Logo

अन्तर्वार्ता

स्थानीय तहका जनप्रतिनिधिले पार्टीलाई बिर्सेर कामलाई महत्व दिनु पर्छ : नगर प्रमुख शाक्य



देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन् । वर्खाको समय भएकाले केही पालिका बाढी पहिरो तथा डुबानको चपेटाका छन्, केही पालिकाले चालु आर्थिक वर्षका बजेट कार्यान्वयनमा सक्रियाताका साथ लागिपरेका छन् ।

तर अझै पनि केही पालिकाहरुले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् भने केहीले केन्द्र र प्रदेश सरकारले राम्रा योजनाहरु नपारेको भन्दै गुनासो गरिरहेका छन् । यस्तोमा काभे्रको बनेपा नगरपालिकामा भने यस पटक प्रदेश सरकारले राम्रो योजनाहरुको लागि बजेट हालेको जनप्रतिनिधिहरुले नै बताएका छन् । यी नै समग्र विषयमा बनेपाका प्रमुख शान्तिरन्त शाक्यसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले कुराकानी गरेका छन् । तस्तुत छ, कुराकानीको सम्पादित अंश :

बनेपा नगरपालिकाको प्रमुखमा तपाईँ निर्वाचित भएर आएपछि कस्ता कामहरु अगाडि बढाउनुभएको छ ?
वैशाख ३० को स्थानीय निर्वाचनबाट जितेर आएपछि हामीले बनेपामा रहेको डुबानको समस्या, खानेपानीको समस्या, फोहोर व्यवस्थापन, सडको समस्या जस्ता धेरै समस्याहरुको समाधानलाई पहिलो प्रथामिकता दिएर काम गर्न थालियो । बनेपाको हाइवे अव्यवस्थित थियो । त्यसले सिङगो बनेपाको नै बदनाम भैरहेको थियो । हामीले सुरुवाती दिनदेखि नै ती समस्याहरुलाई निराकण गर्ने गरी काम सुरु गरि¥यौं । यहाँ डुबान हुन नदिन हामीले खोलालाई गहिरो बनाउने काम ग¥यौं । जसको कारण हाल पुल बजार क्षेत्रमा डुबानको जोखिम छैन ।

यसैगरी फुटपातको समस्या पनि हामीले व्यवस्थापन गरेका छौं । हामीले हाइवेको साइटमा वृक्षारोपणको काम पनि सुरु गरेका छौं । हामीले करिब २ सय वटा कपुरको बोट रोपिसकेका छौं । २०१० देखि सुरु भएको काभे्र एकीकृत खानेपानी योजनाबाट पानी ल्याउन हामी अन्तिम चरणमा पुगेको छ । त्यसैगरी अन्य खानेपानीका योजनाहरु पनि सुरु हुँदै छन् । नगरमा एम्बुलेन्स थिएन । हामीले एम्बुलेन्सको व्यवस्था गरेका छौं । त्यसैगरी शिक्षा लगायतका क्षेत्रमा पनि हामीले धेरै योजनाहरु राखेका छौं । पहिलो चरणमा नगरभित्रका ४ वटा विद्यालयलाई शैक्षिक र भौतिक रुपमा सुधार गर्न हामीले काम सुरु गरेका छौं ।

यो आर्थिक वर्षमा कृषि र पशुपालनका क्षेत्रमा के कस्तो योजना ल्याउनुभएको छ ?
हाम्रो नगरको धेरै भाग कृषि क्षेत्र नै हो । हाम्रो बाली विकासका योजनाहरु, कोल्ड स्टोर बनाउने योजनाहरु छन् । उत्तरी क्षेत्रमा तरकारी राम्रो उत्पादन हुन्छ । यहाँ अझै व्यवस्थित गर्न योजनाहरु छन् । त्यसैगरी हिले—जलजले कृतिम ताल बनाउने योजनाको डीपीआर तयार भएर काम अगाडि बढेको छ । त्यसमा खानेपानी, सिचाइँ र पर्यटनको हिसाबले पनि राम्रो मानिएको छ । बिउबिजन वितरणका कार्यक्रमहरु पनि छन् । हामीले टनेलमार्फत तरकारी उत्पादन गर्नका लागि हामीले अनुदानहरु वितरण गरिरहेका छौं । यहाँ गोलभेडा राम्रो उत्पादन हुन्छ । अन्य तरकारीहरु पनि हुन्छन् ।

काम गर्दै जाँदा बनेपमा देखिएका मुख्य समस्या र अवरोधहरु के—के छन् ?
हामीसँग पर्याप्त बजेट नहुनु नै प्रमुख समस्या हो । हाम्रो आन्तरिक स्रोत पनि त्यस्तो धेरै छैन । प्रदेश र केन्द्रको आश गर्नपर्छ । यो आर्थिक वर्षमा एक अर्ब ५५ करोड बराबरको बजेट हामीले ल्याएका छौं । सुर्यविनायक भिमसेन सडकको बाटो बनाउने प्रोजेट छ । त्यसैगरी बनेपाबाट नाला हुँदै भक्तपुर जाने बाटो पनि बन्दै छ । यसरी हामीसँग यस्तो पुर्वाधारका कामहरु धेरै छन् । तर बजेट पर्याप्त नहुनाले एकै वर्षमा यी कामहरु सम्पन्न गर्न नसकिने अवस्था छ ।

हाम्रो बनेपाको लागि यो पटक प्रदेश सरकारले धेरै योजनाहरु राखेको छ । त्यसमा आसापुरीको बाटो, धुलिखेल, बनेपा, सुमारा हुँदै नगरकोट जाने बाटोको लागि पनि प्रदेश सरकारले बजेट हालेको छ । नगरकोटको टावरमा जाने बाटो छोटो पनि छ र हामी त्यो बाटो बनाउन प्रथामिकता दिएका छौं । त्यसैगरी हामीले सडक मात्रै नभएर सफा र सुन्दर नगर बनाउन पनि हामी लागिरहेका छौं । मौसम अनुसार केही समस्याहरु आइरहन्छन् । हामी यी तमाम समस्याहरुलाई निराकरण गर्दै अगाडि बढिरहेका छौं ।

बनेपामा बाढी पहिरोको अवस्था चाहिँ के छ ?
हाम्रो बनेपा नगरपालिकामा त्यस्तो खासै ठूलो बाढीको सम्भावना छैन । तर समथर भु—भभाग भएकोले पानी धेरै आउँदा डुबानको सामान्य जोखिम हुन्छ । नगरको वडा नम्बर ३ र १४ का केही भागहरुमा पहिरोको जोखिम छ । हालसम्म भने हाम्रो नगरपालिकामा पहिरोको कारणले धेरै क्षेती गरेको छैन । बाटोहरुमा अवरोधहरु भने भइरहन्छन् ।

यो कार्यकालमा प्रदेश र केन्द्र सरकारसँग कसरी समन्वय, सहकार्य गरेर अगाडि जाने योजनामा छ ?
स्थानीय तहको चुनाव वैशाखमा भयो । त्यसबेला प्रदेशको बजेट बनिरहेको थियो । हामी चुनावमा भएकोले बजेट माग गर्न जाने कुरा भएन । त्यसकारणले गर्दा हामीले सोचे अनुसारको बजेट माग गर्न पाइएन । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमगाईँ हाम्रै क्षेत्रको हुनुहुन्छ । उहाँको प्रयासले पनि यहाँ बजेट परेको छ । त्यसैगरी संघबाट भने हामीले यो पटक खासै ठूला योजनाहरु पाएनौं । भोलिको दिनमा हामी नगरपालिको आवश्यक्ता अनुसार केन्द्र र प्रदेशसँग माग गर्ने छौं ।

स्थानीय तहमा भ्रष्टाचार भए भन्ने समाचारहरु विगतमा आएकै हुन् । यसलाई रोक्न बनेपा नगरपालिकाको रणनीति कस्तो छ ?
कुन स्थानीय तहमा भ्रष्टचार भएको हो छानबिन गर्नुपर्छ । तर एक/दुईले त्यस्तो गर्दा सारा स्थानीय तहलाई दोष दिन मिल्दैन । त्यसैगरी विगतमा के भयो भन्नु भन्दा पनि अब हामीले के गर्छौं भन्ने कुरा महत्वपुर्ण हुन्छ । त्यसमा नेतृत्वको बढी भूमिका हुन्छ । म आफू पनि अनियमितता गर्दिन । अरुलाई पनि गर्न हुँदैन भनेर सतर्क बनाउने छु । नेतृत्व सहि छ भने भ्रष्टचार आफै बन्द हुन्छ ।

अन्यमा केही भन्नु छ ?
हामीले राम्रो सोच लिएर काम अगाडि बढाउनु पर्छ । हामीले बनेपाको सबै वडालाई समान रुपमा बजेट विनियोजन गरेका छौं । स्थानीय तहका जनप्रतिनिधिले विजयी भएपछि पार्टीलाई बिर्सेर कामलाई महत्व दिनु पर्छ । हामीले त्यसै गरेका छौं ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १७:२१   :  बजे

783
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।