ ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी  ३६ करोड ८१ लाख ४३ हजार कायम हुनेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।

उक्त कम्पनीको आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ  ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्पनी  १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीले  ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ७ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।