Logo

अर्थ

एक महिनामै भित्रियो अर्बौं रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल



काठमाडौं । चालु आर्थिक वर्षको एक महिनामा नेपालले एक महिनामै अर्बौं रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल आयात गरेको छ । नेपालको अर्थतन्त्र आयतामुखी हुँदा वर्षेनी यही उत्पादन गर्न सकिने खाद्यान्न तथा फलफूल समेत अर्बौं रुपैयाँको आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा मात्रै नेपालले ७ अर्ब ३८ करोड ९८ लाख २६ हजार रुपैयाँको १६ करोड १९ लाख ३७ हजार केजी खाद्यान्न, तरकारी तथा फलफूल आयात भएको छ । बढ्दो शहरीकरण, युवाहरु विदेश पलायन हुने क्रम बढ्नु र भएका युवा पनि शहर केन्द्रित हुने क्रम बढ्दा गाउँका जग्गा बाँझै राखेर स्वदेशमै उत्पादन गर्न सकिने सामाग्रीका लागि समेत अबौं रुपैयाँ बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । कृषिप्रधान देशको उपमा पाएको नेपालले वर्षेनी खर्बौं रुपैयाँको वस्तु तथा सेवा आयात गरिरहेको छ ।

खाद्यान्नमै परनिर्भरता
साउन महिनामा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँको खाद्यान्न आयात भएको छ । जसमध्ये नेपालले सबैभन्दा बढी धान तथा चामल आयात गरेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ४२ करोड ५८ लाख ६५ हजार रुपैयाँको धान तथा चामल आयात भएको छ ।

त्यसैगरी, नेपालले १ अर्ब ११ करोड ५३ लाख रुपैयाँको मकै र ५० करोड ४० लाखको कोदो, १४ करोड २१ लाख रुपैयाँको जौ आयात गरेको विभागको तथ्यांकले देखाएको छ । यद्यपि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै खाद्यान्न आयातमा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा कमि आएको देखिएको छ ।

तरकारीमा पनि आयातकै भर
दैनिक भान्सामा प्रयोग हुने तरकारीमा समेत आयातकै भर पर्नुपर्नेे अवस्था छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको एक महिनामै २ अर्ब ४६ करोड १९ लाख ८२ हजार रुपैयाँको तरकारी आयात भएको छ ।

साउन महिनामा ६७ करोड ३२ लाख ९७ हजार रुपैयाँको आलु आयात भएको छ । यस अवधिमा २ करोड़ ६६ लाख १४ हजार बराबरको आलू आयात हुँदा ९ करोड ५२ लाख २१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै, ३ करोड ९० लाख ७० हजारको गोलभेडा, ५१ करोड ४१ लाख २० हजारको प्याज र ८ करोड ५० लाख ३५ हजारको लसुन, १ करोड १६ लाख ७९ हजार रुपैयाँको च्याउ आयात भएको छ ।

२५ करोड ४९ लाख ९० हजार रुपैयाँको चना, २० करोड ६९ लाख ५९ हजार रुपैयाँको बोडी, ३२ करोड ७८ लाख ३६ हजार रुपैयाँको दाल, १३ करोड ३७ लाख १८ हजार रुपैयाँको केराउ र अन्य तरकारी ११ करोड ५३ लाख ११ हजार रुपैयाँको आयात गरेको छ ।

अर्बौंको फलफूल आयात
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो एक महिनामा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ आयात भएको छ । एक महिनाको अवधिमा ९२ लाख १० हजार ८९९ केजी स्याउ आयात हुँदा १० करोड २ लाख ७४ हजार रुपैयाँको स्याउ आयात भएको छ ।

साउन महिनामा ७ करोड ८६ लाख ३६ हजार रुपैयाँ बराबरको ५१ लाख ८७ हजार ८७१ किलो केरा आयात भएको छ । सो रुपैयाँ बराबरको केरा आयात गर्दा ३ करोड ३९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

त्यसैगरी, ६ लाख ४७ हजार रुपैयाँ बराबरको ९ हजार १९ किलो ताजा अंगुर पछिल्लो एक महिनामा नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो अवधिमा ४० लाख ३९ हजार रुपैयाँको सुकाइएको अंगुर आयात भएको छ । साउन महिनामा ५ करोड ६४ लाख ३ हजार रुपैयाँको भुइँकटहर नेपाल भित्रिएको छ । जसबाट एक करोड ७ लाख २५ हजार रुपैयाँको राजश्व संकलन भएको छ ।

एक महिनाको अवधिमा ५ करोड २० लाख ८१ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार ३ सय केजी खर्बुजा, ३ करोड २७ लाख ७४ हजार रुपैयाँको मेवा र ६ करोड १० लाख रुपैयाँको कागती आयात भएको छ ।

त्यस्तै, सोही अवधिमा एक करोड १५ लाख २८ हजार रुपैयाँको एभोकार्डो आयात हुँदा २३ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । १८ करोड ५ लाख ६९ हजार रुपैयाँको अम्बा र आँप,८७ लाख ५५ लाख रुपैयाँको सुन्तला, ४२ लाख १८ हजार रुपैयाँको सिट्रस फल एक महिनामा भित्रिएको छ ।

स्वदेशमा कुहिएर खेर जाने फलफूलका लागि समेत अर्बौ रुपैयाँ बाहिरिने गरेको तथ्यांक भन्सार विभागको छ । विभागको तथ्यांकअनुसार नाशपाती खरिदका लागि एक करोड ८४ लाख ७३ हजार रुपैयाँ बाहिरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १६:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।